इटहरीको नगरसभा बहिष्कार- कोशी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इटहरीको नगरसभा बहिष्कार

कान्तिपुर संवाददाता

सुनसरी — नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधीहरुले बहिष्कार गरे पछि इटहरी उपमहानगरपालिकाको १२ औं नगरसभा शुक्रबार साँझ अनिश्चितकालको लागि स्थगित भएको छ ।

एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले नगरसभामा उपस्थित हुन हाजिर गरिसके पछि पार्टिको हृवीप आएको भन्दै आकस्मिक रुपमा नगरसभा बहिस्कार गरेका थिए । सभा सुरु हुनै लाग्दा एमाले सुनसरीका जिल्ला तथा केन्द्रीयस्तरका नेताहरुले फोन गरे पछि बैठक अवरुद्ध हुन पुगेको थियो ।

लगतै सभाध्यक्ष एवं नगरप्रमुख हेमकर्ण पौडेलले बैठक अनिश्चितकालको लागि स्थगित गरेको घोषणा गरे । नगरसभामा विभिन्न ५ विधेयक पारित गर्ने कार्यसूची थियो । तीमध्ये कर्मचारीले मासिक रुपमा पाउँदै आएको कर्मचारीको खाजा भत्ता तथा इन्धन सुविधा कटौती गर्ने सम्बन्धी विधेयक पारित गर्ने कार्यसूचीलाई लिएर नगरसभा बहिष्कार गरेको निकट स्रोतको दाबी छ ।

प्रशासनिक खर्च घटाउनका लागि उपमहानगरपालिकाले कर्मचारीले पाउँदै आएको मासिक पाँच हजार रुपैयाँ खाजा भत्ता र १५ लिटर इन्धन सुविधा कटौतीको निर्णय गत २६ फागुनमा बसेको कार्यपालिकाको १२८ औ बैठकले निर्णय गरेको थियो । उपमहानगरपालिकामा ४ सय ७० कर्मचारी छन् । ती कर्मचारीका लागि खाजा भत्तामा वार्षिक करिब २ करोड ८२ लाख रुपैयाँ खर्च हुँदै आएको छ ।

इन्धन सुविधा कटौती गर्दा वर्षको १ करोड ७ लाख रुपैयाँ जोगिने हुनाले सुविधा कटौटी गर्ने निर्णय भएको थियो । उपमहानगरमा कार्यरत अधिकांस कर्मचारी एमाले निकट रहेकाले नगरसभा बहिष्कार गर्न पार्टी नेतृत्वबाट दबाब आएको एक जनप्रतिनिधिले बताए । दिउँसो १ बजेका लागि निर्धारित नगरसभा एमालेका जनप्रतिनिधिसँग सहमतीका लागि भन्दै छलफल लम्बिए पछि साँझ ७ बजे अनिश्चितकालको लागि स्थगन भएको घोषणा भएको थियो ।


प्रकाशित : चैत्र ३, २०७९ २२:११
प्रतिक्रिया
पठाउनुहोस्

काभा च्यालेन्ज कपमा आठ देश

कान्तिपुर संवाददाता

काठमाडौँ — दक्षिण तथा मध्य एसियाली क्षेत्रको मुख्य प्रतियोगिताको रूपमा ल्याइएको ‘काभा महिला वुमेन्स च्यालेन्ज कप’ जेठ ६ देखि १५ सम्म काठमाडौंमा आयोजना हुँदै छ, जहाँ आठ देशका राष्ट्रिय टिमले प्रतिस्पर्धा गर्ने भएको छ ।

दक्षिण एसियाका घरेलु टिम नेपालसहित भारत, श्रीलंका, माल्दिभ्स, बंगलादेश तथा मध्य एसियाका कीर्गिस्तान, उज्वेकिस्तान र काजकिस्तानले काभा च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने आयोजक नेपाल भलिबल संघले जनाएको छ ।

शुक्रबार पत्रकार सम्मेलनमा संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले भने, ‘पहिला सेन्ट्रल एसिया जोनलाई दुई तहमा वर्गीकरण गरी च्याम्पियसिप आयोजना गरिन्थ्यो, जसमा ‘ए’ क्याटगोरीमा ९ र ‘बी’ मा ५ टिम रहेको बेग्लै प्रतियोगिता हुन्थ्यो । यसपालि सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) ले नाम परिवर्तन गरी ‘काभा वुमेन्स च्यालेन्ज कप’ सञ्चालन गर्न लागेको हो । लगातार तेस्रोपल्ट स्वर्णपदक जित्दै ह्याट्रिक गर्नका लागि तयारी गरिरहेका छौं ।’

नेपाली महिला टिमले एसियन सेन्ट्रल जोन च्याम्पियनसिपमा पछिल्लो दुवै संस्करण जितेको थियो ।

प्रतियोगिता आयोजनाबारे अध्यक्ष चन्दले भने, ‘प्रतियोगिता आयोजना, विदेशी कोच ल्याएर टिमको तयारी गर्न मनोबल बढाउने र सहयोग गर्ने काम राष्ट्रिय खेलकुद परिषद (राखेप) ले गरिरहेको छ । कभर्डहल (त्रिपुरेश्वरस्थित) मा चेन्जिङ रुम, शौचालय, बत्ती, पार्केटिङ, ढल निकास, रंगरोगन र व्यवस्थापनको काम सुरु भइसकेको छ । राखेपकै सहयोगअनुसार प्रतियोगिता आयोजनाको तयारी गरिएको हो । यस्तो सहयोग पहिला कहिल्यै पाइएको थिएन ।’

‘भलिबलका लागि छुट्याएको ५० लाख रुपैयाँ यसमा (काभा च्यालेन्ज कप) खर्च गर्नेछौं । यसले नपुग्न सक्छ र त्यस्तो भएमा अन्य शीर्षकबाट पनि खर्च गर्नेछौं,’ राखेपका सदस्यसचिव टंकलाल घिसिङले भने, ‘अन्तर्राष्ट्रिय प्रतियोगिता नेपालमा आयोजना गर्दा पाउने बजेट पनि छुट्याइएको छ । त्यसैले चिन्ता लिनुपर्दैन । अर्को कार्यक्रम पनि तयार गर्नुस्, सहयोग गर्न तयार छौं । नेपाली टिमले उपाधिमा ह्याट्रिक गरेको हेर्न चाहन्छु ।’ च्यालेन्ज कप आयोजनामा २ करोड ५० लाख खर्च हुने अनमुान संघको छ ।

प्राथमिकतामा कभर्डहल

भलिबलनिम्ति कभर्डहल निर्माणको योजना राखेपको प्राथमिकतामा राखिएको उल्लेख गर्दै सदस्यसचिव घिसिङले भने, ‘राष्ट्रिय खेलको कभर्डहल निर्माणका लागि डीपीआर (विस्तृत अध्ययन प्रतिवेदन) असार मसान्तसम्म सार्वजनिक गर्नेछौं । अन्तर्राष्ट्रिय स्तरको कभर्डहललाई पहिलो प्राथमिकतामा राखेका छौं । ठाउँ निश्चित गरेर आउने आर्थिक वर्षको पहिलो त्रैमासिकमै टेन्डर आह्वान गरेर निर्माण प्रक्रिया अगाडि बढाउने छौं ।’ मध्यपुर थिमि र कागेश्वरीमा जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढेको र त्यसमध्ये एक ठाउँको टुंगो एक महिनाभित्रै लगाउन पनि उनले बताए ।

प्रकाशित : चैत्र ३, २०७९ २२:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×