रेडपान्डाको पछिपछि ग्याजो...

आनन्द गौतम

ताप्लेजुङ — अंग्रेजी साहित्य एवं वन विज्ञानमा स्नातक गरेका सिरिजंगा गाउँपालिका–८ याम्फुदिनका ग्याजो लामालाई ११ वर्षअघि कान्छा काका सोनाम टाँसी लामाले रोल्पा जान प्रस्ताव गरे । १६ वर्षका उनले एक महिनासम्म रेडपान्डा नेटवर्कमा कार्यरत काकासँगै रेडपान्डाको खोजीमा बिताए । रोल्पामा रेडपान्डा छ भनेर पहिलो पटक पुष्टि पनि भयो ।

रेडपान्डाको पछिपछि ग्याजो...

यसको दुई वर्षपछि रेडपान्डामा विद्यावारिधि गर्नका लागि इलामको पद्मसम्भव सामुदायिक वनमा काठमाडौंबाट एक विद्यार्थी आउने भए । ग्याजो उनको पनि सहयोगी बने । यो पटक उनले क्यामरा पनि भिरेर गए । त्यहाँ उनले रेडपान्डाका दुई वटा बच्चा फेला पारे र फोटो खिचे । इलामको दोबाटे, जौबारी पाँचथरको गोरुवाले र ताप्लेजुङको देउराली, पाथीभरा क्षेत्रमा उनले रेडपान्डाका धेरैजसो फोटो खिचेका छन् ।

तस्बिरहरू सौजन्य : ग्याजो लामा

त्यसपछिको एक दशकमा उनले रेडपान्डाका मात्रै फोटो २ सय ३ पटक खिचेका छन् । अन्य पशुपक्षीको फोटोले भन्दा रेडपान्डाको फोटोमा उनलाई गर्व छ । यही फोटोबाट उनले पुरस्कार पनि जितेका छन् । ताप्लेजुङ पत्रकार विकास मञ्चले आयोजना गरेको १ सय १ फोटो प्रतियोगितामा दोस्रो भएको थियो । ग्याजोले खिचेको फोटो अहिले अमेरिकन बायोलोजिस्ट एन्जेला ग्लयासटनद्वारा लिखित रेडपान्डा बायोलोजी एन्ड कन्जर्भेसन अफ द फस्ट पान्डा नामक पुस्तकको कभर फोटोका रूपमा छापिएको छ । लजालु स्वभावको यो जनावर हत्तपत्त नभाग्ने भएकाले क्यामरा मिलाएर पनि खिच्न सकिने ग्याजोको अनुभव छ । खिचेका सबैजसो ठाउँ र फोटाको उनले तथ्यांक राख्न थालेका छन् । ‘पहिला पहिला त यादै भएन,’ ग्याजोले भने, ‘अहिले चाहिँ ल्यापटपमा सुरक्षित गरेर राखेको छु ।’

नेपाल, भारत, भुटान, चीन र म्यानमार गरी विश्वका पाँच देशमा रेडपान्डा पाइन्छ । २२ सयदेखि ४८ सय मिटर उचाइसम्म यसको मुख्य बासस्थान हो । मालिंगो र निगालो भएको शीतोष्ण एवं चौडापात पाइने वनमा रेडपान्डा पाइने अध्ययनले देखाएका छन् । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन)ले रेडपान्डालाई सन् १९९६ देखि संकटापन्न जीवको सूचीमा राखेको छ । इलाम, पाँचथर र ताप्लेजुङमा गरी १ सय ७५ देखि दुई सयको हाराहारीमा रहेको आकलन रेडपान्डा नेटवर्कको छ । तर यो एक दशकअघि दिशा र पाइलाको आधारमा गरिएको सर्भेक्षणको अनुमान हो । उक्त नेटवर्कले सन् २०१९ देखि इलाम र पाँचथरमा रेडियो कलर लगाएर अध्ययन सुरु गरेको छ । ग्याजोले पनि यिनै तीन जिल्लामा अधिक फोटो खिचेका छन् ।

रेडपान्डा नेटवर्क रेडपान्डासम्बन्धी काम गर्ने अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हो । यसले ताप्लेजुङमा हिमाली संरक्षण मञ्च, पाँचथरमा दीपज्योति युवा क्लब र इलाममा उच्च पहाडी संस्थासँगको सहकार्यमा अध्ययन र संरक्षणमा सहजीकरण गरिरहेको छ । सन् २०१६ मा रेडपान्डा नेटवर्कले गरेको राष्ट्रिय सर्भेक्षणअनुसार पूर्वको ताप्लेजुङदेखि पश्चिमको मुगुसम्मका २३ जिल्लामा रेडपान्डा रहेको देखाएको छ । तर संख्या भने यकिन छैन । ‘कहिले जंगल पुगेकै दिन देखिन्छ, कहिले महिनौं कुर्दा पनि देखिँदैन,’ ग्याजोको अनुभव छ, ‘कहिले मज्जाले खिच्न पाइन्छ, कहिले देखेर पनि क्यामरामा कैद गर्न सकिँदैन ।’ गाउँघरमा पुँडे कोदोका रूपमा पनि चिनिने यसको छालाका लागि चोरी तस्करी हुने गरेको छ ।

प्रकाशित : माघ २३, २०७९ ११:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?