सामूहिक खेतीतर्फ किसान आकर्षित- कोशी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सामूहिक खेतीतर्फ किसान आकर्षित

कुम्भराज राई

ओखलढुंगा — चिशंखुगढी गाउँपालिका–२ पोखरेका नारदप्रसाद घिमिरे तीन वर्ष वैदेशिक रोजगारमा बिताएर गाउँ फर्केर २०६७ देखि तरकारी र केही बोट सुन्तला, कागती रोपे । थोरै मात्रामा गरिएको खेतीले उनलाई ठूलो हौसला मिल्यो । त्यसपछि भने घिमिरे तरकारी खेतीको क्षेत्रफल बढाउनतर्फ लागे ।

अहिले उनको बारीमा गोलभेंडा, काउली, बन्दा, रायो, केराउ, करेला, काँक्रा, आलुलगायत कुनै न कुनै तरकारी बाह्रैमास हुन्छ । सिजनमा फलफूल पनि बेच्छन् ।

‘एक वर्षमा एक/डेढ लाख नगद तरकारी एवं फलफूलबाटै हुन्छ,’ घिमिरेले भने, ‘कमाइले सामान्य घरपरिवार चलाउने र केटाकेटी पढाउन पुगेको छ ।’ गाउँमा एक्लै तरकारी खेतीमा लाग्दा बेच्न लैजाँदा समस्या भएपछि उनले समूह गठन गरे । गाउँका २६ जना मिलेर खोलेको सयपत्री कृषक समूहका सचिव हुन् उनी । ‘समूह भए पछि कुनै समस्या भएमा कृषि प्राविधिक बोलाउन सजिलो भयो,’ उनले भने, ‘उत्पादित तरकारी बिक्री गर्न समूहमै संकलन गरेर लान गाडी रिजर्भ गर्न पनि सजिलो ।’ सयपत्री समूहकै २१ जनाले प्लास्टिक टनेल लगाएर गोलभेंडा खेती गरेका छन् । एक वर्षमा समूहले १० देखि १५ लाखको गोलभेंडा उत्पादन गर्छन् ।

सिद्धिचरण नगरपालिका–६ की फूलमाया मगरले वर्षमा ६–७ रोपनी क्षेत्रफलमा बुङ आलु रोप्छिन् । १० देखि १५ मुरी आलु फलाउँछिन् । आलुबाहेक आफ्नो करेसा वरपर बन्दा, काउली, रायो, गाजर पनि लगाउँछिन् । आलु, काउली फल्ने सिजनमा करेसाबाटै १०–१५ हजारको तरकारी बेच्छिन् । उनी सेतीदेवी आलु बीउ वृद्धि कृषक समूहमा आबद्ध छिन् । समूहमा ३१ जना कृषक जोडिएका छन् । ‘प्रायः सबै कृषकलाई प्राविधिक होस् या बजारको उस्तै समस्या हुन्छ,’ फूलमायाले भनिन्, ‘समूहमा आबद्ध भएपछि समस्या समाधान गर्न, छलफल गर्न सजिलो भएको छ ।’

सिद्धिचरण–६ कै डम्बरकुमारी मगर सोही समूहकी सदस्य हुन् । उनी वर्षमा एक लाख ५० हजारसम्मको आलु बेच्छिन् । च्याउ, साग, गान्टे मुला, बन्दा, काउली, गाजरजस्ता तरकारी बिक्री गर्छिन् । उनी पनि समूहमा कृषि गर्दा सहज हुने गरेको बताउँछिन् ।तरकारी खेतीको कृषक समूह भएपछि स्थानीय तहको कृषि शाखा, ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) लगायतले आर्थिक र प्राविधिक सहयोग गर्दै आएको छ ।

प्रकाशित : चैत्र ४, २०७९ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्

ब्युँत्याइँदै ऐतिहासिक सप्तपाताल पोखरी

५२ करोड ८० लाखको लागतमा ऐतिहासिक पोखरी पुनः बनाउने परियोजनासँगै राजकुलो पनि ब्युँताएर पानीको स्रोत जुटाउने ललितपुर महानगरपालिकाको योजना
लिला श्रेष्ठ

काठमाडौँ — ललितपुर महानगरपालिका १५ वडा लगनखेलस्थित ऐतिहासिक सप्तपाताल पोखरी पानीविहीन र अस्तित्व गुमिसकेको थियो । पोखरीमा पानी सुकेपछि विद्यालय संरचना ठड्याइएको थियो । राजदल गणको उत्तरतर्फ रहेको अशोक स्तूपसँगै रहेको पोखरी अतिक्रमण तथा संरक्षणको अभावमा लोप भइसकेको थियो । तर, अब पुनर्जीवन पाउने भएको छ ।

त्यसनिम्ति ललितपुर महानगरपालिकाले ‘बृहत्तर सप्तपाताल पोखरी संरक्षण परियोजना’ को डीपीआर तयार गरी जीर्णोद्धार तथा पुनर्निर्माणको काम थालेको छ । परियोजनाको पहिलो चरणमा अशोक स्तूपको पश्चिम र दक्षिणतर्फको (पहिलेको कमलपोखरी) दुई भाग र सप्तपाताल पोखरीवरिपरि रेलिङवाल निर्माण थालेको छ ।

महानगर प्रमुख चिरीबाबु महर्जन रेलिङवाल निर्माणसँगै आफ्नो योजनाले साकार रूप लिएकोमा ढुक्क छन् । उनकै शब्दमा बढ्दो सहरीकरणसँगै ०३१/३२ सालमा चक्रपथ निर्माण सुरु भयो । उपत्यकाको दक्षिण फुल्चोकी, लेलेलगायत पहाडबाट बगेर आउने गोदावरी खोला, टीकाभैरव खोलाबाट राजकुलोको पानी पाटन सहरसम्म सिंचन हुन्थ्यो । चक्रपथ बनेपछि ऐतिहासिक पाटन सहरलाई घेराभित्र पार्‍यो ।

सहरीकरण र चक्रपथले राजकुलो टुट्दा सप्तपाताललगायत पाटनका पोखरीमा आउने पानीको स्रोत सुके । सरकारले २०३४ सालमा सप्तपातालको १४ रोपनी १० आना २ पैसा जग्गाको लालपुर्जा नमुना मच्छिन्द्र माध्यमिक विद्यालयलाई दियो । विद्यालयले ०५२/५३ सालमा ‘डिपार्टमेन्ट स्टोर’ निर्माणका लागि जग हाल्यो । स्थानीय पूर्ण स्थापितको नेतृत्वमा विद्यालयलाई दिइएको जग्गा सप्तपातालकै नाममा फर्काउनुपर्छ भन्दै स्थानीय बासिन्दा एक भए । २०६१ सालमा सप्तपातालको मुद्दा सर्वोच्च अदालत पुग्यो । मुद्दा डेढ दशक लम्बियो । सर्वोच्चले २०७६ असार २३ गते अतिक्रमणमा परेको जग्गा पोखरीकै नाममा फिर्ता गर्न आदेश गरेअनुसार अहिले सप्तपाताललाई पुरानै स्वरूपमा फर्काउन लागेको हो । ‘सप्तपाताललाई सार्वजनिक पोखरीकै रूपमा फर्काउन पहल गर्नुहुने पूर्ण स्थापितलगायतको सल्लाहमा डीपीआर गर्न लगायौं र काम अघि बढेको छ,’ भने ।

त्यससँगै, अशोक स्तूपको पश्चिम र दक्षिणतर्फ सैनिक हाताको करिब ३० रोपनी जग्गामा पूर्वप्रधान सेनापति पूर्णचन्द्र थापाको समन्वयमा महानगरले फिर्ता ल्याएको छ । र, महानगरले पोखरी निर्माण गरी कमलको फूल फुलाउने लक्ष्य लिएको मेयर महर्जनले खुलाए । नेपाली सेना र महानगरपालिकाबीच गत जेठ ३० मा राजदल गणको हातामा रहेको कमलपोखरी पुनर्निर्माण तथा संरक्षण गर्न लिखित समझदारी भएर काम अघि बढेको छ । सप्तपातालसहित दक्षिण र पश्चिमतर्फको करिब ४५ रोपनी क्षेत्रफलमा पोखरी निर्माण हुँदै छ ।

पहिलो चरणमा रेलिङवाल, दोस्रो चरणमा पोखरी खन्ने र तेस्रो चरणमा सप्तपाताल पुनर्निर्माण गरिनेछ । पोखरीमा पानी आपूर्ति गर्न टीकाभैरवदेखि लगनखेलसम्मको करिब १५ किलोमिटर दूरीको राजकुलो ब्युँताउन महानगरले शतप्रतिशत बजेट लगानी गर्नेछ । महानगरले चालु आर्थिक वर्ष ०७९/८० मा करिब ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । रेलिङवाल निर्माण, प्रवेशद्वार निर्माण, सेन्ट्री पोस्ट निर्माण, फुटपाथ निर्माणलगायत काम असार मसान्तभित्र सक्ने महानगरका वरिष्ठ इन्जिनियर हरिशचन्द्र लामिछानेले बताए ।

महानगरले परियोजना सम्पन्न गर्न ५२ करोड ८० लाख ८८ हजार रुपैयाँ लागत इस्टमेट गरेको छ । बहुवार्षिक योजनाअनुरूप काम हुनेछ । ३० रोपनी क्षेत्रफलमा एउटा र १५ रोपनी क्षेत्रफलमा अर्को गरी दुई पोखरी निर्माण हुनेछ । पोखरीमा पानीको स्रोत जुटाउन महानगरले राजकुलो ल्याउन डीपीआरको काम गरेको छ । आकाशेपानी संकलनलाई प्राथमिकतामा राखेको छ ।

ललितपुर–५ वडाध्यक्ष विकासमान श्रेष्ठ सप्तपाताल पोखरी सांस्कृतिक रूपमा समेत महत्त्वपूर्ण रहेको बताए । पाटनवासीहरू हरेक वर्ष रातो मच्छिन्द्रनाथ र मीननाथ जात्रा सकियो भनेर पाताल लोकमा नाग देउतालाई सन्देश पठाउन यही पोखरीमा एक जोडी माछा छाड्छन् । हालसम्म स्थानीयले सुकेको पोखरीबीच सानो खाल्डो खन्ने र त्यसमै पानी भरेर सन्देशवाहक माछा छाड्दै आएका छन् । पाटनमा हुने कुनै पनि जात्रापर्वको जमघट हुने स्थान सप्तपाताल रहेको र मतिया जात्रा, दीपंकर जात्रा सप्तपाताल पुगेपछि समापन हुने परम्परा छ ।

प्रकाशित : चैत्र ४, २०७९ ०८:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×