कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

सुन्दर जुनबेसी

भानुभक्त निरौला

सोलुखुम्बु — हिमाली जिल्ला सोलुखुम्बु; सेता हिमाल, अग्ला पहाड अनि गुम्बालगायत धार्मिक सम्पदाले भरिपूर्ण जिल्ला हो । त्यही जिल्लाको सदरमुकाम सल्लेरीबाट नजिकै रहेको सुन्दर पर्यटकीय गाउँ हो जुनबेसी ।

सुन्दर जुनबेसी

सोलुदूधकुण्ड नगरपालिका २ मा पर्ने जुनबेसी क्षेत्र, फाँटिलो हिमाली बस्ती, धार्मिक तथा पुरातात्त्विक महत्त्व बोकेका गुम्बा र रमणीय स्थानहरूका कारण परिचित छ । जिरी–खुम्बु पदमार्गमा पर्ने जुनबेसी सगरमाथा जाने रुटमा पर्ने आकर्षक गाउं हो । जो उच्च पहाडी टापुहरूको बिचमा अवस्थित छ ।


आदिवासी शेर्पा समुदायको मुख्य बसोबास रहेको यस क्षेत्रमा पुग्न सोलुखुम्बु सदरमुकाम सल्लेरीबाट सवारी साधनमा १ घण्टामा पुग्न सकिन्छ । शान्त गाउँ, सुन्दर बनावटका घरहरू, गुम्बा, मानेहरू, सयौं वर्षअघि ढुंगा कुँदेर लेखिएका अक्षर अनि जुनबेसीमा रहेको जुनको आकृतिको ढुंगा यहाँका आकर्षणका केन्द्रहरू हुन् । नुम्बुर हिमालको एक साइडबाट बग्ने जुनबेसी खोलाको सुसाइले जो कोहीको मन लोभ्याउने गर्दछ ।


शान्त र मनोरम ठाउँमा बसेर थकान मेटाउँदै पर्यटकीय सम्पदाहरूमा तस्बिरमा कैद गर्न र यस ठाउँको सौन्दर्य अवलोकन गर्नका लागि आन्तरिक तथा बाह्य पर्यटकहरू जुनबेसी जाने गर्दछन् । साविकको बेनी गाविसमा अवस्थित यस क्षेत्रमा एक दर्जनभन्दा बढी गुम्बा र ध्यान केन्द्रहरू रहेका छन् ।


तिब्बती शरणार्थीहरू रहेको थुप्तेनछोलिङ गुम्बादेखि, फुङ्बोचे, सेर्लोलगायत प्रमुख गुम्बा यस क्षेत्रमा पर्दछन् । यहाँ रहेका ध्यान केन्द्रहरूमा भिक्षुहरूले वर्षौं ध्यान गरेर ज्ञान आर्जन गर्ने गरेको स्थानीयहरू बताउँछन् । आध्यात्मिक केन्द्रको रुपमा समेत चर्चित जुनबेसी क्षेत्र पछिल्लो समय जलविद्युत् आयोजनाको केन्द्रसमेत बनेको छ । जुनबेसी र बेनी खोलामा ठूला जलविद्युत् आयोजनाहरू निर्माणाधीन अवस्थामा रहेका छन् ।


यस क्षेत्रमा फिल्म तथा म्युजिक भिडियो छायांकनका लागि देशी तथा विदेशी कलाकारहरू पुग्ने गर्दछन् ।

प्रकाशित : माघ २६, २०७९ १५:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?