अस्पतालले पाएन बिमा रकम- कोशी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अस्पतालले पाएन बिमा रकम

आनन्द गौतम

ताप्लेजुङ — बिमा सेवाबापतको रकम नपाएपछि जिल्ला अस्पताललाई सेवा प्रवाहमा समस्या भएको छ । यो महिना पनि बिमा रकमको भुक्तानी नभएमा पहिला फार्मेसी र त्यसपछि ल्याब सेवा कटौती गर्ने अवस्थामा अस्पताल पुगेको बताइएको छ । त्योभन्दा अघि नै रकम प्राप्तिमा सहजीकरण गरिदिन अस्पताल प्रशासनले प्रतिनिधिसभाका सांसद योगेश भट्टराईलाई गुहारेको छ । 

अस्पतालका निमित्त कार्यालय प्रमुख विजया राईका अनुसार बिमाबाट ५६ लाख ७८ हजार रुपैयाँ प्राप्त गर्न बाँकी छ । यसमा २०७८/७९ को ३८ लाख र २०७९/८० को पुससम्मको १८ लाख ७७ हजार रुपैयाँ रहेको उनले प्रस्ट्याइन् । ‘हाम्रोजस्तो कम स्रोत भएको अस्पतालमा यत्तिका ठूलो रकम प्राप्त नहुँदा अस्पताल सञ्चालनमै समस्या हुँदो रहेछ,’ राईले भनिन्, ‘यो महिनामा पनि रकम नआएमा ल्याब र फार्मेसी सञ्चालन गर्न सक्दैनौं ।’

सम्बन्धित निकायमा पटक–पटक अनुरोध गर्दा पनि रकम प्राप्त नभएपछि बाध्य भएर सांसद गुहार्नुपरेको अस्पताल विकास समितिका सदस्य सुवास आचार्यले बताए । ‘समितिका अध्यक्ष छिरिङ लामाले पनि सम्बन्धित निकायमा पहल गर्नुभयो,’ उनले भने, ‘आउँछ/आउँछ भन्ने तर नपठाउने प्रवृत्तिले दैनिक उपचार सेवा प्रवाहमै समस्या हुन थालेको छ ।’ प्रदेश १ मा जिल्ला समन्वय समितिको प्रमुख अस्पताल विकास समितिको अध्यक्ष हुने प्रावधान छ । उनको संयोजकत्वमा नगरपालिका प्रमुख, रेडक्रसलगायतका संस्थाका प्रतिनिधि र प्रदेशको सामाजिक विकास मन्त्रालयले चयन गरेका व्यक्ति सदस्य हुन्छन् । ताप्लेजुङ अस्पतालमा २०७८ जेठदेखि बिमा सेवा लागू भएको हो । परिवारको पाँच सदस्यसम्मका लागि ३ हजार ५ सय रुपैयाँको वार्षिक बिमा गरे एक लाख रुपैयाँ बराबरको उपचार पाउने प्रावधान छ ।

पछिल्लो समय बिमितको संख्या उल्लेख्य बढेको राई बताउँछिन् । २०७८/७९ मा ४३ लाख ४५ हजार ६ सय ३८ रुपैयाँ माग दाबी गर्दा मात्र ५ लाख ४५ हजार ५ सय रुपैयाँ प्राप्त भएको उनले बताइन् । उनका अनुसार त्यसपछि बिमा बोर्डले अस्पताललाई भुक्तानी दिएको छैन । सांसद भट्टराईले स्वास्थ्य बिमा बोर्डका अध्यक्ष डाक्टर सेनेन्द्रराज उप्रेती र कार्यकारी निर्देशक डाक्टर दामोदर बसौलालाई टेलिफोन गरी रकम भुक्तानीका विषयमा जानकारी गराएको र एक साताभित्रमा अस्पताललाई रकम पठाइने जवाफ दिएको बताए । ‘बोर्डको कोषमा पैसा पनि रहेछ,’ भट्टराईले भने, ‘निर्देशक बसौलाले हप्ता दिनभित्रमा भुक्तानी गर्ने विश्वास दिलाउनुभएको छ ।’

प्रकाशित : माघ २४, २०७९ ०७:१६
प्रतिक्रिया
पठाउनुहोस्

संसदीय समिति गठनमा ढिलाइ

सुवास विडारी

मकवानपुर — वाग्मती प्रदेशको प्रदेशसभाको विषयगत समितिको गठनमा ढिलाइ भएको छ । सोमबारको प्रदेशसभा बैठकमा दलहरूको तर्फबाट समितिमा बस्ने सांसदहरूको नामावली माग भए पनि एमालेबाहेकका दलले नाम बुझाउन नसक्दा समिति गठनमा ढिलाइ भएको हो । 

समिति गठनमा सहमति जुटाउनका लागि भन्दै सोमबारको बैठक दिउँसो ४ बजेलाई सारिएको थियो । तर, सहमति नजुटेपछि सभामुख भुवनकुमार पाठकले माघ २६ सम्मका लागि बैठक स्थगित गरिदिएका छन् । संसदीय समितिहरूको सभापतिमा सबै दलहरूको दाबी रहेपछि गठन हुन नसकेको हो । वाग्मती प्रदेशसभामा पाँचवटा विषयगत समिति हुने व्यवस्था छ । यसमा प्रतिपक्षी कांग्रेसले दुईवटामा सभापति दाबी गरेको थियो । सत्तारूढ माओवादी, एमाले र राप्रपाले पनि दुई/दुईवटा समितिमा दाबी गरेका छन् । एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको पनि दाबी कायमै रहेपछि संसदीय समिति गठन हुन नसकेको हो । प्रदेशसभामा प्रदेश मामिला समिति, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, शिक्षा, स्वास्थ्य तथा कृषि समिति र उद्योग, पर्यटन तथा वातावरण समिति छन् । सरकारलाई प्रश्न गर्ने र निर्देशन दिने क्षमता राख्ने समितिमा दलहरूको दाबीले अन्योल छ ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सबै दलहरूसँग छलफल गरेका थिए । सदन विपक्षीको भएको र संसदीय समितिमा पनि विपक्षीको दाबी रहने भन्दै प्रमुख प्रतिपक्षी कांग्रेसले अडान राखेको छ ।

‘सदन विपक्षीको हो । हामीले सरकारको निगरानी राख्ने संसदीय समितिहरू मार्फत नै हो,’ कांग्रेसका मुख्य सचेतक कुन्दनराज काफ्लेले भने, ‘सदनको संसदीय समितिमा हाम्रो दाबी स्वाभाविक हो । सरकारको गतिविधि निगरानी राख्न र खबरदारी गर्न समितिमा हामीले नै नेतृत्व पाउनुपर्छ ।’ सार्वजनिक लेखा समिति सामान्यतः प्रतिपक्षीलाई दिइने चलन भए पनि सरकारले नै त्यो समितिको नेतृत्व गर्न खोजेको प्रतिपक्षीको आरोप छ ।

सोमबार मुख्यमन्त्रीले कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामा, एकीकृत समाजवादीका नेता कृष्णप्रसाद शर्मा खनाल, राप्रपा संसदीय दलका नेता उद्धव थापा, नेमकिपाका नेता सुरेन्द्रराज गोसाईंलगायतसँग छलफल गरेका थिए । उनले सरकारले नै सबै समितिको नेतृत्व गर्न खोजेकाले सहमति हुन नसकेको दाबी गरे । ‘संसद् प्रतिपक्षको हो । हामी संसद् चलाउँछौं । तपाईंहरू सरकार चलाउनुस्,’ बैठकमा कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामाले भने । यता नेमकिपाले पनि आफ्नो दाबी छाडेको छैन ।

‘कांग्रेस प्रतिपक्ष होइन, प्रतिपक्ष हामी हो । त्यसैले लेखा समितिको नेतृत्व हामीलाई चाहिन्छ’, नेमकिपा संसदीय दलका नेता सुरेन्द्रराज गोसाईंले भने । एकीकृत समाजवादीका नेता कृष्ण खनालले पार्टीका तर्फबाट समितिमा पठाउने सदस्यहरूको नाम तयार भए पनि सहमति नजुटेकाले आफूहरूले नपठाएको बताए । एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले कांग्रेसले भनेअनुसार समितिको नेतृत्व दिन नसकिने बताए । सरकारले सबैलाई समेटेर अघि बढ्ने भन्दै उनले समितिमा पनि सहमतिमा नेतृत्व चयन हुने छ ।

संसदीय समिति गठनका क्रममा सत्तापक्ष अल्पमतमा पर्ने भएपछि सरकार दबाबमा छ । गत आइतबार कार्यव्यवस्था परामर्श समिति गठन भएपछि संसदीय समिति गठन सहमतिमा नै गर्ने निर्णय दलहरूले गरेका थिए । सहमति कार्यान्वयन भने गर्न सकेनन् । सरकारलाई विश्वासको मत दिएको कांग्रेस केन्द्रमा जसरी आफूलाई विपक्षी दल दाबी गरिरहेको छ ।

प्रकाशित : माघ २४, २०७९ ०७:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×