बचत फिर्ता माग गर्दै सहकारीका बचतकर्ताहरू आन्दोलित- कोशी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बचत फिर्ता माग गर्दै सहकारीका बचतकर्ताहरू आन्दोलित

डम्बरसिं राई

खोटाङ — लालुपाते बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताहरुले आफूले बचत गरेको रकम फिर्ता गर्नुपर्ने माग गर्दै सोमबार दिक्तेल बजारमा प्रदर्शन गरेका छन् । सञ्चालक समितिको लापर्बाहीले सहकारी डुबाएको भन्दै उनीहरूले विरोध प्रदर्शन गरेका हुन् ।


४ हजार ५ सय बचतकर्ताको करिब सात करोड रुपैयाँ रकम डुबेकाले आन्दोलन गर्नुपरेको बचतकर्ता धनिराम राईले बताए । बचतकर्ताहरुले जम्मा गरेको रकमबाट सहकारीका तत्कालीन अध्यक्ष स्व. अनिल जोशी र प्रबन्धक रुकु जोशीले अपचलन गरेकाले डुबेको बचतकर्ताहरुको भनाइ छ ।

अध्यक्ष जोशीले आफ्नै आफन्तको नाममा रहेको खातामा रकम जम्मा गरेको पाइएको र उक्त रकम फिर्ता गर्न पहल सुरु गरिएको सहकारीका निमित्त व्यवस्थापक सुमना राईले बताइन् । अनिलको गत २०७८ वैशाख १५ गते कोरोनाले निधन भइसकेको छ ।

उनका अनुसार जोशीकी बुहारी रविना श्रेष्ठ जोशीको ज्योति विकास बैंकमा रहेको खातामा २ करोड ४१ लाख ५७ हजार ५ सय ५८ रूपैयाँ, भान्जा दीपेन्द्र श्रेष्ठको सेन्चुरी कमर्सियल र ज्योति विकास बैंकमा रहेको खातामा ४३ लाख १५ हजार ७ सय ५०, भाइ सन्तोष जोशीको सेन्चुरी कमर्सियल बैंकमा रहेको खातामा ८५ हजार, भाइ ईश्वर जोशीको राष्ट्रिय वाणिज्य बैंकमा रहेको खातामा १९ लाख ९५ हजार ३ सय ५० लगायत अन्य विभिन्न नातेदारको खातामा गरी ३ करोड ६१ लाख ६ हजार ६ सय ५८ रुपैयाँ जम्मा गरेको देखिन्छ । उक्त रकम किन जम्मा गरियो भन्ने खुल्न नसकेको राईले बताइन् ।

यसबाहेक साविक महादेवस्थान गाविस–४ हाल हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान कित्ता नम्बर ८९३ को तीन रोपनी दुई आना र कित्ता नम्बर ८९४ को तीन रोपनी, एक पैसा, एक दाम गरी ६ रोपनी तीन आना एक पैसा एक दाम जग्गासमेत आफ्नै सहोदर भाइ सुनिल जोशीको नाममा पास गरेको पाइएको सहकारीका तत्कालीन सचिव मनोज राईले बताए । यसरी अनियमित तवरले गरिएका क्रियाकलापका कारण सहकारी डुबेकाले जोशीको परिवारलाई माघ ५ गते ठगी मुद्दा दायर गरिएको छ ।

उक्त निवेदनमा जोशीका भाइ सुनिल, बुहारी रविना, बुवा हरिप्रसाद, तत्कालीन सहकारीकी प्रबन्धक रुकु जोशी लगायत अन्य आफन्त तथा साथीहरु जसुदा पौडेल, राम श्रेष्ठ, ईश्वर श्रेष्ठ, दीपेन्द्र श्रेष्ठ, सिर्जना खड्का, सन्तोष जोशी, देवराज सुवेदी, जानकी कक्षपति, कविता तिमल्सिना र सन्देश जोशीसमेतको नाम उल्लेख छ । उनीहरुले संस्थाको रकम अपचलन, हिनामिना तथा ठगी गरेको निवेदनमा उल्लेख छ । यसबारे अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक मन्जिल मुकारुङले जानकारी दिए ।

प्रकाशित : माघ ९, २०७९ २०:३३
प्रतिक्रिया
पठाउनुहोस्

एकै जिल्लाबाट ३८ करोडको सुन्तला

डम्बरसिं राई

खोटाङ — जन्तेढुंगा गाउँपालिका–५ चिसापानी घोर्लेका ३८ वर्षीय श्याम राईले सुन्तलाबाट यस हिउँदमा पाँच लाख रुपैयाँ कमाए । आफ्नो बगानमा फलेको एउटै बोटको सुन्तलाबाट ५६ हजार रुपैयाँसम्म आम्दानी गरेकोमा उनी दंग छन् । ‘बाउ–बाजेकै पालादेखि सुन्तला खेती गरे पनि बजारसम्म पुर्‍याउन सकिएको थिएन,’ राईले भने, ‘स्थानीय तह बनेपछि गाउँगाउँमा सडक पुगेकाले अब आएर राम्रो आम्दानी गर्न सकिएको छ ।’

गाउँका अन्य पनि सुन्तलाबाट मालामाल भइरहेका छन् । घोर्ले टोलका २८ घरले यस वर्ष करिब ६३ लाख रुपैयाँको सुन्तला बेचेको सुनाए । सुन्तलाको कमाइले आफूहरूमा उत्साह ल्याएको उनीहरू बताउँछन् । उक्त पालिकाभरि ३ करोड ८८ लाख रुपैयाँको सुन्तला बगानबाटै बेचेको कृषि प्राविधिक तोसल भट्टराईले जनाए । ठेकेदारले बगान नै किन्ने गरेको उनले जानकारी दिए ।

‘ठेकेदारले यस वर्ष साढे दुई लाखदेखि पाँच लाख रुपैयाँसम्ममा बगान किने,’ राईले भने, ‘कात्तिकमै आएर बैना गरेका थिए ।’ दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खा कोडगाउँका राम कुँवरले पनि सुन्तलाबाट पर्याप्त आर्जन गरेका छन् । दिक्तेल, गाईघाट र घरमा गरी १२ लाख रुपैयाँको सुन्तला बेचेको उनले बताए ।

‘बिचौलियालाई दिनुभन्दा आफैंले बेच्नु राम्रो लाग्यो,’ कुँवरले भने । जन्तेढुंगा, बराहपोखरी, दिप्रुङ चुइचुम्मालगायत गाउँपालिका तथा हलेसी तुवाचुङ नगरपालिकामा यस वर्ष राम्रो सुन्तला फलेको कृषि ज्ञान केन्द्र खोटाङका कृषि प्रसार अधिकृत सञ्जयकुमार पण्डितले बताए । प्रतिकिलो एक सय रुपैयाँका दरले हिसाब गर्दा करिब ३८ करोड रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको देखिन्छ ।

गत वर्षको तुलनामा यो वर्ष करिब चार टन उत्पादन बढेको छ । अनुकूल मौसम तथा रोगकिराको प्रकोप कम भएका कारण सुन्तला उत्पादन बढेको पण्डितले बताए । यस वर्ष ३ हजार ७ सय २५ टन र गत वर्ष ३ हजार ३ सय ३१ टन सुन्तला उत्पादन भएको छ । जिल्लामा ७ सय ४२ हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुने गरेको छ ।

प्रकाशित : माघ ९, २०७९ ०७:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×