सूर्योदय हेर्न सन्दकपुर


पाँचथर — मौसम खुलेसँगै इलामको पर्यटकीय स्थल सन्दकपुरमा पर्यटकको चहलपहल बढेको छ । माघको मध्यपछि तुवाँलो हटेर आकाश खुलेसँगै सूर्योदयको दृश्यावलोकन गर्ने बढेका हुन् ।

‘पूर्वी मोहडाबाट चल्ने चिसो सिरेटोको वर्णन गरिसाध्य छैन, तैपनि बिहान आकाश खुलेकाले गज्जबले सूर्योदयको आनन्द लिइयो,’ झुल्केघामको दृश्यावलोकन गरेर फर्केका पाँचथर फालेलुङ–५ का शिल्प राईले भने । यो सिजनमा हिउँ नपरेकाले मौसम खुल्नासाथ आन्तरिक पर्यटकको चहलपहल बढेको छ । समुद्री सतहबाट ३ हजार ६ सय ३६ मिटरको उचाइमा रहेको यो थलो सूर्योदय दृश्यावलोकनका लागि प्रसिद्ध छ । यहाँ बंगलादेश, पञ्जाब, चीनसहित नेपाल र भारतका विभिन्न स्थानबाट घुमफिरका सौखिन आउने गर्छन् ।
कोही त खुल्ला आकाशमुनि कम्बल ओढेरै सूर्योदयको दृश्य पर्खिरहेका भेटिन्छन् । सन्दकपुरका दर्जन जति होटल भरिभराउ छन् भने छेउछाउका गोठमा पनि बस्ने ठाउँ पाउन कठिन छ । यहाँ सुविधा सम्पन्न होटल, लजसँगै सञ्चार र विद्युत्लगायत पूर्वाधारको विकास आवश्यक रहेको सन्दकपुरका होटल व्यवसायी पासाङ रिन्जी शेर्पा ठान्छन् । उनका अनुसार सन्दकपुरमा सिजनमा दिनहुँ ५ सय जनासम्म पर्यटक पुग्छन् । पर्यटकले यस क्षेत्रमा दुईदेखि पाँच दिनसम्म बिताउने गरेको उनले बताए । फालेलुङ गाउँपालिकाले इलामका दुइटै स्थानीय तहसँग समन्वय गरी सामूहिक लगानीका लागि सम्भाव्यता अध्ययन सुरु गरेको गाउँपालिका अध्यक्ष वीरविक्रम थाम्सुहाङ बताउँछन् ।
सन्दकपुर आसपासमा चारराते, महलेकोठी, फालौट, तीनसिमाना, जलजले, भैंसे पोखरी, आहाल भन्ज्याङ र गोरुवाले जस्ता थुप्रै पर्यटकीय गन्तव्य छन् । सन्दकपुरमाथिको भ्यु प्वाइन्टबाट पाँचथर, ताप्लेजुङ, इलाम, तेह्रथुम, धनकुटा, संखुवसभा, भोजपुर, ओखलढुंगा, झापा, मोरङ र सुनसरी हुँदै कोसी ब्यारेजदेखि भारतको पश्चिम बंगाल, सिक्किम, भुटानसम्मका विभिन्न स्थान सहजै देख्न सकिन्छ ।
प्रकाशित : माघ २२, २०७९ ०७:५८