कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बिरामी भएपछि अस्पताल बनाउन जग्गादान

लक्ष्मी गौतम

पाँचथर — पाँचथरको याङवरक गाउँपालिका–४ का ७९ वर्षीय मानबहादुर माबोको हातखुट्टा चल्दैन । सास बढेर बोल्न कठिन हुन्छ । पक्षाघातको लक्षण देखिएर उनी ओछ्यान परेको दुई वर्ष भइसक्यो । बुढ्यौलीसँगै देखिएका विभिन्न रोगले थलिएका मानबहादुरको अब एउटा मात्रै धोको छ । त्यो हो, जस्केलामै आफूले दान दिएको जग्गामा अस्पताल बनोस्, डाक्टर आऊन्, अनि आफू जस्तै धेरै बिरामीको उपचार होओस् ।

बिरामी भएपछि अस्पताल बनाउन जग्गादान

‘बिरामी हुँदा गाउँठाउँमा उपचार पाइँदैन, स्वास्थ्य चौकीमा डाक्टर भेटिँदैनन्, सामान्य अवस्थामा पनि सदरमुकाम पुग्नैपर्छ,’ मानबहादुरकी ८० वर्षीया पत्नी रत्नमायाले भनिन्, ‘त्यहाँ पनि ठीक नभए झापा, मोरङ, सुनसरी हुँदै काठमाडौं वा भारतको दार्जिलिङ र सिलिगुडीसम्म पुग्नुको विकल्प छैन, हामीले दुःख पाए पनि अबका नयाँ सन्ततिलाई सुख होस् भनेर अस्पताल निर्माणका लागि घरबारी नै गाउँपालिलाई दान गर्‍यौं ।’

गाउँपालिका केन्द्र थर्पु बजार नजिकै यी दम्पतीसहित मानबहादुरका चार दाजुभाइका सन्तानले गाउँपालिकालाई १० रोपनीभन्दा धेरै जग्गा दान गरेका छन् । त्यहाँ गाउँपालिकाले धमाधम १५ बेडको अस्पताल निर्माण गर्दै छ । पहिलो तला छत ढलान हुने अवस्थामा पुगेको अस्पताल निर्माणले चाँडै पूर्णता पाउनेमा उनीहरू ढुक्क छन् । अस्पतालका लागि मात्र नभएर प्रशासकीय भवन, याङवरक पोखरी र प्रहरी चौकी निर्माण गर्न पनि स्थानीयले जग्गा दान दिएका छन् । प्रशासनिक भवन निर्माणका लागि यहाँका नागरिकले १५ रोपनीभन्दा धेरै जग्गा दिएपछि ८ करोड लागतमा भवन निर्माण गरिएको छ । उपाध्यक्ष बाबा मेन्याङबोका अनुसार स्थानीयले सरकारी संरचना निर्माण गर्न जनही चार आनादेखि ५ रोपनीसम्म जग्गा दान गरेका छन् ।

जिल्लाको मिक्लाजुङ गाउँपालिकालाई पनि स्थानीयले दुई सय रोपनीभन्दा धेरै जग्गा उपलब्ध गराएका छन् । ती जग्गामा कृषि फर्म, बुद्ध मूर्ति, अस्पताल, सामुदायिक र प्रशासनिक भवन बन्दै छन् । फाल्गुनन्द गाउँपालिकालाई पनि स्थानीयबाट करिब सय रोपनी जग्गा प्राप्त भएको छ । त्यहाँ अस्पताल तथा कर्भडहलसहितका संरचना निर्माण भइरहेका छन् । योसँगै जिल्लाका आठ पालिकाका अधिकांश स्थानमा निर्माण भएका प्रहरी चौकी स्थानीयले दान दिएको जग्गामै बनेका हुन् ।

प्रकाशित : माघ २३, २०७९ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?