दानपेटिकाबाट पैसा चोरी गरेको आरोपमा एक जना पक्राउ


खोटाङ — हलेसी मन्दिरमा रहेको दानपेटिका फुटाएर पैसा चोरी गर्ने एक जना पक्राउ परेका छन् । हलेसी गुफाभित्रको दानपेटिका फुटाएर आइतबार मध्यराति चोरी गरेको आरोपमा इलाम सातखरा नगरपालिका ८ का २४ वर्षीय रुपेश राई सोमबार पक्राउ परेका हुन् ।

राईलाई सुमोमा भाग्दै गरेको अवस्थामा च्यास्मिटारस्थित प्रहरी चेक पोस्टबाट सोमबार बिहान ११ बजेतिर पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक मञ्जिल मुकारुङले बताए । पद्मसम्भवले तपस्या गरेको हलेसी गुफा र पार्वतीथानमा रहेको दानपेटिका फुटाई चोरी गरेको जानकारीपछि सीटीटीभी फुटेज हेरेपछि चोर्ने व्यक्तिको पहिचान भएको प्रहरीले जनाएको छ ।
राईको साथबाट चार हजार ६ सय ९० नेपाली रूपैयाँ र १ हजार ८ सय ४५ भारतीय रूपैयाँ बरामत गरिएको डीएसपी मुकारुङले बताए । पक्राउपछि राईलाई जिल्ला प्रहरी कार्यालय दिक्तेलको हिरासतमा राखेर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
प्रकाशित : माघ १६, २०७९ १७:५४