शिलालेख संरक्षण गरिँदै


इलाम — धार्मिक, सांस्कृतिक र पुरातात्त्विक महत्त्वको ढुंगामा कुँदिएका अक्षरहरूको संरक्षण इलामको माइजोगमाईमा सुरु भएको छ । बौद्ध शिक्षाका मन्त्रहरू संरक्षणको अभावमा मेटिएर जान थालेपछि सरोकारवालाहरू जागेका हुन् ।
गुरु कुमणि शिलालेख संरक्षण समितिले इलामका उत्तरी क्षेत्रका ती ढुंगाको सफाइ गर्दै अक्षरहरूलाई प्रस्ट देख्न सकिने बनाएका छन् । यो अभियानमा देश विदेशका धर्मानुरागीहरूले सहयोग गरेका छन् । स्थायी रूपले संरक्षणका लागि तीन तहकै सरकारले ध्यान पुर्याउनुपर्ने यस अभियानमा सहभागीको माग छ । अहिलेसम्म दाताको १० लाख रुपैयाँभन्दा धेरै खर्च भइसकेको समितिले जनाएको छ ।
ती ठूला ढुंगामा दुई शताब्दीअघि नै यस्ता मन्त्रहरू कुँदिएको पाकाहरू बताउँछन् । समितिले इलामको माइजोगमाई गाउँपालिका–६ स्थित प्याङबाट संरक्षणको काम थालेको थियो । अभियानका संयोजक दोर्जी शेर्पाले भने, ‘यस्ता अक्षरहरूको विशेष महत्त्व भएकाले यसको संरक्षण गर्नुपर्छ भन्ने लागेर अघि बढेका हौं ।’ ती ढुंगाहरूमा बुद्धको आकृति, शंख तथा अन्य विभिन्न बौद्ध धर्म सम्बन्धित आकृतिहरू पनि कुँदिएका भेटिन्छन् । प्राचीनकालमा धर्म प्रचारको कुनै माध्यम नभएकाले बौद्ध भिक्षुहरूले ढुंगाको मद्दत लिएको प्रारम्भिक अध्ययनमा पाइएको अध्ययनकर्ताहरू बताउँछन् ।
ढुंगामा कुँदिएको बौद्ध मन्त्र सम्बोडा र रञ्जना लिपिमा छ । उक्त समितिले माइजोगमाईभित्र र सन्दकपुर–५ जमुनालगायत विभिन्न स्थानका ७० बढी ढुंगाका शिलालेख सफाइ गर्ने भएको छ । कतिपय अक्षरहरू मेटिँदै जाने अवस्थामा पुगेको तथा माटो र झारजंगलले छोपिएका थिए । समितिले स्थानीयको सूचनाका आधारमा कतिपय शिलालेखहरू पत्ता लगाएर सफाइ गरेको छ ।
प्रकाशित : माघ ८, २०७९ ०८:०९