निजामती सेवा ऐन दुई महिनाभित्र संसद्‌मा टेबल गर्छु : मन्त्री मोदी- कोशी - कान्तिपुर समाचार

निजामती सेवा ऐन दुई महिनाभित्र संसद्‌मा टेबल गर्छु : मन्त्री मोदी

कान्तिपुर संवाददाता

मोरङ — संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले निजमाती सेवा ऐन चालु अधिवेशनमा नै दुई महिनाभित्र संसद्‌मा टेबल गर्ने बताएका छन् । प्रेस सेन्टर मोरङले शुक्रबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री मोदीले सरोकारवालासँग छलफल भइरहेकाले चाँडै सबैको सहमतिमा कर्मचारीलाई न्याय हुने गरी निजामती सेवा ऐन संसद्‌मा टेबल गर्ने बताएका हुन् ।

‘नयाँ सरकारले २० प्रतिशत कर्मचारी भर्ना गरेर काम गर्न पाउने व्यवस्थाबारे समेत बहस र छलफल भइरहेको छ,’ उनले भने, ‘अहिलेको प्रविधि युगमा यति धेरै कर्मचारी आवश्यक भए/नभएको बारेमा समेत अध्ययन गरिरहेको छु ।’

कर्मचारीहरुलाई आ–आफ्ना दरबन्दी भएको ठाउँमा हाजिर भएर काम गर्न निर्देशन दिएको मन्त्री मोदीले बताए । ‘काठमाडौंमा नै बस्ने कर्मचारीको प्रवृत्ति रहेकाले त्यस्ता बरन्डामा बस्ने कर्मचारीहरुको सूची बनाउँदै छु,’ उनले भने, ‘मन्त्रालयमा वर्षौंदेखि एउटै शाखा एकै जना कर्मचारी बसिरहेको अवस्थामा परिवर्तन ल्याउँछु ।’ मन्त्रालयमा कार्यरत कर्मचारीहरूलाई दुई वर्षमा शाखा परिवर्तन, ३ वर्षमा सरुवा, ४ वर्षमा पालिकामा काम गर्न जानुपर्ने मोदीको भनाइ थियो ।

कर्मचारीतन्त्रमा हालसम्म देखिएका बेथिति अन्त्य गर्ने उनले प्रतिबद्धता जनाए । ‘सांसद तथा नेताहरूले आ-आफ्ना क्षेत्रका पालिकामा नाम तोकेरै प्रमुख प्रशासकीय अधिकृत पठाइदिन सिफारिस गर्न थालेका छन्,’ उनले भने, ‘पावर र पैरवीका आधारमा कुनै पनि कर्मचारीको सरुवा हुँदैन र कानुनअनुसार कर्मचारीले तोकिएको ठाउँमा तोकिएको अवधिसम्म इमानदार भएर सेवा प्रवाह गर्नुपर्छ ।’ सुशासन कायम गरेर जनतामा आशा जगाउने गरी सबैले आ–आफ्नो जिम्मेवारी इमानदारितापूर्वक निर्वाह गर्न उनले निर्देशन दिए ।

प्रकाशित : माघ १३, २०७९ १५:१०
प्रतिक्रिया
पठाउनुहोस्

नगरस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु 

ज्योति श्रेष्ठ

काभ्रे — काभ्रेको बनेपामा नगरस्तरीय चौथौ अन्तरविद्यालय राष्ट्रपति रनिङ सिल्ड  प्रतियोगिता सुरु भएको छ । बनेपा नगरपालिकाको आयोजनामा सुरु भएको नगरस्तरीय चौथौ अन्तर विद्यालय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उद्घाटन शुक्रबार नगर प्रमुख शान्ति रत्न शाक्यले गरेका हुन् । 

प्रतियोगितामा नगरका संस्थागत र सामुदायिक गरी १४ वटा विद्यालय सहभागी रहेको नगरपालिकाका शिक्षा शाखा प्रमुख शिवराज त्रिपाठीले जानकारी दिए । उनका अनुसार, प्रतियोगिता १३, १४, १५ र १६ गते बनेपास्थित लायकु मञ्चमा सञ्चालन हुनेछन् ।

प्रतियोगितामा एथ्लेटिक, कबड्डी र भलिबललगायतका खेल हुने उनले जानकारी दिए । प्रतियोगितामा विजयी हुनेले रनिङ सिल्ड, ट्रफी र प्रमाणपत्र पाउने शिक्षा शाखा प्रमुख हुमागाईंले बताए ।

प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख शाक्यले खेलकुदले विद्यार्थीलाई अनुशासित बनाउनुको साथै शारीरिक रूपमा स्वास्थ्य बनाउन पनि मद्दत गर्ने भएकाले विद्यार्थी जीवनमा खेलकुदको धेरै महत्त्व भएको बताए ।

त्यस्तै कार्यक्रममा नगरपालिकाकी उपप्रमुख बिमला सापकोटा दाहालले खेलकुदले विद्यार्थी जीवनमा ऊर्जा थप्ने काम गर्ने बताइन् । विद्यार्थीले शैक्षिक स्तरलाई सुधार गर्दै खेलकुदका विभिन्न क्षेत्रमा पनि सहभागी हुनका लागि नगरपालिकाका प्रमुख प्रशासकप्य अधिकृत शिवप्रसाद हुमागाईंले बताए ।

प्रकाशित : माघ १३, २०७९ १४:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×