१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

बसाइँ सरी आउनेलाई सम्मान

विप्लव भट्टराई

इलाम — यतिबेला पहाडी क्षेत्रको मुख्य चुनौती भनेको जनसंख्या घट्दै जानु हो । यसो हुनुमा घट्दो जन्मदर र बढ्दो बसाइँ–सराइ यसका मुख्य कारण देखिएका छन् ।

बसाइँ सरी आउनेलाई सम्मान

जनसंख्या दर बढाउन इलाम नगरपालिकाले केही वर्षअघि धेरै सन्तान जन्माउनेलाई प्रोत्साहन गर्नेसम्मका कार्यक्रम ल्यायो । स्थानीय तहको पहिलो चुनाव पछि जनप्रतिनिधिको जनसंख्या बढाउने नीतिको व्यापक विरोधसमेत भएको थियो ।

उपमहानगरपालिका बन्ने लक्ष्य लिएको इलाम नगरपालिकाले जनसंख्या उकास्नका लागि अहिले भने फरक सोच बनाएको छ । उसले नगरमा बसाइँ सरेर आउनेहरूलाई विशेष सम्मान र सुविधा दिने कार्यक्रम सुरु गरेको हो । यसअन्तर्गत नगरपालिकाको वडा ४ ले ११ जनालाई सम्मान गर्दै कार्यक्रमको थालनी गरेको छ । पहाडबाट तराई र सुविधा सम्पन्न ठाउँमा बसोबासका लागि जाने क्रम नरोकिएपछि ल्याइएको यो कार्यक्रमलाई प्रभावकारी बनाउँदै लैजाने नगरपालिकाको योजना छ ।

एक कार्यक्रमबीच यो आर्थिक वर्षमा बसाइँ सरेर यहाँ आएकालाई फूलमालासहित सम्मान गरियो । वडाले उनीहरूको निःशुल्क स्वास्थ्य बिमा पनि गरिदियो । यो वडा सडक यातायात, स्वास्थ्य, विद्यालयको पहुँच र कृषि उत्पादनका लागि तुलनात्मक रूपमा अब्बल छ । तर पनि बसाइँ सर्ने क्रम यहाँ पनि रोकिएको छैन । ‘कार्यक्रममा मात्र हैन भावनात्मक रूपमा नै बसाइँ सरेर आउनेलाई सहयोग तथा सम्मान गर्नेछौं,’ वडाध्यक्ष नूतनदेव दुलालले भने, ‘उनीहरूका लागि कृषि, स्वास्थ्य, व्यवसायलगायत हरेक क्षेत्रमा सहयोग गरेका छौं ।’

इलामबाट मुख्य गरी झापाका क्षेत्रमा बसाइँ सर्ने पुरानै चलन हो । पछिल्लो समय पहाडी क्षेत्रमा सडकसँगै विभिन्न सुविधा एवं अवसर सिर्जना भइरहे पनि रोजगारी, शिक्षा र स्वास्थ्यको पहुँचका लागि भन्दै पुर्ख्यौली थातथलो छाड्ने क्रम घटेको छैन । ‘झापासँग जोड्ने छोटो दूरीको मार्गसहित शिक्षा, स्वास्थ्य, कृषिलगायत क्षेत्रको विकास गर्दै बसाइँ–सराइ रोक्ने र अन्यत्रबाट यहाँ आउन आकर्षण गर्नेतर्फ केन्द्रित छौं,’ प्रमुख केदार थापाले भने ।

पछिल्लो संरचनाबमोजिम सदरमुकामसहित इलाम नगर क्षेत्रको आकर्षण घट्दो छ । व्यवसायीहरू पलायन हुने क्रम पनि उत्तिकै देखिएको छ । १२ मध्ये ८ वटा वडा मेची राजमार्गले छोएको यो नगरपालिकाको जनसंख्या पाँच वर्षअघि ४८ हजार ५ सय ३६ थियो । नगरपालिकाको प्रयासले अहिले झन्डै दुई हजार बढेर ५० हजार ४ सय ५५ पुगेको छ ।

प्रकाशित : चैत्र ४, २०७९ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?