
खोटाङ — कोशी प्रदेश नामकरणको विरोधमा आइतबार खोटाङमा प्रदर्शन गरिएको छ । कोशी नाम खारेज गरी किरात प्रदेश नामकरण गर्नुपर्ने माग राख्दै दिक्तेलको किरता चोकमा युवाहरू बिहानैदेखि प्रदर्शन गरेका हुन् ।

उनीहरूले मध्यपहाडी लोकमार्ग लगायतका अन्य सडकमा यातायात अवरुद्ध पारेका छन् । मालवाहक तथा निजी सवारी साधन नियन्त्रणमा लिएका छन् । अल्छेढुंगामा टायर बालेर प्रदर्शन गरेका छन् । बजारका पसलहरु बन्द भएपछि उपभोक्तालाई मार परेको छ । एम्बुलेन्स, बिरामी बोकेको अटो, दूध र प्रेसको सवारी साधनलाई चल्न दिएको नेपाल आदिवासी जनजाति महासंघ खोटाङका अध्यक्ष फूर्बा शेर्पाले बताए ।
यहाँ शनिबार साँझ पनि मसाल जुलुस प्रदर्शन गरिएको थियो । आन्दोलनमा जनता समाजवादी पार्टी, नेपाल आदिवासी जनजाति महासंघ, किरात राई यायोक्खा, किरात सेवा समाज, नेपाल तामाङ घेदुङ संघ, नेवा देयःदबु, नेपाल तमु छ्योज्धी, नेपाल शेर्पा संघ, नेपाल मगर संघ, नेपाल भुजेल सेवा समाज, नेपाल माझी सेवा समाज, किरात चाम्लिङ खाम्बातिम, किरात साम्पाङ राई जुम्लेखा, दुमी राई फन्सिकिम लगायतले ऐक्यबद्धता जनाएका छन् । किरात प्रदेश नभइन्जेलसम्म आन्दोलन जारी राख्ने आन्दोलनमा सहभागी एलबी मगरले बताए ।
कोशी प्रदेशभर आइतबार विभिन्न समूहहरूले प्रदेशको नाम फेर्नुपर्ने मागसहित बन्दको आह्वान गरेका छन् । जसकारण प्रदेशभर नै बन्दको प्रभाव परेको छ । उनीहरुले यातायात, शैक्षिक संस्था, पसल लगायत बिहानैदेखि बन्द गराएका छन् ।