कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

गायक खरेलले पाउने पारिश्रमिक घाइतेको उपचारमा खर्च गरिने 

धनकुटा — गायक प्रमोद खरेलले घनकुटा महोत्सवमा आयोजकले आफूलाई उपलब्ध गराउने भनिएको रकम नलिने जनाएका छन् । आफ्नो प्रस्तुति हुनु केही समयअघि भएको घटनाबाट आफू स्तब्ध भएको जनाउँदै खरेलले घटनामा घाइतेको उपचारका लागि पारिश्रमिक उपलब्ध गराएको बताएका हुन् । आफ्नो प्रस्तुति हेर्न आउने दर्शक घटनामा परी घाइते हुनुले आफूलाई दुखित बनाएको समेत उनको भनाइ छ । 

गायक खरेलले पाउने पारिश्रमिक घाइतेको उपचारमा खर्च गरिने 

'उत्साह बोकेर धनकुटा गएको थिएँ,' उनले भने, 'घटनाले मलाई असाध्यै दुखित तुल्याएको छ ।' खरेल आफ्नो प्रस्तुतिको लागि महोत्सवस्थलबाट नजिकै रहेको होटल मुर्चुङ्गाबाट बाहिर निस्कँदै गर्दा घटना भएको थियो । उनको प्रस्तुति सुन्न सयौ दर्शक महोत्सवस्थल पुगेका थिए । उद्योग वाणिज्य संघले घटनाबारे जानकारी दिन आइतबार आयोजित पत्रकार भेलामा टेलिफोनमार्फत जनाएका हुन् ।

सांगीतिक कार्यक्रम प्रस्तुत गर्न नपाए पनि घाइतेको उपचारमा आफ्नो दायित्व भएकोले उनले बताए । घाइते बालबालिकाप्रति लक्षित गरी रकम उपलब्ध गराउन आयोजकलाई अनुरोध गरेको उनले बताए । यस्तै, खरेलले उपचाररत घाइतेहरुसँग अस्पतालमा भेटघाट गर्ने समेत जनाए । पारिश्रमिकको रकम भने खुलाउन चाहेनन् ।

यस्तै, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्र राईको पहलमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत बिरामीको निःशुल्क उपचार गर्ने व्यवस्था गरिएको आयोजकले जनाएको छ । औषधिबाहेक सम्पूर्ण उपचार निःशुल्क मिलाइएको संघका अध्यक्ष विजयसन्तोषी राईले बताए ।

मनोरञ्जनात्मक कार्यक्रममा रोक

धनकुटामा सञ्चालन भइरहेको महोत्सवस्थलमा शनिबार राति भएको घटनापछि त्यहाँ आयोजना हुने भनिएका सम्पूर्ण मनोरञ्जनात्मक कार्यक्रममा रोक लगाइएको छ । घटनाबारे आइतबार जिल्ला सुरक्षा समिति बैठक बसेको छ । बैठकले सबै प्रकारको मनोरञ्जनात्मक कार्य बन्द गराउने निर्णय गरेको छ ।

महोत्सवस्थलमा गरिँदै आएको सांस्कृतिक कार्यक्रम, विभिन्न खेल र मनोरञ्जनात्मक कार्यक्रम सञ्चालनमा रोक लगाएको निमित्त प्रमुख जिल्ला अधिकारी ममता अधिकारीले बताइन् । यस्तै, अपराह्न ५ बजेसम्म मात्र स्टल तथा अन्य व्यापारिक गतिविधि सञ्चालन गरिने निर्णय गरिएको जनाइएको छ । यसअघिका प्रमुख जिल्ला अधिकारी युवराज कटेलको यसै साता सरुवा भएर गएपछि प्रशासकीय अधिकृत ममता अधिकारी निमित्त प्रजिअको रुपमा छिन् । नयाँ प्रजिअ लिलाकुमारी केसी पाण्डे भने जिल्ला आइसकेकी छैनन् ।

धनकुटा-५ स्थित तल्लो टुँडिखेलमा उद्योग वाणिज्य संघले आयोजना गरेको एभोकाडो तथा पाँचौ धनकुटा महोत्सवमा गायक प्रमोद खरेलको सांगीतिक प्रस्तुति हुनुअघि करिब साढे ८ बजे राति उक्त घटना भएको हो । ३० जना घाइते भएका छन् । जसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

गत माघ ६ देखि सुरु गरिएको महोत्सव १६ गतेसम्म सञ्चालनमा हुने थियो । आयोजकले सोमबार महोत्सवको औपचारिकरुपमा समापन गर्ने जनाएको छ ।

प्रकाशित : माघ १५, २०७९ २१:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?