ज्योति फर्किँदा ज्येष्ठ नागरिक खुसी- कोशी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ज्योति फर्किँदा ज्येष्ठ नागरिक खुसी

लक्ष्मी गौतम

पाँचथर — भारतको पश्चिम बंगाल र सिक्किमसँग सिमाना जोडिएको पाँचथरको फालेलुङ गाउँपालिकामा पहिलो पटक आयोजना गरिएको निःशुल्क शिविरमा ६६ जनाको आँखा अपरेशन गरिएको छ ।

गाउँपालिकाको वडा नम्बर ३ मा रहेको नाम्लुवा भञ्ज्याङमा अवस्थित उपस्वास्थ्य चौकीमा आयोजित शिविरमा ६६ जना नागरिकका आँखाको शल्यक्रिया गरिएको छ ।

फागुन ३० देखि चैत ३ गतेसम्म सञ्चालन भएको शिविरमा मोतियाबिन्दु, ऐजेरु पलाएका र मासु पलाएका गरी ६६ जना नागरिकको शल्यक्रिया गरिएको हो ।

यस्तै दुई सय जना विद्यार्थीसँगै ८ सय जनाको आँखा जाँच, पाँच सय जनालाई औषधि वितरण र दुई सय ५० जनालाई चस्मा वितरण गरिएको आयोजक संस्थाको तथ्यांक छ ।

फालेलुङ गाउँपालिकाको आर्थिक र मेची आँखा अस्पताल बिर्तामोड झापाको प्राविधिक सहयोगमा जिल्लामा कृयाशील सामाजिक संस्था जनसेवा समाजको आयोजनामा शिविर सञ्चालन गरिएको थियो ।

शिविरमा नेपाली सेनाको फिदिमस्थित रणशेर गणले स्वयंसेवक उपलव्ध गराएको आयोजक जनसेवा समाजका अध्यक्ष राजेन्द्र अधिकारीले जानकारी दिए ।

भारतको पश्चिम बंगाल र सिक्किमसँग सिमाना जोडिएको फालेलुङमा आँखाको समस्या भएका बिरामीको मागका आधारमा यो शिविरका लागि बजेट व्यवस्थापन गरिएको पालिका अध्यक्ष वीरबिक्रम थाम्सुहाङले बताए ।

यस क्रममा फालेलुङ ५ का ८१ वर्षीय विष्णुप्रसाद थाम्सुहाङले शिविरमा अपरेशनपछि ज्योति फर्केकोमा खुसी व्यक्त गरेका थिए ।

प्रकाशित : चैत्र ३, २०७९ २१:४८
प्रतिक्रिया
पठाउनुहोस्

चौथो बर्दिवास महोत्सव सुरु

सुनिता बराल

महोत्तरी — महोत्तरीको बर्दिवासमा चौथो बर्दिवास महोत्सव २०७९ सुरु भएको छ । आर्थिक गतिविधि बढाई व्यापार घाटा कम गराउने र पर्यटन प्रवद्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ ।

बर्दिवास उद्योग वाणिज्य संघ र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान महोत्तरीको संयुक्त आयोजनामा भएको महोत्वस ११ दिनसम्म चल्ने उद्योग वाणिज्य संघ बर्दिवासका अध्यक्ष विष्णु बहादुर खड्काले जानकारी दिए ।

पन्चेवाजा, जातजातिका भेषभुषा, कलश यात्रा, व्याण्ड बाजा र झाँकीसहितको बर्दिवास बजारमा प्रभातफेरीपछि सुरु भएको महोत्सवको उद्घाट गर्दै उद्घाटन समारोहका प्रमुख अतिथि उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले महोत्सवले स्थानीय उत्पादनको बजारीकरणसँगै व्यवसाय प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।

बर्दिवास उद्योग वाणिज्य संघले स्थानीय उत्पादनको प्रदर्शन, जातजातिका भेषभुषाको प्रर्दशन गर्ने जनाएको छ । बर्दिवास उद्योग वाणिज्य संघले बर्दिवासको पर्यटकीय क्षेत्रको सम्भावना र अवसरको पहिचान गर्दै फोटो तथा भिडियो प्रर्दशनी कक्ष समेत महोत्सव स्थलमा राखेको संघका उपाध्यक्ष सन्तोष सिग्देलले जानकारी दिए ।

महोत्सवमा १ सय ७० वटा व्यापारिक स्टल रहेको आयोजकले जनाएको छ । प्रत्येक वर्ष उद्योग वाणिज्य संघले आयोजना गर्दै आएको महोत्सव यसपटक राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पनि जोडिएर कला संस्कृतिको जगेर्नामा अघि बढ्नु खुसीको कुरा भएको लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रीय सदस्य कृष्णप्रसाद गौतमले जानकारी दिए ।

प्रकाशित : चैत्र ३, २०७९ २१:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×