धनकुटा महोत्सवस्थलमा ठेलमठेल हुँदा ११ घाइते, ४ जनाको अवस्था गम्भीर- कोशी - कान्तिपुर समाचार

धनकुटा महोत्सवस्थलमा ठेलमठेल हुँदा ११ घाइते, ४ जनाको अवस्था गम्भीर

रमेशचन्द्र अधिकारी

धनकुटा — धनकुटा महोत्सवस्थलमा अनियन्त्रित भीडका कारण शनिबार बेलुकी साढे ८ बजे ठेलमठेल हुँदा ११ जना घाइते भएका छन् । धनकुटा ५ तल्लो टुँडिखेलस्थित महोत्सवस्थलमा क्षमताभन्दा बढी दर्शक भएपछि घटना भएको प्रहरीले जनाएको छ ।

घटनामा गम्भीर घाइते भएका ४ जनाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ।

गत माघ ६ देखि आयोजित महोत्सवको नवौ दिन शनिबार साँझ गायक प्रमोद खरेलको सांगीतिक प्रस्तुति सुरु हुन केही क्षणअघि घटना भएको हो । मुस्किलले ३ हजार क्षमता रहेको स्थानमा दोब्बर दर्शकको भीड रहेको थियो ।

दुई तर्फको महोत्सवस्थलको गेट बन्द गरिएपछि बाहिर उल्लेख्य भीड बढेको थियो । अत्यधिक भीड रहेको बेला एकैपटक बन्द गरिएको गेटको ढोका खोल्दा ठेलमठेल हुँदा घाइते भएको जनाइएको छ । उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सव घटनापछि तत्काल सञ्चालनमा रोक लगाइएको निमित्त प्रमुख जिल्ला अधिकारी ममता अधिकारीले बताइन् ।

प्रकाशित : माघ १४, २०७९ २१:२१
प्रतिक्रिया
पठाउनुहोस्

धनकुटामा यातायात कार्यालयका प्रमुखमाथि दुर्व्यवहार

रमेशचन्द्र अधिकारी

धनकुटा — जिल्ला यातायात व्यवस्था सेवा कार्यालयका प्रमुख बाबुराम लुइँटेललाई बुधबार एक समूहले दुर्व्यवहार गरेको छ । घूस लिएको आरोपमा उनलाई नेकपा (बहुमत) का कार्यकर्ताले बुधबार कार्यकक्षमै कालोमोसो दलेका छन् ।

तर घटनाबारे कार्यालय प्रमुख लुइँटेलले आफू कार्य कक्ष बाहिर रहेको बेला दुर्व्यवहार गरिएको बताए । 'कार्य कक्ष बाहिर प्यासेजमा रहेको बेला मलाई कालो मोसो दलियो,' उनले भने, 'मैले अतिरिक्त रकम लिएको छैन, तर दुर्व्यवहार गरियो ।'

पार्टीले विज्ञप्ति जारी गर्दै कार्यालयका कर्मचारी र विचौलिया प्रयोग गर्दै सवारी चालक अनुमति पत्र उपलब्ध गराउँदा १० देखि १८ हजार रुपैयाँ अतिरिक्त रकम लिएकोले चेतावनीका लागि सांकेतिक कारबाही गरिएको जनाएको छ । घटनामा संलग्नको खोजी भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारीले बताए ।

प्रकाशित : माघ ११, २०७९ २२:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×