कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

नवीकरणबिनै एग्रोभेटहरू सञ्चालनमा

धनकुटा — धनकुटामा तरकारी तथा अन्नबालीका लागि कीटनाशक विषादी, मल, बीउ र पशुपक्षीका लागि भिटामिन तथा औषधि बिक्री गर्ने पसल (एग्रोभेट) हरू पाँच वर्षदेखि नवीकरणबिनै सञ्चालनमा छन् ।

नवीकरणबिनै एग्रोभेटहरू सञ्चालनमा

हरेक दुई वर्षमा नवीकरण गर्नुपर्ने प्रावधान रहे पनि यहाँका एग्रोभेटहरूले २०७४ यता नवीकरण गरेका छैनन् । विगतमा कृषि विकास कार्यालयले एग्रोभेट नवीकरणको संयोजन गरे पनि कार्यालयको संरचना फेरिएपछि उक्त कार्य नियमित हुन सकेको छैन । हाल कृषि ज्ञान केन्द्रका रूपमा रहेपछि एग्रोभेट नवीकरण कार्य प्रभावित भएको धनकुटा–७ हुलाकटोलस्थित निशान भेटेरिनरी औषधि पसलका सञ्चालक उत्तम श्रेष्ठले बताए । यस्तै, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले समेत आफ्नो अधिकार क्षेत्रमा नपर्ने भनेपछि पुराना नवीकरण भएका छैनन् भने नयाँ एग्रोभेट दर्ता प्रक्रियामा आउन सकेका छैनन् । ‘नवीकरण गर्न सहजता नभएकै कारण हामीलाई समस्या भएको छ’, श्रेष्ठले भने, ‘पालिका तथा कृषि र भेटेरिनरी कार्यालयहरूबीच समन्वय समेत नहुँदा नवीकरण गरौं भन्दा पनि सकिएको छैन ।’

पालिका, जिल्ला तथा प्रदेशस्तरमा नै नवीकरण गर्ने कुनै निकाय हालसम्म व्यवस्था गरिएको छैन । नवीकरणका लागि एग्रोभेट सञ्चालकहरू काठमाडौं जानुपर्ने बाध्यता रहेको बताए । धनकुटा नगरपालिका क्षेत्रभित्र मात्र १२ वटा एग्रोभेट रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लाभरिको तथ्यांकसमेत उक्त केन्द्र र विज्ञ केन्द्रमा समेत उपलब्ध छैन । तर, जिल्लाका सबै पालिकाका मुकाम तथा मुख्य बजारहरूमा आफूखुसी एग्रोभेट पसल सञ्चालनमा छन् । कतिपय किराना पसलबाटै पनि कृषि र पशुपन्छीका लागि औषधि तथा अन्य वस्तु बिक्री गरिन्छ । तिनको स्थानीयस्तरमा अनुगमनसमेत नहुँदा जथाभावी विषादीजन्य वस्तु खरिदबिक्री हुने क्रम बढेको स्थानीय एग्रोभेट सञ्चालक गोपाल बुढाथोकी बताउँछन् ।

कृषि तथा पशुपालक कृषकले बिनासिफारिस विषादी तथा औषधि किन्न आउने गरेको कोसी पहाडी बीउ व्यवसायी उत्पादक सहकारीका व्यवस्थापक जगदीश राय बताउँछन् । तरकारीका प्रतिबन्धितबाहेक कृषकले माग गरेको विषादी बिक्री गरिँदै आएको उनले बताए । पालिकासहित भेटेरिनरी र कृषि कार्यालयहरूबीच समन्वय अभाव हुँदा कृषक र एग्रोभेट सञ्चालकलाई समेत समस्या परेको गुनासो गरे ।

पर्यावरण र मानवलाई असर नपर्ने किटनाशक विषादी बिक्री गर्नुपर्नेमा दर्ता तथा नवीकरणको दायरामा नआएका कतिपय पसलबाट जथाभावी बिक्री गर्ने गुनासो पनि बढेको छ । जरुरी परेको बेला प्राविधिक समेत उपलब्ध हुन नसक्दा एग्रोभेट जानुपर्ने बाध्यता रहेको कृषक सूर्यबहादुर आठपहरियाको तर्क छ । उनले कृषकलाई उपलब्ध हुने गरी कृषि विज्ञ तथा प्राविधिक व्यवस्थापन गरिनुपर्ने बताए । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख लोकनाथ ढुंगानाले एग्रोभेट नवीकरणका लागि सहज व्यवस्थापन हुनुपर्ने बताउँछन् । यसका लागि स्थानीय, प्रदेश र केन्द्रको समन्वय आवश्यक रहेको उनको बुझाइ छ । यस्तै, कृषि ज्ञान केन्द्रका बाली संरक्षक अधिकृत सुरज खनालले नवीकरणका लागि असहज अवस्था रहेको स्वीकार गरे । नवीकरणको सिफारिस मात्र गर्न सक्ने अख्तियारी रहेको उनको भनाइ छ ।

प्रकाशित : माघ २४, २०७९ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?