३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

अरुणमा पुलको विकल्प फेरी

अरुण नदी तर्न र सामान ओसारपसार गर्न झोलुंगे पुलभन्दा फेरी उपयोगी भएको छ । तर हिउँदमा मात्रै चल्नाले वर्षामा सकस नै छ । पक्की पुल भएको खण्डमा स्थायी समाधान हुने स्थानीयको अपेक्षा ।
रमेशचन्द्र अधिकारी

भोजपुर, दिङ्ला — १२ वर्षसम्म पुलको पर्खाइमा रहेका भोजपुरको उत्तरी क्षेत्रका बासिन्दाले अरुण नदीमा फेरी सञ्चालनपछि केही राहत महसुस गरेका छन् । अरुण नदीको लम्सुवाघाटमा २०६७ सालमा थालिएको पुल अलपत्र बनेपछि झोलुंगे पुलको भरमा आउजाउ गर्दै अत्यावश्यक वस्तु वारपार गर्नुपर्ने बाध्यता थियो ।

अरुणमा पुलको विकल्प फेरी

दुई वर्षदेखि षडानन्द र खाँदबारी नगरपालिकाको बीचमा रहेको अरुण नदीको सतीघाटमा फेरी सञ्चालनमा आएपछि उत्तरी क्षेत्रमा पर्ने दिङ्लावासीलाई सजिलो भएको हो । षडानन्द नगरपालिकाको ३५ लाख र प्रदेश तथा संघीय सरकारको ६८ लाख गरी १ करोड ३ लाख बजेटमा फेरी सञ्चालनमा आएको नगरपालिकाले जनाएको छ ।

फेरीले एकै पटकमा चार वटासम्म सवारी साधन तार्ने गर्छ । फैरीबाट दैनिक ५० वटाजति सानाठूला सवारी साधन तार्ने गरिएको छ । पक्की पुल निर्माण अन्योल बनेपछि फेरीबाट सवारी तथा ढुवानी साधन साथै दैनिक उपभोग्य वस्तु, निर्माण सामग्री, कृषि तथा नगदेबाली ओसारपसारमा सहज बनेको षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्र उदास बताउँछन् ।

‘फेरी सञ्चालन भएको स्थान नजिकै झोलुङ्गे पुल रहे पनि विगतमा अत्यावश्यक वस्तु ओसारपसार गर्न समस्या थियो,’ उनले भने, ‘फेरीले कम्तीमा हिउँद याममा भए पनि राहत दिएको छ ।’


फेरी सञ्चालनपछि षडानन्द नगरपालिका, साल्पासिलिछो गाउँपालिका लगायत भोजपुर उत्तरी क्षेत्रका कम्तीमा ७० हजार स्थानीयवासी लाभांवित बनेको स्थानीय जनप्रतिनिधिहरूको भनाइ छ । तर, फेरी १२ महिनाभर उपयोगी बन्न नसक्दा वर्षायाममा कष्ट भोग्नुपर्ने स्थानीय तीर्थ चापागाईँ बताउँछन् । उनी भन्छन्, ‘फेरी अल्पकालीन समाधान मात्र रहेकोले दीर्घकालीन समाधानका लागि अरुणमा मोटरेबल पुल अनिवार्य छ ।’ लम्सुवाघाटमा २०६७ सालमा निर्माण थालिएको पुल अन्योल अवस्थामा छाडिएपछि पुलको अन्य विकल्प हुनुपर्ने उनको भनाइ छ ।


वर्षमा कम्तीमा सात महिना भए पनि फेरी मार्फत स्थानीयवासीले राहत पाउने गरेको षडानन्द नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद भण्डारीले बताए । लम्सुवाघाटको निर्माणाधीन पुल नबन्ने भएपछि अरुण नदीको कात्तीकेघाटमा पनि निर्माण सुरु गरिएको उनले बताए । उक्त पुल आगामी एक वर्षभित्र निर्माण सम्पन्न हुने उनको भनाइ छ । यस्तै, तुम्लिङटार र फालिकोट जोड्ने अरुण नदीको तुर्केघाटमा पनि मोटरेबल पुल निर्माणको लागि टेन्डर आह्वान गरिएको भट्टराईले जानकारी दिए । तर उक्त स्थानमा पाँच र तीन महिना पहिले टेन्डर आह्वान गरिए पनि पुल निर्माणका लागि कुनै टेन्डर नपर्दा ढिलाइ भएको उनको तर्क छ ।


प्रकाशित : फाल्गुन २९, २०७९ १६:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?