पालिकाले तोक्यो मूल्य

सोलुखुम्बु — हिमाली जिल्ला सोलुखुम्बुमा पहिलो पटक नेचासल्यान गाउँपालिकाले दैनिक उपभोग्य सामग्रीको बजार मूल्य तोकेको छ । मूल्यमा एकरूपता नहुँदा उपभोक्ता ठगिने तथा कालोबजारी हुने क्रम बढेपछि पालिकाको सहजीकरणमा मूल्यसूची निर्धारण गरिएको हो । 

उपभोक्ता अधिकार सुनिश्चित गर्नका लागि स्थानीय सरकार सञ्चालन ऐनले पालिका उपप्रमुखको नेतृत्वमा बजार अनुगमन समितिको व्यवस्थापन गरे मुताबिक अनुगमन गर्दा एउटै सामानको फरकफरक मूल्य देखिएपछि धेरै व्यापारीलाई कारबाहीको दायरामा ल्याइएको थियो । ‘धेरै पटक बजार अनुगमन गर्दा उपभोक्ताको गुनासो पनि मूल्यसूचीमै देखियो’ गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समिति संयोजक बिना राईले कान्तिपुरसँग भनिन्, ‘उद्योग वाणिज्य संघलगायतका सरोकारवालासँगको समन्वयमा मूल्यसूची निर्धारणको सहजीकरण गरेर अन्तिम रूप दिएका छौं ।’

जिल्लामा कुनै पनि मुख्य बजारहरूमा मूल्यसूची निर्धारण नगरिँदा पसलैपिच्छे मनपरी मूल्यमा सामान बेचिँदै थियो । ‘सरोकारवाला संघ तथा अन्य पालिकाहरूसँग समन्वय गर्दा कतै पनि मूल्यसूची तोकिएको पाइएन, हाम्रो पालिकाका उपभोक्ताहरूको अधिकार सुनिश्चित गर्नका लागि जिल्लामै पहिलो पटक मूल्य निर्धारण गरेका छौं,’ राईले भनिन् ।

उनका अनुसार उक्त मूल्यसूची पालिकाभरिका व्यवसायीहरूले अनिवार्य रूपमा कार्यान्वयन गर्नेछन् । स्थानीय सरकार सञ्चालन ऐनले हरेक स्थानीय तहले छुट्टै कार्यविधि बनाई बजार अनुगमन एवं नियमन गर्नुपर्ने व्यवस्था छ । उक्त ऐनले दिएको अधिकार प्रयोग गरी नेचासल्यानले छुट्टै बजार अनुगमन कार्यविधि बनाएर लागू गरी उपभोक्ता अधिकारको पक्षमा काम गरेको पालिका अध्यक्ष धनजन राईले बताए ।

बजार मूल्य निर्धारणपछि उपभोक्ताहरू ठगिन बन्द हुने भन्दै स्थानीयले सकारात्मक आशा व्यक्त गरेका छन् । ‘हाम्रो पालिकाले मूल्य निर्धारण गरेर उपभोक्ता अधिकारको पक्षमा सकारात्मक कदम चालेको छ,’ स्थानीय नागरिक अगुवा देवेन्द्र शर्माले भने । पालिकाभित्र नेचाबिहीबारे, सल्यान दोदी, गैरी जस्ता स्थानहरूमा व्यापारिक केन्द्र छन् । निर्धारण गरेको मूल्यसूचीअनुसार चिनीको प्रतिकिलो १००, मैदाको ९०, नुनको ३०, तेलको प्रतिलिटर २ सय ८० रुपैयाँ कायम गरिएको छ ।

प्रकाशित : माघ २१, २०७९ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?