बीपी प्रतिष्ठानका उपकुलपति निलम्बन- कोशी - कान्तिपुर समाचार

बीपी प्रतिष्ठानका उपकुलपति निलम्बन

प्रतिष्ठान सुधार्न उच्चस्तरीय कार्यदलले दिएका प्रतिवेदनहरू प्रधानमन्त्री कार्यालयमा थन्किए
प्रदीप मेन्याङ्बो

सुनसरी — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीविरुद्ध माघ ९ मा विशेष अदालतमा आरोप पत्र दायर गरेपछि उनी निलम्बनमा परेका छन् । आयोगले ‘नपाएको ओहदा पाएँ भनी पदीय मर्यादाविपरीत कार्य गरेको,’ भन्ने उजुरीका आधारमा मुद्दा अघि बढाएको हो ।

‘विशेष अदालतमा आरोप पत्र दायर भएपछि डा. गिरी स्वतः निलम्बनमा परेका छन्,’ अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले भने । बैकुण्ठ अर्याल कार्यदलले बुझाएको प्रतिवेदनका आधारमा नभएर उजुरी परेको आधारमा मुद्दा दायर गरेको उनको भनाइ छ । प्रधानमन्त्री कार्यालयका सचिव अर्यालको संयोजकत्वमा गठित उच्चस्तरीय कार्यदलले २०७८ साउन १८ मा प्रतिवेदन देउवा सरकारलाई बुझाएको थियो । उक्त प्रतिवेदन बुझाएको १७ महिनामा आरोप दायर भएको हो । उतिबेलै अर्याल कार्यदलले प्रतिष्ठानमा भएका विभिन्न ३३ वटा जटिल समस्या पहिचान गरेर समाधानका लागि सुझाव दिएको थियो ।

प्रतिवेदनले ‘उपकुलपतिको प्राध्यापक उपाधि पुष्टि हुने आधिकारिक कागजात उपलब्ध हुन नसकेकाले निजलाई ७ दिनभित्र प्रमाण पेस गर्न नसकेमा आफूलाई प्राध्यापक दाबी नगर्न निर्देशन दिने र प्रचलित कानुनअनुसार अन्य प्रक्रिया अगाडि बढाउने’ निर्देशन दिएको थियो । कार्यदलले कार्यान्वयन समय सीमा २०७८ असोजसम्म तोकिदिएको थियो । त्यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा प्रतिष्ठान सञ्चालक परिषद् (सिनेट) ले छलफल गरेर कारबाही प्रक्रिया अगाडि बढाउनुपर्नेसमेत कार्यदलको प्रतिवेदनमा स्पष्ट उल्लेख गरिएको थियो ।

प्रतिष्ठान सुधार्न अर्यालको भन्दा अगाडि केदारबहादुर अधिकारीको संयोजकत्वमा पनि कार्यदल गठन गरेर बृहत् समस्या समाधान प्रतिवेदन तयार गरेर सरकारलाई बुझाएको थियो । मेडिकल काउन्सिल, चिकित्सा शिक्षा आयोग, महालेखा परीक्षकको कार्यालय र प्रतिष्ठानभित्रै आन्तरिक रूपमा ४ कार्यदलले विभिन्न प्रतिवेदनहरू तयार गरेर सरकारलाई दिएका थिए ।

तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकालको सिफारिसमा त्यो बेलाका प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ चैत २७ मा डा. गिरीलाई प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गरेको थियो । उच्चस्तरीय कार्यदलले सरकारलाई प्रतिष्ठानको समस्या समाधानका लागि किटानका साथ उपायसहित बुझाएको प्रतिवेदन भने प्रम कार्यालय वा मन्त्रिपरिषद् कार्यालयमा बेवारिसे छ । ‘न्याय ढिलो दिँदा पनि अरू जटिलताहरू जन्मिन्छन्,’ प्रतिष्ठानभित्र हुने राजनीतिक नियुक्ति बन्द गरेर योग्यता, दक्षताका आधारमा गर्नुपर्छ भन्ने पक्षमा आन्दोलन गर्दै आएका डा. विष्णु पोखरेलले भने, ‘अहिले अख्तियारले उपकुलपति गिरीको विरुद्ध आरोप पत्र त दायर गर्‍यो तर यो १७ महिनामा धेरै जटिलताहरू थपिएका छन् ।’

हालैमात्र डा. गिरीकै सिफारिसमा सहकुलपति तथा स्वास्थ्यमन्त्री भवानी खापुङले शिक्षाध्यक्षमा नियुक्त गरेका प्राडा सञ्जीव शर्मा, रजिस्ट्रार सूर्य संग्रौला प्रतिष्ठानमा छन् । संयोग कस्तो छ भने १७ महिनाअघिको अर्यालको कार्यदल सदस्यमा प्रतिष्ठानको सञ्चालक परिषद्का सदस्यका तर्फबाट प्राडा शर्मा नै थिए ।

डा. गिरीलाई प्रोफेसर भनी अनधिकृत रूपमा नियुक्त गरेको पत्र दिने डा. ज्ञानेन्द्रमानसिंह कार्कीलाई पनि मतियारको भूमिका रहेको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको छ । गिरीको पदावधि सकिन २६ महिना बाँकी थियो । यसअघि भ्रष्टाचारमा मुछिएका उपकुलपति प्राडा राजकुमार रौनियारको मुद्दा उनको कार्यकाल सकिएको एक महिनापछि सर्वोच्चबाट सफाइ पाएका थिए । प्रतिष्ठानमा अर्बौंको कारोबार, भौतिक संरचना निर्माण, मेडिकल उपकरण र औषधि खरिद हुने भएकाले पदाधिकारी नियुक्तिमा करोडौं रुपैयाँको चलखेल हुने गरेको आशंका प्रतिष्ठानकै प्राध्यापक चिकित्सकहरूले गर्दै आएका छन् ।

प्रकाशित : माघ १०, २०७९ २२:०२
प्रतिक्रिया
पठाउनुहोस्

भीड व्यवस्थापन गर्न नसक्दा बर्जु महोत्सवमा झडप

खेसरीलालका फ्यान भए अराजक, गतवर्ष पनि उनै आउँदा भएको थियो झडप
प्रदीप मेन्याङ्बो

सुनसरी — पारिवारिक माहोलमा आपसमा रमाइलो साटासाट गनुपर्नेमा मंगलबार भने बर्जु महोत्सवमा झडप भएको छ । मोरङको विराटनगरसँग जोडिएको सुनसरीको दक्षिणी गाउँपालिका बर्जुमा गरिएको महोत्सवमा लगातार दोस्रो वर्ष पनि झडप हुँदा त्यहाँको पर्यावरणीय पर्यटनमा नकारात्मक असर पर्ने देखिएको छ ।

मंगलबार दिउँसो बर्जुको चिमडीमा भारतीय भोजपुरी गायक अभिनेता खेसरीलाल यादव आएका बेला प्रहरी एवं स्थानीयबीच झडप भयो । संयोग कस्तो रह्यो भने, गत वर्ष सञ्चालित बर्जु महोत्सवमा पनि उनकै कारण यस्तै हिंसात्मक घटना भएको थियो । त्यस बेला उनका तीनवटा महँगा गाडीहरु जलाइएका थिए । यसपटक गत वर्ष जतिको धनमालको क्षति नभए पनि सर्वसाधारण एवं प्रहरी घाइते भए ।

अघिल्लो वर्षको माघ ४ मा आयोजकले खेसरीलाल ल्यान नसकेको भन्दै फ्यानहरुले ढुंगामुढा र आगजनी गरेका थिए । यस पटक माघ ३ मा भने उनलाई ल्याएपछि राम्ररी देख्न नपाएको बहानामा झडप सिर्जना भयो । बर्जु सामुदायिक विकास केन्द्रले बर्जु ताल र चरा पर्यटनका लागि २२ पुसदेखि माघ ३ सम्म उक्त महोत्सव आयोजना गरेको थियो ।

महोत्वस आयोजक केन्द्रका अध्यक्ष श्रवण चौधरीले भने, ‘बर्जु तालको संरक्षण गर्न र त्यहाँ आउने पाहुना चरा हेर्न पर्यटक आकर्षित गर्न बर्सेनि महोत्सव आयोजना गर्दै आएका छौं । यसपटक स्थानीयमाझ लोकप्रिय खेसरीलाललाई ल्याएका थियौं तर भीड यति धेरै भयो कि सम्हाल्नै सकिएन ।’ उनका अनुसार १२ बिघा जग्गामा दैनिक ३० हजार रुपैयाँ शुल्क तिरेर टिनको घेराबारा हालिएको थियो । खेसरीलाललाई माघ ३ मा २ घण्टा प्रस्तुति दिनका लागि भनेर अग्रिम सम्झौता गर्दै १५ लाख रुपैयाँ दिइसकेको थियो ।

उनले भने, ‘सुरुमा खेसरीलालको प्रस्तुति हेर्नका लागि ५ सय रुपैयाँ टिकट तोकेका थियौं । तर महँगो भयो भनेर केही घटायौं । उता २० औं हजारको भीड थेग्न नसकेपछि ७५ प्रतिशत दर्शकलाई त्यतिकै प्रवेश दियौं ।’ सुनसरी प्रहरीका डीएसपी राजकुमार राईले बर्जुमा बर्सेनि झडप हुनुमा मादक पदार्थ सेवन, अराजक भीड, आयोजक पक्षबाट भीड व्यवस्थापनको कमजोर तयारी र खेसरीलालको प्रशंसक वा चाहनेहरु धेरै हुनु मुख्य कारण रहेको बताए ।

उनले भने, ‘खेसरीलाल आउँदा यति धेरै भीड जम्मा हुन्छ भन्ने पूर्वअनुमान गर्न सकिएन । २ सय जना प्रहरी थियौं तर भीड करिब २५ हजारका थियो । टिकट काटेर महोत्सव स्थलमा प्रवेश गर्न चाहनेहरु लाइनमा रहँदा पनि समय लाग्ने भएकाले अराजक भीडमा एउटाले ढुंगामुढा गर्दा अरुले पनि त्यसै गर्न थालेपछि लाठीचार्ज गर्नुपरेको थियो ।’

डीएसपी राईका अनुसार आयोजकले भीडको अनुमान गरेर साताअघि नै अग्रिम टिकट बिक्री गरेको भए प्रवेशद्वारमा भीड जम्मा हुँदैन थियो । सहज रूपमा दर्शकले प्रवेश गर्न पाउँथे । तर खेसरीलाल आएकै दिन टिकट बिक्री गर्दा भीड व्यवस्थित हुन नसकेको र उनलाई हेर्न नपाएपछि झडपको स्थिति उत्पन्न भएको उनले बताए ।

उनले सीमावर्ती क्षेत्र भएकाले भारतीय दर्शकहरु पनि अत्यधिक आएको र बिहानैदेखि मादक पदार्थ सेवन गर्नेहरु भएकाले अराजक स्थिति उत्पन्न भएको बताए । उनले भने, ‘भीडको मनोविज्ञान अराजक त हुने नै भयो, एउटाले सुरु गरेपछि अरु पनि तोडफोडमा उत्रने, ढुंगामुढा गर्ने हुन्छ, बर्जुमा यही मनोविज्ञान लागू भएको देखियो ।’

झडपमा तीन प्रहरीहरु घाइते भएको राईले बताए । मोरङको धनपाल गाउँपालिकाका ३५ वर्षीय सीताराम मेहता घाइते भएर हाल विराटनगरको नोबल अस्पतालमा उपचार गराइरहेका छन् । प्रहरीका अनुसार झडपमा उत्रेको आरोपमा बर्जु–६ बस्ने १८ वर्षीय सुशील चौधरीलाई पक्राउ गरी हिरासतमा राखिएको छ । महोत्सवमा भएको झडपबारे प्रतिक्रिया लिन खोज्दा गाउँपालिकाका अध्यक्ष जीवछ राय उपलब्ध हुन सकेनन् । उपाध्यक्ष नितुकुमारी चौधरीले प्रतिक्रिया दिन चाहिनन् । गत वर्ष यतिखेर यस्तै घटना हुँदा सुनसरी प्रशासन कार्यालयको नेतृत्वमा गठित समितिले आयोजकलाई २१ लाख क्षतिपूर्ति बेहोर्न लगाउनुका साथै पुनः यस्तो घटना हुन नदिन सावधानी अपनाउन भनिएको थियो ।

बर्जुताल १ सय ५२ बिघा क्षेत्रफलमा फैलिएको छ । कोसीटप्पु वन्यजन्तु आरक्ष (सिमसार–रामसार) पछि हिउँदमा रुसको उत्तरी साइबेरियाबाट चिसो छल्न आउने पाहुना चराको मुख्य बासस्थान बनेको बर्जुतालमा सञ्चालन हुने महोत्वसको बन्दोबस्तीमा ध्यान दिनुपर्ने देखिएको स्थानीय बुद्धिजीवी सञ्जीव मेहताले बताए ।

को हुन् खेसरीलाल यादव ?

करिब तीन दर्जन भोजपुरी फिल्ममा अभिनय गरेका खेसरीलाल गायक र कुशल नृत्यकार हुन् । भारत बिहारको बक्सरमा जन्मेका २८ वर्षीय खेसरीलालले सन् २०१२ मा ‘साजन ससुराल से’ बाट रातारात स्टारडम कमाए । भोजपुरी भाषाको फिल्म जगतमा स्थापित खेसरीलालले दर्जन बढी एल्बम पनि निकालेका छन् । बिहार, झारखण्ड र नेपालको दक्षिणी सीमावर्ती क्षेत्रमा उनको फ्यान अत्यधिक रहेको छ । दक्षिणी भारतका अभिनेता रजनीकान्त, कमल हसन, अल्लु अर्जुन, महेशबाबु, रवि तेजाका फ्यान अत्यधिक छन्, त्यसरी नै खेसरीलालका फ्यान पनि सीमावर्ती क्षेत्रमा अचाक्ली छन् ।

प्रकाशित : माघ ४, २०७९ २२:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×