कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

एभोकाडो तथा धनकुटा महोत्सव सुरु

धनकुटा — धनकुटा उद्योग वाणिज्य संघको आयोजनामा एभोकाडो तथा पाँचौं धनकुटा महोत्सव सुक्रबारदेखि सुरु भएको छ । तल्लो टुँडिखेलमा जारी महोत्सवमा प्रदेश नं.१ भरका एकीकृत व्यापार रणनीतिमा समावेश अलैची, अदुवा, अल्लो, ओलन, अकबरे लगायत १९ प्रकारका कृषिजन्य उत्पादित वस्तु प्रदर्शनीमा राखिएका छन् ।

एभोकाडो तथा धनकुटा महोत्सव सुरु

‘कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, स्वरोजगार, उद्योग व्यापार समुन्नत १ नम्बर प्रदेशको आर्थिक विकासको आधार’ भन्ने नाराका साथ महोत्सव आयोजना गरिएको छ ।

धनकुटा नगरपालिकाले यसअघि आयोजना गर्दै आएको एभोकाडो महोत्सवसहित प्रादेशिक व्यापार मेला तथा कृषि प्रदर्शनी आयोजना गरिएको वाणिज्य संघका अध्यक्ष विजयसन्तोषी राईले जानकारी दिए ।

महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने भनिए पनि अन्तिम समयमा योजना स्थगित भएको आयोजकले जनायो । महोत्सवको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्रकुमार राईले गरेका थिए । महोत्सवमा १ सय ८२ स्टल रहने छन् । जसमध्ये १ सय ३७ स्टल कृषि प्रदर्शनीका हुनेछन् । प्रत्येक दिन राष्ट्रिय तथा स्थानीयस्तरका कलाकारको साथमा सांगीतिक प्रस्तुति रहने बताइएको छ ।

महोत्सव उद्घाटन गर्दै मन्त्री राईले गरिबी निवारणको लागि सरकारले विशेष रणनीतिक कार्यक्रम अघि सार्ने बताए । उनले जिल्लालाई पर्यटन प्रवर्द्धनका लागि स्थानीय, प्रदेश र संघीय सरकारबाट विशेष कार्यक्रम अघि सारिनुपर्ने धारणा राखे । प्रतिनिधिसभा निर्वाचनमा जिल्लाबाट निर्वाचित भइ मन्त्री बनेपछि राई पहिलो पटक आएका थिए । उनलाई वाणिज्य संघले सम्मान गरेको संघका सचिव राम रायामाझीले बताए ।

तेस्रो एभोकाडो महोत्सव

एभोकाडोको राजधानी घोषणा गरिएको धनकुटामा तेस्रो महोत्सव सुरु भएको छ । पाँचौं धनकुटा महोत्सवसँगै एभोकाडो महोत्सव पनि आयोजना गरिएको नगर प्रमुख चिन्तन तामाङले बताए ।

२०७८ मा ४ हजार ९ सय २६ परिवार एभोकाडो उत्पादनमा संलग्न छन् । यसैगरी १२ हजार ९९ रोपनीमा खेती गरिएको छ । एभोकाडो फल उत्पादनमा तीव्रता छ । २०७५ मा ७७ हजार ७ सय ५० किलो फलेकोमा २०७८ सालमा २ लाख ३९ हजार ४ सय १८ किलो उत्पादन भएको जनाइएको छ ।

यस वर्ष अझ वृद्धि हुने दाबी गरिएको छ। २०७५ सालमा २३ लाख ३२ हजार ५ सय रुपैयाँ भएकोमा हाल ३ करोड १९ लाख ८३ हजार ३ सय ८० रुपैयाँको कारोबार छ । कृषकको मूल्य प्राप्तिमा पनि औषत ३० बाट बढेर रु. ११० पुगेको छ । २०७५ व्यवसायिक एभोकाडो नर्सरी जम्मा पाँच वटा मात्र थियो । तर २०७९ मा १ सय ४० छ । महोत्सवमा एभोकाडो फलको जुस लगायत प्रशोधन गरिने बताइएको छ ।

प्रकाशित : माघ ६, २०७९ १८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?