सोलुमा मोटरसाइकल दुर्घटनाबाट युवकको मृत्यु- कोशी - कान्तिपुर समाचार

सोलुमा मोटरसाइकल दुर्घटनाबाट युवकको मृत्यु

भानुभक्त निरौला

सोलुखुम्बु — मोटरसाइकल दुर्घटनमा परी सोलुखुम्बुको माप्यदुधकोसी गाउँपालिकाका एक युवकको मृत्यु भएको छ । मंगलबार मध्याह्न भएको दुर्घटनमा माप्यदुधकोसी गाउँपालिका ४ का २१ वर्षीय हेम कुमार राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

काँकुबाट बासातर्फ जाँदै गरेको बा. ४४ प २६१९ नम्बरको पल्सर मोटरसाइकल रमिते डाँडामा अनियन्त्रित भई दुर्घटना हुँदा राईको ज्यान गएको प्रहरी निरीक्षक राम किशोर शाहले बताए ।

मध्याह्न साढे १२ बजे भएको माप्यदुधकोसी ४ को उक्त दुर्घटनामा सख्त घाइते भएका राईको प्राथमिक अस्पताल खास्तावमा उपचारको क्रममा मृत्यु भएको हो ।

उनको शरीरमा बाहिरी चोट भने नदेखिएको बताइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रकाशित : माघ २४, २०७९ १७:१४
प्रतिक्रिया
पठाउनुहोस्

२०२६ मा १० अर्बको पश्मिना निर्यात गर्नेगरी सरकारको रणनीति सार्वजनिक

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले पश्मिना क्षेत्र निर्यात राष्ट्रिय रणनीति सार्वजनिक गरेको छ । सन् २०२६ सम्म पश्मिनाको निर्यातबाट वार्षिक ७ करोड ५० लाख अमेरिकी डलर अर्थात हालको विनिमयदर अनुसार ९ अर्ब ७५ करोड रुपैयाँ विदेशी मुद्रा भित्र्याउने लक्ष्यसहित उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले योजना सार्वजनिक गरे ।  


यसमा राष्ट्रिय पश्मिना क्षेत्र निर्यात रणनीति उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्र (टीईपीसी) तथा नेपाल पश्मिना उद्योग संघ (एनपीआईए) सँगको सहकार्य र युरोपियन युनियनको सहयोग रहने छ । कार्यक्रममा बोल्दै उद्योगमन्त्री भण्डारीले पश्मिना क्षेत्र निर्यात राष्ट्रिय रणनीति योजनाले पश्मिना उद्योगको विकास र विस्तारमा टेवा पुग्ने बताए । नेपाली च्याङ्ग्राको ऊनलाई नेपालमै प्रशोधन गरी पश्मिनाको धागो उत्पादन गर्ने कारखाना बन्न लागेको भण्डारीले बताए ।

मन्त्री भण्डारीले नेपालमा नै च्याङ्ग्राको ऊनलाई प्रशोधन गर्न सकिने भएकाले स्वदेशमा उचित मूल्य र बजार सुनिश्चितता हुने दाबी गरे । ‘नेपाली च्याङ्ग्राको ऊनलाई प्रशोधन गरी पश्मिना धागो उत्पादन गर्ने पहिलो कारखाना बन्ने भएको छ’ मन्त्री भण्डारीले भने ‘यसबाट नेपालको हिमाली क्षेत्रका च्याङ्ग्रापालक किसानले उत्पादन गरेको ऊनलाई स्वदेशभित्र नै उचित मूल्यमा बिक्रीको सुनिश्चिता हुन जान्छ ।’ उद्योग मन्त्रालयले युरोपियन युनियनको आर्थिक सहयोग तथा अन्तर्राष्ट्रिय व्यापार केन्द्रको प्राविधिक सहयोगमा सञ्चालन गरिरहेको व्यापार तथा लगानी कार्यक्रम अन्तर्गत राष्ट्रिय पश्मिना निर्यात रणनीति तर्जुमा गरेको छ । यो रणनीतिले पश्मिना क्षेत्रले भोगिरहेको समस्या र चुनौतिलाई सुक्ष्म रुपमा विश्वलेषण गरी पााच वर्षभिक्र निर्यात गर्नसक्ने लक्ष्य निर्धारण गरेको छ ।

कार्यत्रममा उद्योग सचिव मधुकुमार मरासिनीले ऊन उत्पादन बढाउन हिमाली जिल्लाहरुमा च्याङ्ग्रा पालनमा किसानलाई प्रोत्साहन गर्न आवश्यक रहेको बताए । नेपाल पश्मिना उद्योग संघका अध्यक्ष विजय दुगडले हाल नेपालमा पश्मिनाको धागो विदेशबाट आयात हुने भन्दै अब नेपालमा नै च्याङ्ग्राको ऊन प्रशोधन गरेर धागो तयार गर्ने वातावरण बन्ने बताए । मंगलबार नै पश्मिना प्रशोधनको लागि ललितपुरको हरिसिद्धिमा फाइबर प्रशोधन केन्द्र शिलान्यास भएको छ । नेपालले सन् २०२१ मा २ अर्ब ५३ करोड रूपैयाँ (करिव १ करोड ९३ लाख अमेरिकी डलर) बराबरको पश्मिना सल निर्यात गरेको थियो ।


प्रकाशित : माघ २४, २०७९ १७:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×