यौनशोषण गरी सीमापार कटाउन खोज्दा...- कोशी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यौनशोषण गरी सीमापार कटाउन खोज्दा...

विनोद भण्डारी

विराटनगर — मजदुरी गरेर जीविका चलाउँदै आएकी झापा कन्काई नगरपालिका–४ बस्ने २७ वर्षीया एक महिला र १३ वर्षीया बालिका कामको खोजीमा गत बिहीबार प्रदेश १ को राजधानी विराटनर आइपुगे । विराटनगर आइपुगेपछि ती महिला बालिकालाई सँगै लिएर कामको खोजी गर्दै मुख्यमन्त्री कार्यालय दक्षिणको नहर छेउको मनकामना होटल पुगिन् । 

बेलुकी भइसकेको थियो, फर्कन रकम थिएन । भारतीय नागरिक सुपोल सिम्राही–१३ का ४० वर्षीय बाबु साहब र अररिया नसदगन्ज–१४ का मोहम्मद जाहाँगिरको उनीहरू माथि गिद्धे नजर पर्‍यो । उनीहरूले सोधखोज गर्न थाले । महिलाले दयनीय स्थितिको बेली विस्तार सुनाइन् । त्यसपछि ती दुई भारतीयले होटलको भन्दा राम्रो र बढी पैसा हुने जागिर लगाइदिने आश्वासन दिँदै आफूहरूसँगै हिँड्न भने ।

तर दुवैले भारतीयको प्रस्ताव तत्काल स्विकारेनन् । त्यसपछि भारतीयले ‘साँझ भइसक्यो, तिमीहरूको खाने, बस्ने टुंगो पनि छैन । हामी पनि आज विराटनगरमै होटलमा बस्छौं, तिमीहरू पनि यतै बस । पैसाको चिन्ता नगर,’ भनेर फुस्ल्याए । त्यसपछि ती दुई भारतीयले सिटी रिक्सामा हालेर विराटनगर–१५ रानीस्थित सीमावर्ती क्षेत्रको हिमाल गेस्ट हाउसमा पुर्‍याए । सुत्ने बेलामा बाबु साहबले महिलालाई आफूसँगै र युवतीलाई साथीसँग सुत्ने प्रस्ताव गरे । तर महिलाले अस्विकार्दै आफूहरू छुट्टै सुत्ने अडान राखेपछि बाबु साहबले रिसाउँदै ‘त्यसो भए तिमीहरूको होटल खर्च आफैं तिर’ भनेर खोचे थापे । होटलको खर्च तिर्न सक्ने सामर्थ्य नभएकी महिलाले भारतीयको प्रस्ताव नकार्न सकिनन् । तर उनले बालिकालाई भने छुट्टै कोठामा एक्लै सुताउन भने सफल भएकी थिइन् । उनले बालिकालाई ‘राति कसैले बहिरबाट ढोका ढकढक्याए नखोल्नू’ पनि भनिन् । पीडितका अनुसार जाहाँगिरले राति बालिका सुतेको कोठाको ढोका ढकढक्याए पनि । बालिकाले नखोलेपछि ऊ आफ्नै कोठामा सुत्यो । बाबु साहबले भने ती महिलालाई राति बाध्य पारेर पटकपटक करणी गर्‍यो ।

भोलिपल्ट बिहान सबै खर्च भारतीयले तिरेर चारै जना होटलबाट निस्के । उनीहरूले ती महिला र बालिकालाई भारतमा लगेर राम्रो जागिर लगाइदिने भन्दै नाका छिराउन खोजे । तर नाका कटाउनै लागेका बेला इलाका प्रहरी रानीका प्रहरीको केरकारमा उनीहरू पक्राउ परे । प्रहरीले दुवै भारतीयलाई मानव बेचबिखन तथा जबर्जस्ती करणीमा मुद्दा दर्ता गर्न सोमबार जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गरेको छ । अनुसन्धान अधिकारी इप्रका रानीका प्रहरी निरीक्षक महेन्द्र दर्नालका अनुसार अनुसन्धानको प्रारम्भिक चरणमा ती महिला र बालिकाको कमजोर आर्थिक अवस्थाको फाइदा उठाएर जबर्जस्ती करणी गरेको, भारत पुर्‍याएर आफैं उपयोग गर्ने र पछि कोठीमा बिक्री गर्ने नियत रहेको पाइएको छ । उनले भने, ‘यसबारेमा थप अनुसन्धान भइरहेको छ ।’

पीडितलाई सुरक्षित थलोमा राखिएको प्रहरीले जनाएको छ । होटलमा कामको खोजीमा आएका महिला र किशोरीसँग संवाद गर्ने, फकाउने र बलात्कार गर्ने शैलीले उनीहरू मानव बेचविखन नेटवर्कसँग सम्बन्ध भएको पेसेवर अपराधी हुनसक्ने प्रहरीको अनुमान छ । प्रहरीका अनुसार ती दुई भारतीयको चेलीबेटी बेचबिखन गिरोहसँग सम्बन्धको बारे पारिको समकक्षीसँगको सहयोगमा आवश्यक अनुसन्धान सुरु गरिएको छ ।

प्रकाशित : माघ २२, २०७९ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्

आफ्नै प्रदेश राजधानी पुग्न काठमाडौं ट्रान्जिट

भानुभक्त निरौला

सोलुखुम्बु — सोलुदूधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेलजाङ्बु शेर्पालाई प्रदेशस्तरीय गोष्ठीमा भाग लिन विराटनगरबाट हालै निम्तो आयो । उनी प्रदेश राजधानी पुग्नकै लागि पहिले फाप्लुबाट काठमाडौं पुगे, अनि त्यहाँबाट अर्को उडानमा विराटनगर ओर्लिएर गोष्ठीमा सहभागी भए ।

सोलुदूधकुण्ड–८ का प्रकाश मगरलाई योजना सम्झौताका लागि विराटनगरस्थित प्रदेशको मन्त्रालय जानुपर्ने भयो । उनी पनि नगर प्रमुख शेर्पाले जस्तै फाप्लुबाट काठमाडौं पुगेर अर्को उडानमार्फत विराटनगर झरे ।

सोलुखुम्बुवासीलाई आफ्नै प्रदेश राजधानी विराटनगर पुग्न सोझो हवाई उडान नहुँदा काठमाडौंदेखि फेरो मारेर जानुपर्ने बाध्यता छ । फाप्लु, स्याङबोचे, तेन्जिङ–हिलारी र कांगेली डाँडा गरी देशकै सर्वाधिक बढी विमानस्थल भए पनि सोलुखुम्बुबाट प्रदेश राजधानी विराटनगर जान भने एउटै सोझो उडान छैन । जोखिमपूर्ण र अव्यवस्थित सडकका कारण स्थलमार्ग हुँदै यात्रा गर्नु कठिन र कम प्राथमिकतामा पर्ने गर्छ । संघीयतापूर्व सबै काम काठमाडौंबाटै हुने गरेकामा तीन तहको सरकारको अवधारणा लागू भएसँगै यहाँका स्थानीयलाई आवागमनमा कठिनाइ हुन थालेको हो । ‘पहिला विराटनगर जाने काम नै पर्दैनथ्यो, आजकाल प्रदेश मन्त्रालय भएपछि त स–साना कामका लागि पनि विराटनगर जानैपर्छ,’ स्थानीय प्रकाश मगरले भने, ‘आफ्नै प्रदेशको राजधानी जान पनि विदेश नै गए जस्तो काठमाडौंको ट्रान्जिट फ्लाइट प्रयोग गर्नुपर्ने बाध्यता छ ।’

यसअघिकै प्रदेश सांसद र सरकारले फाप्लु–विराटनगरको सिधा उडानको आश्वासन दिए पनि ४ वर्षदेखि प्रदेश राजधानीमा सिधा उडान हुन सकेको छैन । तत्कालीन समयमा नेपाल वायु सेवा निगमले साताको बुधबार एउटा उडान विराटनगर गर्दै आएको थियो । यात्रु अभाव समस्या देखाउँदै उडान बन्द गरेको सरकारी वायु सेवा निगमको उडान पुनः सुरु गराउन त्यसयता ठोस पहल नहुँदा प्रदेश राजधानी जान निकै कठिन हुने गरेको छ ।

यता सडक यातायातको अवस्था पनि निकै जोखिमपूर्ण छ । विराटनगर जानका लागि बीच भागमा पर्ने घुर्मी–कटारी सडक खण्डको डरमर्दो कच्ची बाटोमा ज्यान नै धरापमा राखेर हिँड्नुपर्ने अवस्थाका कारण पनि नागरिकहरू सडकमार्गको जोखिम मोल्न तयार देखिँदैनन् । ‘वर्षौंदेखि घुर्मी–कटारी सडक खण्डको बेहाल छ, कालोपत्र उप्किएर धूले सडकमा परिणत भएको १० वर्ष बित्दा पनि उक्त सडक निर्माणमा कसैको ध्यान गएको छैन,’ स्थानीय पत्रकार सन्तोषकुमार राउतले भने ।

उनका अनुसार उक्त सडक खण्डमा सवारीसाधनमा यात्रा गरिसकेपछि खाल्डाखुल्डीमा उफ्रिँदा र विषाक्त धूलोका कारण यात्रु बिरामी पर्छन् । सोलुदूधकुण्ड नगरपालिकाभित्र पर्ने फाप्लु विमानस्थल सञ्चालनका लागि सरोकारवाला निकायमा पटकपटक पहल गरेको मेयर नाम्गेलजाङ्बु शेर्पाको भनाइ छ । ‘हामी सबै जनप्रतिनिधिको पहलमा उडान तालिका राखिएको पनि थियो, तत्कालीन अवस्थामा उडान सुचारु हुन सकेन,’ मेयर शेर्पाले भने ।

सरकारी ध्वजावाहक नेपाल वायु सेवा निगमले भने विमान अभावकै कारण फाप्लु–विराटनगर उडान राख्न नसकेको बताएको छ । उडान राख्न माग भए पनि नयाँ विमान ल्याउने प्रक्रियामा रहेकाले त्यसपछि मात्रै उडान भर्न सकिने निगमको भनाइ छ । ‘हामीसँग पर्याप्त जहाज नै छैन,’ निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले कान्तिपुरसँग भने, ‘अब थपिनासाथ उक्त रुटमा प्राथमिकताका साथ उडान राख्छौं ।’

यस क्षेत्रबाट प्रदेशसभामा निर्वाचित भई सामाजिक विकासमन्त्री बनेका बुद्धिकुमार राजभण्डारीले फाप्लु–विराटनगर र विराटनगर–लुक्ला सिधा उडानका लागि प्रयत्न भइरहेको बताए । ‘पर्यटन मन्त्रालय, पर्यटन व्यवसायी र विमान सञ्चालकहरूसँग त्रिपक्षीय संवाद भइरहेको छ,’ उनले भने, ‘अब चाँडै सिधा उडानको प्रयत्नले सार्थकता पाउँछ ।’ सोलुखुम्बुम्मा कांगेल डाँडा, फाप्लु, लुक्ला र स्याङबोचे गरी ४ वटा विमानस्थल छन् । महाकुलुङमा अर्को विमानस्थल थप गर्नका लागि जग्गा व्यवस्थापन र अध्ययनको काम अगाडि बढाइएको छ ।

प्रकाशित : माघ २२, २०७९ ०७:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×