कुमाल समुदाय चौतर्फी मारमा

अहिले बढीमा ३० परिवार मात्र पुस्तैनी पेसामा छन्, बााकी वैकल्पिक पेसातर्फ
विनोद भण्डारी

सुनसरी — गुणस्तरीय माटोको अभाव एवं बिचौलियाले सुनसरीको बर्जु गाउँपालिका–५ स्थित कुमाले समुदायको परम्परागत पेसा संकटमा परेको छ । महाभारतकालीन बर्जु तालभन्दा दक्षिणपट्टिको बस्तीमा २ सय ५० घर कुमाल समुदायका छन् ।

कुमाल समुदाय चौतर्फी मारमा

उनीहरूको मुख्य पेसा नै माटोका भाँडा बनाएर बिक्री गर्नु हो । उनीहरू उक्त तालको माटो निकालेर भाँडा बनाउँदै आएका थिए । पछिल्लो समय बर्जु ताल संरक्षण समितिले पोखरी एवं आसपासको माटो निकाल्न नदिए पछि उनीहरूलाई पेसा धान्न कठिन भएको हो ।

पछिल्लो समय समितिले चरा संरक्षण तथा पिकनिक स्पटको रूपमा पानी जमाएर ताललाई संरक्षण गर्न थाले पछि प्रवेश शुल्क १० रुपैयाँ तिर्नुपर्छ । उनीहरूले पुस्तौंदेखि भाँडा बनाउन निकाल्ने माटो ५ वर्षदेखि निकाल्न नपाउने गरी रोक लगाइएको छ । ‘पाँच वर्ष पहिलासम्म बस्तीका सबै घरकाले भाँडा बनाउँदै बेचिरहेका थिए,’ स्थानीय रामसेवक कुमालले भने, ‘अहिले बढीमा ३० परिवार मात्र पुस्तैनी पेसामा छन्, बाँकी वैकल्पिक काममा लागेका छन् ।’

रैथाने कुमालेलाई पहिले तालबाट जति माटो झिक्दा पनि रोकटोक थिएन । माटो सजिलै पाइने भएकाले कुमालेका पुस्ता यो स्थानमा आएर सपरिवार बसेका थिए । उनीहरूका अनुसार पहिले माटोको भाँडाको राम्रो बिक्री थियो । अहिले प्लास्टिकका सस्ता सामानले बजार लिएको छ । पूजापाठ र क्रियामा मात्रै प्रयोग हुन थालेपछि माटाको भाँडाको अहिले बजारमा माग पनि कम हुँदै गएको स्थानीय जगदीश पण्डित कुमालले सुनाए ।

माटोसँगै पुँजी र बजारको अभाव तथा बिचौलियाको प्रभाव, अनि आधुनिक यन्त्रको सट्टा परम्परागत तवरले भाँडा बनाउनुपर्ने अवस्थाले कुमालेहरू परम्परागत पेसाबाट बिमुख हुँदै गएको उनको ठहर छ । उनका अनुसार युवा रोजगारीका लागि विदेश पलायन हुन थालेपछि कुमालेहरूको पेसा जोखिममा पर्नु अर्को कारण हो । पाँच दशकदेखि माटोको भाँडा बनाउँदै आएका ६८ वर्षीय नारायण कुमालको अनुसार नचर्किने र नफुट्ने हुनाले माटोको भाँडा बनाउन तालको माटो एक नम्बर छ । ‘अहिले एक ट्रली माटो ल्याउँदा ५ सय खर्च हुन्छ, दाउराको क्विन्टलको हजार रुपैयाँ पर्छ,’ उनले भने । आफ्नो मिहिनेत जोड्दा खासै नाफा नहुने स्थानीय रामदेव पण्डितले बताए । गाग्री, हाँडी, खुत्रुके, कलश, गमला, दियो, धुपौरो, चियाको कपलगायत भाँडाकुँडा अहिले पनि बजारमा बिक्री हुन्छ । तर बजारबाट आउने बिचौलिया व्यापारीले आधाभन्दा कम पैसामा माल लगेर दोब्बर बढीमा बिक्री गरी आफूहरूको शोषण गरिरहेको उनले दुखेसो पोखे ।

यी सब संघर्षबीच परम्परागत पेसा छाडेर कुमाले युवा वैदेशिक रोजगारीमा जान थालेका छन् । प्रौढहरूले खेतीपाती र अन्य व्यवसाय गर्न थालेका छन् । उक्त बस्तीका किरण कुमाल चार दशकदेखि माटोको भाँडा बनाएर पाँच सदस्यीय परिवारको निर्वाह गरिरहेका छन् । तर भाँडा बेचेर हुने आम्दानीले परिवार धान्न मात्रै पुग्दै आएको उनले पीडा पोखे । तर किनेर लैजाने व्यापारीले मनग्गे आम्दानी गर्ने गरेका किरणको बुझाइ छ । व्यापारीले एउटा खुत्रुके ६० रुपैयाँमा किनेर बजारमा १ सय ५० रुपैयाँसम्ममा बेचिरहेको उनले बताए । बर्जु गाउँपालिका प्रमुख जीवस कुमार रायले शताब्दीदेखि यहाँ बसिरहेका कुमालेको पेसाको संरक्षणका लागि पालिकाले पहल गरिरहेको बताए ।

अहिले गाउँपालिकाको स्वामित्वमा तालको संरक्षणको दायित्व आएकाले कुमालेहरूका लागि माटो उपलब्ध गराउने उनले प्रस्ट्याए । ‘कुन साइडबाट माटो दिने र कति दिने भन्ने अध्ययन भइरहेको छ,’ रायले भने, ‘पालिकाले कुमाललाई चाँडै तालको माटो उपलब्ध गराएर पेसाको संरक्षण गर्नेछ ।’

प्रकाशित : फाल्गुन ७, २०७९ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?