पाँचथरका चारवटै क्याम्पसमा स्ववियु पदाधिकारी निर्विरोध

लक्ष्मी गौतम

पाँचथर — पाँचथर जिल्लाका चारवटै क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्षसहित सबै पदाधिकारी निर्विरोध चयन भएका छन् ।

पाँचथरका चारवटै क्याम्पसमा स्ववियु पदाधिकारी निर्विरोध

सदरमुकामको पाँचथर बहुमुखी क्याम्पस, कुम्मायकको यासोक क्याम्पस, मिक्लाजुङको रवि क्याम्पस र याङवरकको थर्पु क्याम्पसमा स्ववियुका सबै पदाधिकारी निर्विरोध निर्वाचित भएको सम्बन्धित क्याम्पसका निर्वाचन अधिकृतहरूले जनाएका छन् ।

जिल्लामा क्रियाशील नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन र संघीय विद्यार्थी युनियनका नेतृत्वले भागबण्डा गरेर क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनमा उम्मेदवारी दर्ता गराएका थिए ।

सबै पदमा एकल उम्मेदवारी दर्ता हुनुका साथै दर्ता भएका उम्मेदवारमाथि दाबी विरोध नपरेकाले स्वतः निर्विरोध निर्वाचित भएको सूचना टाँस गरिएको पाँचथर बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख लक्ष्मीप्रसाद ढुंगानाले जानकारी दिए ।

निर्वाचन अधिकृतहरुका अनुसार जिल्लाका चारमध्ये सदरमुकामको पाँचथर बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ, दुईवटामा अनेरास्ववियु र एउटा क्याम्पसमा अनेरास्ववियु क्रान्तिकारीले स्ववियु अध्यक्षको नेतृत्व पाएका छन् ।

जसअनुसार पाँचथर बहुमुखी क्याम्पसमा नेविसंघकी मुना नेपाली, यासोक क्याक्पसमा अनेरास्ववियुका मनोज थापा, रवि क्याम्पसमा अनेरास्ववियु क्रान्तिकारीका चन्द्रहाङ लावती र थर्पु क्याम्पसमा अनेरास्ववियुका एम्बाहाङ योङहाङ अध्यक्षमा निर्विरोध भएका हुन् । उपाध्यक्ष, सचिव, सहसचिव र समानुपातिक सदस्य पनि विद्यार्थी संघठनले भागबण्डामै टुंग्याएका छन् ।

प्रकाशित : फाल्गुन २९, २०७९ १८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?