खाँडी कपडा उत्पादनमा आकर्षण- कोशी - कान्तिपुर समाचार

खाँडी कपडा उत्पादनमा आकर्षण

आधुनिक औजारको प्रयोगबाट खाँडी र अल्लोबाट मासिक ५०–६० हजार आम्दानी
डम्बरसिं राई

खोटाङ — दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खा खामडाँडाकी ४० वर्षीया नैनकला अधिकारीले खाँडी कपडा बुनेको २८ वर्ष भयो । धनकुटाको महाभारत गाविस (हालको सागुरीगढी गाउँपालिका–९ महाभारत)मा जन्मिएकी उनी १२ वर्षको उमेरदेखि यसमै लागेकी छन् । 

उक्त गाउँपालिका–१ याम्खाका दीपबहादुर अधिकारीसँग २०५५ मा बिहे गरे पछि यो पेसालाई निरन्तरता दिएकी छन् । हाते तानबाट खाँडी बुन्दै आएकी उनले पछिल्लो समयदेखि आधुनिक औजारको प्रयोगबाट मनग्गे उत्पादन थालेकी छन् । खाँडी र अल्लोबाट गरी मासिक ५०–६० हजार रुपैयाँ आम्दानी हुने अधिकारीले बताइन् । ‘आम्दानी राम्रै छ,’उनले भनिन्,‘श्रीमान् र छोराले पनि साथ दिइरहेका छन् ।’

कपडा उत्पादनमा प्रयोग हुने आधुनिक औजार श्रीमान्ले बनाउने गरेकाले सहज भएको उनको भनाइ छ । छोरा बबिनलाई पनि यसबारेमा राम्रो ज्ञान भएकाले सहज भएको उनले सुनाइन् । बबिन अहिले खाँडी कपडासम्बन्धी १८ महिने तालिमका लागि विराटनगरमा छन् । आफूले उत्पादन गरेको खाँडी कपडा थानको तीन हजारदेखि पाँच हजार रुपैयाँमा बिक्री हुने गरेको उनले बताइन् । अल्लोको भाउ भने महँगो हुने उनले जनाइन् । अल्लोको कपडा थानको पाँच हजारदेखि ४५ हजारसम्म पर्ने उनले सुनाइन् ।

उक्त गाउँमा अरुले पनि अल्लो र खाँडी उत्पादन गर्छन् । रातमाटाकी शान्ता राई र लिलिमाकी गंगा श्रेष्ठले पनि उत्पादन गर्छन् । यसबाहेक साकेला गाउँपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका विभिन्न ठाउँमा खाँडी तथा अल्लो कपडा उत्पादन हुन्छ । उनीहरूले उत्पादन गरेको कपडा जिल्लामै खपत हुन्छ ।

हलेसी तुवाचुङमा पनि खाँडी कपडा उत्पादनमा जोड दिइएको छ । उक्त नगरपालिका–७ हलेसीका ८० महिला सहभागी छन्, जसलाई दुई समूहलाई खाँडीको धागो उत्पादनका लागि कपास खेती गर्न १० लाख रुपैयाँ नगरपालिकाले अनुदान दिएको छ । अहिले कपास उत्पादन भइरहेको नगरपालिकाको योजना शाखा प्रमुख रमेश श्रेष्ठले बताए । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकामा अल्लोको धागो उत्पादनका नगरपालिका र घरेलुसँग सहकार्य भइरहेको वडाअध्यक्ष मुगाधन राईले बताए । माझकिरात खोटाङको तुवाचुङ–जायजुममा तयामा–खियामाले किराती संस्कृतिको खाँडी, छिट, अल्लोका कपडा बुन्ने सीप शुरु गरेको किराती मिथकमा उल्लेख छ ।

प्रकाशित : माघ ८, २०७९ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्

सौतेनी आमाको कुटाइबाट बालिका घाइते

डम्बरसिं राई

खोटाङ — सौतेनी आमाको कुटाइबाट खोटाङमा एक बालिका घाइते भएकी छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ दिक्तेलकी १५ वर्षीया विनिता आचार्य सौतेनी आमाको पिटाइबाट सख्त घाइते भएको प्रहरीले जनाएको छ । 

शुक्रबार दिउँसो आमा चन्द्रकला आचार्यले निर्घात कुटपिट गर्दा देब्रे आँखा र टाउकोमा चोट लागेको छ । उनको जिल्लास्थित अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौंको तिलगंगा अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक किरण राईले बताए ।

‘तिलगङ्गाले बालिकाको आँखाको सीटी स्क्यानका लागि आइतबार केएमसी अस्पतालमा पठाएको र सीटीस्क्यानपछि फेरि तिलगङ्गामै ल्याएर उपचार भइरहेको छ,’ प्रहरी महिला सेलकी प्रहरी सहायक निरीक्षक सिर्जना राईले भनिन्, ‘उनको स्वास्थ्यमा सुधार आएको भन्ने जानकारी आएको छ ।’

कुटपिटमा संलग्न चन्द्रकलालाई शुक्रबारै नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक राईले बताए । ‘उनलाई मुद्दा चलाउने तयारी गरिएको छ । पीडकलाई घटनाकै दिन नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ,’ राईले भने ।

प्रकाशित : माघ १, २०७९ १९:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×