भीरमा अलपत्र महिलाको उद्धार- कोशी - कान्तिपुर समाचार

भीरमा अलपत्र महिलाको उद्धार

आनन्द गौतम

ताप्लेजुङ — भीरमा अलपत्र परेकी महिलाको शुक्रबार नेपाली सेनाको टोलीले डोरीको सहयोगले उद्धार गरेको छ । मेरिङदेन गाउँपालिका ४ लिङतेप दिङ्लाकी ४० वर्षीय सन्तोष माया लिम्बूको उद्धार गरेको हो । 

गाउँपालिका अध्यक्ष डम्बर हाङगामका अनुसार बिहीबार बिहान घरबाट हिँडेकी लिम्बू युनाइटेड हाइड्रोपावरमाथिको भीरमा शुक्रबार दिउँसो अलपत्र अवस्थामा देखिएकी थिइन् । सडकदेखि ५० मिटरमाथिको भीरमा देखिएकी उनी तलमाथि कतै जान नसक्ने अवस्थामा अलपत्र परेपछि हाइड्रो पावरका गाडी चालकले गाउँपालिकामा खबर गरेका थिए ।

अध्यक्ष हाङगामसहितको टोली पुगे पनि स्थानीयले पहरोमा चढेर उद्धार गर्न सक्ने अवस्था नभएपछि प्रमुख जिल्ला अधिकारी महेशकुमार पोख्रेलमार्फत नेपाली सेना र प्रहरीको सहयोग मागिएको थियो । हाइड्रोपावरबाट आएको सेना र प्रहरीको टोलीले रुखमा डोरी बाँधेर उनलाई उद्धार गरेको र घरमा पुर्‍याएर परिवारको जिम्मा लगाएको हाङगामले बताए । पारिवारिक विवादका कारण उनी जंगलमा गएको र बिचमा पुगेपछि कतै जान नसक्ने अवस्थामा पुगेको पाइएको हाङगामले बताए ।

ताप्लेजुङको मेरिङदेन गाउँपालिका ४ लिङतेपमा बिहीबार घरबाट हिँडेकी ४० वर्षीया महिला । तस्बिर सौजन्य : डम्बर हाङगाम्गाम

प्रकाशित : माघ १३, २०७९ २०:०८
प्रतिक्रिया
पठाउनुहोस्

बेचबिखनको जोखिममा परेका बालबालिकालाई मनोविमर्श केन्द्र स्थापना

रुपा गहतराज

नेपालगन्ज — जोखिमपूर्ण यात्रामा रहेका तथा बेचबिखनको जोखिममा परेका बालबालिकालाई परामर्श दिन बाँकेमा दुई ठाउँमा बालमैत्री मनोविमर्श केन्द्र स्थापना गरिएको छ । मानव बेचबिखनको उच्च जोखिममा रहेको बाँकेमा पहिलोपल्ट यस्तो परामर्श केन्द्र स्थापना गरीएको हो  । 

मानव बेचबिखनविरुद्ध काम गर्ने शक्ति समूहले नेपालगन्जको जमुनाहा नाका बालमैत्री मनोविमर्श केन्द्र र जिल्ला प्रहरी कार्यालय, बाँकेको परिसरमा बालमैत्री निगरानी कक्ष स्थापना गरेको हो ।

‘बेचबिखनको जोखिममा परेका बालबालिकालाई काउन्सलिङ गर्ने‚ उनीहरूको भावना बुझ्ने र उनीहरूलाई प्रहरीको समन्वयमा अभिभावकको जिम्मा लगाउने काम गर्छौं‚’ शक्ति समूह नेपालगन्जकी प्रमुख निर्मला पौडेलले भनिन् ।

१६ लाख रुपैयाँ खर्च गरेर इलाका प्रहरी कार्यालय, जमुनाहा र जिल्ला प्रहरी कार्यालय, नेपालगन्जको परिसरमा बालमैत्री मनोविमर्श केन्द्र निर्माण गरिएको हो ।

बालमैत्री परामर्श केन्द्र तथा बाल निगरानी कक्षको शुक्रबार बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्य र शक्ति समूहकी अध्यक्ष चरिमाया तामाङले संयुक्त रुपमा उद्घाटन गरे । सो अवसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी आचार्यले मानव बेचबिखन रोकथामका लागि केन्द्रको स्थापनाले मानव बेचबिखनको जोखिमलाई नियन्त्रण गर्न सघाउ पुर्‍याउने बताए ।

प्रकाशित : माघ १३, २०७९ १९:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×