२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८
स्ववियु निर्वाचन

सोलुखुम्बुका तीन क्याम्पसमा सर्वसम्मत, दुईमा तालाबन्दी

भानुभक्त निरौला

सोलुखुम्बु — सोलुखुम्बुमा रहेका त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त चार र नेपाल संस्कृत विश्वविद्यालयको एक आंगिक गरी पाँचवटा क्याम्पसमध्ये तीनवटामा सर्वसम्मत रुपमा स्ववियु नेतृत्व चयन भएको छ ।

सोताङ पब्लिक क्याम्पसमा तीन विद्यार्थी संगठनहरु नेविसंघ, अखिल र अखिल क्रान्तिकारीले आपसी सहमति गरेर नेतृत्व चयन गरेका छन् । जसअनुसार नेविसंघका प्रमोद राई सभापति, अखिलका मिलन नाछिरिङ उपसभापति र अखिल क्रान्तिकारीका अर्जुन राई सचिवमा सर्वसम्मत चयन भएका छन् ।

न्यून विद्यार्थी संख्या रहेको दुधकोशी बहुमुखी क्याम्पस नेचासल्यानमा नेविसंघका लाक्पा शेर्पा सभापतिमा सर्वसम्मत भएको क्याम्पस प्रमुख रामनारायण झाले जानकारी दिए ।

उक्त क्याम्पसमा अन्य विद्यार्थी संगठनले भने एकलौटी र गोप्य रुपमा नेतृत्व चयन गरेको भन्दै विरोध गरेका छन् । बीपी संस्कृत विद्यापिठ सल्यानमा भने अखिल क्रान्तिकारीका मोहन बस्नेतको नाम निर्विरोध सभापतिको रुपमा घोषणा गरिएको छ ।

नेविसंघका सभापति उम्मेदवार करारमा सरकारी सेवामा रहेकाले उनको दर्खास्त खारेज गरिएको र सभापतिका अर्का उम्मेदवार बस्नेतलाई निर्विरोध घोषणा गरिएको निर्वाचन समितिका सदस्यसचिव लोकेन्द्र राउतले बताए ।

यसको विरोधमा उक्त क्याम्पसमा नेविसंघले भने तालाबन्दी गरेको छ । क्याम्पस प्रशासनले पूर्वाग्रही रुपमा नेतृत्व जिम्मा लाउने षड्यन्त्र गरेको भन्दै अनिश्चितकालीन तालाबन्दी गरिएको छ ।

हिमाल दर्शन क्याम्पस नेचामा भने नेविसंघले फर्जी विद्यार्थी भर्ना गरेको भन्दै अखिल र अखिल क्रान्तिकारीले तालाबन्दी गरेका छन् । नेविसंघले भने आफ्ना उम्मेदवारको मनोनयन दर्ता गरिसकेको जनाएको छ ।

त्यस्तै माथिल्लो सगरमाथाकै जेठो शैक्षिक संस्था सोलुखुम्बु बहुमुखी क्याम्पसमा भने नेविसंघ र अखिल क्रान्तिकारीको संयुक्त प्यानल निर्माण भएको छ । यस्तै अखिल र समाजवादी विद्यार्थी संगठनले छुट्टै प्यानल बनाएका छन् । नेविसंघले सभापति र कोषाध्यक्षमा उम्मेदवारी दिएको छ भने अखिल क्रान्तिकारीले उपाध्यक्ष र सचिवमा उम्मेदवारी दिएको छ । उक्त क्याम्पसमा पूर्वतालिका अनुसार नै चैत ५ गते मतदान हुनेछ ।

प्रकाशित : चैत्र १, २०७९ २०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?