झापामा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु- कोशी - कान्तिपुर समाचार

झापामा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु

कान्तिपुर संवाददाता

झापा — शिवसताक्षी नगरपालिका–१ धरमपुरमा दुईवटा ट्रक एकापसमा ठोकिँदा आज बिहान दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा ना३ख ८३११ नंका चालक मदन चौधरी र सोही ट्रकका सहचालक रहेका छन् । सहचालकको नाम खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले बताए ।

उनका अनुसार पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्व आउँदै गरको ना६ख ८८९५ नंको ट्रकलाई पछाडिबाट जाँदै गरेको ना३ख ८३११ नंको ट्रकले ठक्कर दिएको थियो । सोही ठक्करबाट चौधरी र सहचालकको मृत्यु भएको हो ।

प्रकाशित : माघ २०, २०७९ १०:५२
प्रतिक्रिया
पठाउनुहोस्

नेपाल–बेल्जियम संयुक्त आयोगको बैठक : जलवायु परिवर्तन र दिगो विकास लक्ष्यहरूमा चर्चा

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल र बेल्जियम दोस्रो संयुक्त आयोगको बैंठकमा जलवायु परिवर्तन र दिगो विकासका लक्ष्यहरुको बारेमा चर्चा भएको छ । दुई मुलुकबीच बिहीबार ब्रसेल्समा संयुक्त आयोगको बैठक भएको हो ।

ब्रसेल्सस्थित नेपाली दूतावासका अनुसार उक्त बैठकमा नेपालको तर्फबाट परराष्ट्र मन्त्रालयकी सहसचिव तथा युरोप–अमेरिका महाशाखाकी प्रमुख सेवा लम्साल, सोही शाखाका उपसचिव हरि ओडारी र बेल्जियमस्थित नेपाली दूतावासका उपप्रमुख सुरेश अधिकारी उपस्थित थिए । बेल्जियमको तर्फबाट एसिया–ओसियन विभागका निर्देशक राजदूत कोर्नेट डी’इलजियसको नेतृत्वमा टोली थियो ।

नेपाली दूतावासद्वारा जारी विज्ञप्ति अनुसार उक्त संयुक्त आयोगको बैठकमा जलवायु परिवर्तन र दिगो विकास लक्ष्यहरू जस्ता विश्वव्यापी मुद्दाहरूमा संलग्न हुने विषयमा पनि आदान–प्रदान भएको थियो ।

भेटका क्रममा दुई पक्षले द्विपक्षीय सम्बन्धका सबै पक्षको समीक्षा गरेको थियो । दुई देशबीचको सहकार्यलाई थप प्रवर्द्धन गर्ने विषयमा विचार आदानप्रदान गरेको दूतावासले जनाएको छ ।

नेपाली पक्षले सन् २०२६ मा देशको एलडीसी (अतिकम विकासशील मुलुक) स्थितिबाट उत्तिर्ण हुने र अहिलेको संक्रमणकालको रणनीति तयारीबारे जानकारी दिएको थियो । साथै, नेपाली पक्षले बेल्जियमलाई सहयोगका उपायहरूलाई निरन्तरता दिन आग्रह गरेको थियो ।

दुवै पक्षले व्यापार, पर्यटन र लगानीका क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने र जनस्तरमा सम्पर्क प्रवर्द्धन गर्ने विभिन्न उपायबारे छलफल गरेका गरेका छन् । आपसी हितका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयमा पनि छलफल भएको दूतावासले जनाएको छ ।

प्रकाशित : माघ २०, २०७९ १०:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×