श्रीमती हत्याको आरोपमा पक्राउ- कोशी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

श्रीमती हत्याको आरोपमा पक्राउ

अर्जुन राजवंशी

बिर्तामोड — आफ्नै पत्नीको हत्या गरी माटोमा गाडेको अवस्थामा प्रहरीले झापाको अर्जुनधारा नगरपालिकाबाट एक जनालाई पक्राउ गरेको छ ।

शनिबार साँझ अर्जुनधारा–८ मा ४५ वर्षीया कल्पना पोखरेल बस्नेतको शव गाडेको अवस्थामा प्रहरीले खनेर निकालेको हो । श्रीमान ३३ वर्षीय मनोज बस्नेतले हत्या गरेर कल्पनाको शव घरदेखि दुई सय मिटर उत्तरतर्फ खुला चौरमा खाडल खनेर गाडेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी रुगमबहादुर कुँवरले जानकारी दिए ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार बस्नेतले गत बुधबार राति साढे १० बजेतिर श्रीमतीको हत्या गरेर शव चौरमा खाडल खनेर गाडेका थिए । हत्या गरी खाडल खनेर चौरमा गाडेपछि बस्नेतले श्रीमती हराएको हल्ला फिजाएका थिए ।

चार दिनदेखि खोजी गर्ने क्रममा शंका लागेर बस्नेतलाई सोधपुछ गर्दा श्रीमतीलाई हत्या गरेर गाडेको उनले स्वीकार गरेका थिए । उदयपुरको बेलका स्थायी घर भई अर्जुनधारामा डेरा गरी बस्ने बस्नेतलाई नियन्त्रणमा लिएको डीएसपी कुँवरले बताए । उनीहरुको डेढ वर्षीय एक छोरी छन् ।

प्रकाशित : माघ २१, २०७९ १९:०७
प्रतिक्रिया
पठाउनुहोस्

पूर्वी नाकाबाट कस्तुरीको बिना तस्करी

अर्जुन राजवंशी

बिर्तामोड — वन्यजन्तुको अंग चोरी तस्करी गर्न संगठित गिरोहले पूर्वी नाका प्रयोग गर्न थालेका छन् । सशस्त्र प्रहरीले हालै संरक्षित स्तनधारी कस्तुरी मृगको बिना (नाभी) भारतबाट नेपालतर्फ तस्करी हुँदै गर्दा बरामद गरेको छ ।

गत पुस २९ गते राति साढे १२ बजे झापाको मेचीनगर नगरपालिका–४ स्थित सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट बाहुनडाँगीले कस्तुरीको १६ दशमलव ४३० ग्राम तौल भएको बिना (नाभी) बरामद गरेको थियो । महोत्तरी बर्दीबास नगरपालिका ३ गौरीबासका ४४ वर्षीय यादवराज घिमिरेले मध्यरातमा शरीरभित्र लुकाइछिपाइ ल्याएको सेतो–खैरो रौंले ढाकिएको वस्तु प्रतिबन्धित सामान हुन सक्ने आशंकामा बीओपी बाहुनडाँगीबाट मोबाइल गस्तीमा खटिएको सशस्त्र प्रहरी निरीक्षक विदुर भट्टराई नेतृत्वको टोलीले नियन्त्रणमा लिएको थियो ।

उक्त वस्तु विधिविज्ञान प्रयोगशाला खुमलटारबाट दुर्लभ कस्तुरीको बिना (नाभी) भएको प्रमाणित भएर आएको डिभिजन वन कार्यालय झापाका प्रमुख जीवन पाठकले जानकारी दिए । सशस्त्र प्रहरीको टोलीले घिमिरेको साथबाट ९ किलो ७८ ग्राम चाँदीका विभिन्न गरगहना समेत बरामद गरेको थियो ।

प्रहरीले घिमिरेको साथबाट पाउजु, बिच्छी, ब्रास्लेट, चम्चा, औंठी, चावी रिङ, कछुवा, साडी पिनलगायतका चाँदीका तयारी सामान बरामद गरेको हो । मध्यरातमा मे ५ प २२०४ नम्बरको मोटरसाइकमा भारतबाट नेपालतर्फ आउँदै गरेका घिमिरेलाई रोकी चेकजाँच गर्ने क्रममा दुर्लभ वन्यजन्तुको अंक, चाँदीका सामानसहित घिमिरेलाई नियन्त्रणमा लिइएको हो । घिमिरेलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालयमा बुझाइएको छ ।

प्रकाशित : माघ १७, २०७९ ११:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×