हडतालको तयारीमा चिया श्रमिक- कोशी - कान्तिपुर समाचार

हडतालको तयारीमा चिया श्रमिक

ज्याला वृद्धि गर्न श्रमिकको माग, श्रम ऐन व्यावहारिक नभएको उद्योगीको भनाइ
अर्जुन राजवंशी

बिर्तामोड — श्रम ऐनअनुसार ज्याला वृद्धि नभएको भन्दै चिया श्रमिकहरूले आगामी चैतदेखि बगानमा हडताल गर्ने बताएका छन् । प्रत्येक दुई/दुई वर्षमा चिया श्रमिकको ज्याला वृद्धि गर्नुपर्ने श्रम ऐन–२०७४ को प्रावधानअनुरूप चालु वर्षको साउनदेखि उनीहरूको ज्याला वृद्धि हुनुपर्ने थियो । तर, कोभिडलगायत विविध कारण देखाउँदै उद्योगीले श्रमिकको ज्याला वृद्धि गरेका छैनन् । ज्याला वृद्धिको माग गर्दै उनीहरूले गत असोजमा लिखित पत्रमार्फत उद्योगीको ध्यानाकर्षण गराएका थिए । 

‘तर, कुनै सुनुवाइ भएको छैन’ नेपाल चिया बगान श्रमिक संघका केन्द्रीय अध्यक्ष दीपक तामाङले भने, ‘त्यसैले बगानमा हडताल गर्ने तयारीमा छौं ।’ चिया बगानका श्रमिकले अहिले दैनिक ४ सय ३५ रुपैयाँ ज्याला पाउँदै आएका छन् । यसअघि उनीहरूले ज्याला वृद्धि तथा ऐन कार्यान्वयनको माग गर्दै २०७५ चैत १७ देखि २०७६ वैशाख ३० सम्म चिया इतिहासमै लामो समयको आन्दोलन गरेका थिए । ४४ दिनसम्म चलेको उक्त आन्दोलनले चिया क्षेत्र ठप्प बनेपछि नेपाल चिया उत्पादक संघ र आन्दोलनरत ट्रेड युनियनबीच तीनबुँदे सहमति भएको थियो ।

मुलुकमा २७ हजार ५ सय हेक्टर क्षेत्रफलमा चिया खेती गरिन्छ । झापामा १० हजार ५ सय क्षेत्रफलमा चिया खेती हुने गरेको राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय बिर्तामोडका प्रमुख इन्द्र अधिकारीले जानकारी दिए । चिया क्षेत्रमा करिब ७० हजार जनशक्तिले प्रत्यक्ष रोजगारी पाएको उनको दाबी छ । देशभर वार्षिक करिब २ करोड ८० लाख किलोग्रामभन्दा बढी तयारी चिया उत्पादन हुन्छ । झापामा मात्र १ करोड ८२ लाख तयारी चिया उत्पादन हुन्छ । उत्पादितमध्ये करिब ५० प्रतिशत चिया मात्र आन्तरिक बजारमा खपत हुने गरेको बोर्डको दाबी छ । चिया निर्यातबाट बर्सेनि ३ अर्ब ८० करोड विदेशी मुद्रा आर्जन हुने गरेको बोर्डले जनाएको छ । देशमा उत्पादित चियामध्ये ९८ प्रतिशत प्रदेश १ मा हुने गरेको अधिकारीले जानकारी दिए ।

चिया उत्पादन गर्ने ३० वडा अर्थोडक्स र ३८ वटा सीटीसी गरी ६८ वटा ठूला चिया उद्योग छन् । १ सय ५० भन्दा बढी साना अर्थोडक्स प्रशोधन उद्योग सञ्चालनमा छन् । नेपालभर १ सय ६० भन्दा बढी चिया बगान छन् । १५ हजारभन्दा बढी साना किसानले चिया खेती गर्ने गरेको तथ्यांक छ । चिया उद्योगीहरूले भने श्रम ऐन व्यावहारिक नभएको प्रतिक्रिया दिएका छन् । उक्त ऐनअनुसार श्रमिकलाई सेवा सुविधा दिन सक्ने अवस्थामा चिया उद्योग नरहेको उनीहरूको तर्क छ । चिया क्षेत्रमा छुट्टै चिया श्रम ऐन लागू गर्नुपर्ने चिया उत्पादक संघका केन्द्रीय अध्यक्ष सुरेश मित्तलले जानकारी दिए । उनले ज्याला वृद्धिको माग गर्दै श्रमिकले आन्दोलन गर्ने भनी दिएको चेतावनीप्रति आफ्नो ध्यानाकर्षण भएको बताए । उक्त विषयमा ट्रेड युनियनहरूसँग फागुन पहिलो साता वार्तामा बस्ने उनले बताए ।

प्रकाशित : माघ २४, २०७९ ०७:२८
प्रतिक्रिया
पठाउनुहोस्

लिड्सले गर्‍यो व्यवस्थापकलाई बर्खास्त

एजेन्सी

लन्डन — लिड्स युनाइटेडले मंगलबार व्यवस्थापक जेसे मार्सलाई बर्खास्त गरेको छ । उनले एक वर्षभन्दा कम समय मात्र क्लब सम्हाल्ने अवसर पाए । लिड्स इंग्लिस प्रिमियर लिगको आफ्नो पछिल्लो खेलमा नटिङ्घम फरेस्टसँग १–० ले पराजित भएको थियो । लिगका पछिल्ला सात खेलमा लिड्स जितविहीन रहेको छ ।

लिग अंक तालिकाको १७ औं स्थानमा रहेको लिड्स गोल अन्तरले मात्र रेलिगेसन क्षेत्रको ठीक माथि रहेको हो । लिड्स अन्तिम पटक नोभेम्बर ५ मा जित निकाल्न सफल रहेको थियो । गत फेब्रुअरीमा अमेरिकी फुटबल प्रशिक्षक मार्सले वर्खास्तीमा परेका अर्का व्यवस्थापक मार्सेलो बिएल्साको स्थान लिएका थिए ।

लिड्सले मार्ससँगै उनको सहायकहरू सबैलाई पनि बर्खास्त गरेको छ । लिड्सले बुधबार ओल्ड ट्रायफोर्डमा म्यानचेस्टर युनाइटेडको सामना गर्नेछ । आइतबार उसले युनाइटेडसँगै एलान रोडमा सामना गर्नेछ । अबको खेलमा सहायक व्यवस्थापक रहेका मिचेल स्कुबुलाले लिड्सको जिम्मेवारी सम्हाल्ने छन् ।

प्रकाशित : माघ २४, २०७९ ०७:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×