२८ वर्षसम्म पनि अधुरै सगरमाथा लोकमार्ग- कोशी - कान्तिपुर समाचार

२८ वर्षसम्म पनि अधुरै सगरमाथा लोकमार्ग

कुनै सडक खण्डमा ठेक्का रद्द, कतै निर्माण कार्य नै धीमा त कतै ठेकेदारको बहानाबाजी
डिल्लीराम खतिवडा, डम्बरसिं राई

उदयपुर‚ खोटाङ — निर्माण सुरु भएको २८ वर्षमा पनि सगरमाथा लोकमार्ग अपूरै छ । २०५१ सालमा सुरु १ सय १ किलोमिटर लामो गाईघाट–महुरे सडक अझसम्म पूरा हुन सकेको छैन । अहिलेसम्म ३५ किलोमिटर मात्रै कालोपत्र भएको छ । १ सय ३१ किलोमिटरमध्ये महुरे–दिक्तेलसम्मको सडक भने मध्यपहाडी लोकमार्गमा गाभिएको छ ।

उक्त क्षेत्रमा सडक कालोपत्रे भइसकेको छ । उदयपुरको अँधेरीखोला–फोक्सिङटार र खोटाङको फोक्सिङटार–सिम्पानी तथा सिम्पानी–महुरे सडक भने अलपत्र छ । यसमध्ये अँधेरीखोला–फोक्सिङटार र फोक्सिङटार–सिम्पानी सडक खण्डको ठेक्का रद्द भइसकेको छ । अँधेरीखोला–फोक्सिङटार खण्डको ठेक्का पनि तोडिएको छ । अँधेरीखोला–फोक्सिङटार खण्डको काम मैनाचुली–सिद्धिसाई प्रकाश जेभीले लिएको थियो । करिब ११ करोड १७ लाखको लागतमा २०७८ चैत २८ मा सक्ने गरी २०७५ भदौ १४ मा सम्झौता गरेको थियो ।

त्यस्तै खोटाङको २६ किमिको फोक्सिङटार–सिम्पानी खण्ड कालोपत्र ठेक्का लिएको निर्माण कम्पनी देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभीसँग ठेक्का तोडिएको छ । करिब ५५ करोड ८७ लाख रुपैयाँको लागतमा २०७७ साउन १० भित्र सक्ने गरी २०७३ साउन ११ मा सम्झौता गरे पनि काम भने नगरेकाले पटक–पटक ताकेता गर्दासमेत अटेर गरेकाले ठेक्का तोडिएको गाईघाट–दिक्तेल सडक योजना कार्यालय उदयपुरका प्रमुख गोपालप्रसाद खकुरेलले बताए ।

खोटाङकै सिम्पानी–माहुरे (२३ किलामिटर) सडकको काम पनि लथालिंग छ । करिब ४६ करोड ८७ रुपैयाँको लागतमा २०७७ असार २९ मा सक्ने गरी २०७३ असार २० मा सम्झौता भएको थियो । उक्त खण्डको सडक निर्माणको कामै धीमा गतिमा भइरहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ का वडा अध्यक्ष दिनेश राईले बताए । उक्त खण्डको काम अवधि आगामी असारसम्म थपिएको खोटाङका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाइँले जनाए ।

सगरमाथा लोकमार्गमै पर्ने उदयपुर र खोटाङलाई जोड्न सुनकोसी नदीमा पक्की पुल नभएका कारण यसैलाई बहाना बनाएर सडक निर्माण कम्पनीले काममा आनाकानी गर्दै आएका थिए । पुल पनि बनिसकेको बेलासमेत काममा चासो नदेखाएको स्थानीयको गुनासो छ । पूर्व–पश्चिम लोकर्मागअन्तर्गत सप्तरीको कदमाह र उदयफुरको सदरमुकाम गाईघाट हुँदै खोटाङ सदरमुकाम दित्तेल जोडने सडक दुवैतर्फ (उदयपुर र खोटाङ) पूर्णरूपमा ट्र्याक खुलेको वर्षौं बितिसक्दा पनि अधुरै हुनुले खोटाङको विकासमा बाधा पुगेको छ ।

२०५१ मा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले उदयपुरको सदरमुकाम बोक्सेमा उद्घाटन गरेका थिए । २८ वर्ष बितिसक्दा पनि सडक पूरा नभएकोप्रति खल्लो लागेको रौतामाई गाउँपालिका–५ आँपटारकी भविमाया राईले बताइन् । ‘म ४९/५० वर्षको हुँदा यो सडक खन्न सुरु भएको हो,’ राईले भनिन्, ‘अहिले ८० वर्ष लाग्दा खनिनै रहेका छन् ।’

राजर्मागको दुवैतर्फ (उदयपुर र खोटाङ) को ट्र्याक खोलिएको करिब १० वर्ष बढी नै भइसकेका छ । तर अझै सडक व्यवस्थित भएको छैन । आठ वर्षअघि उदयपुरको गाईघाटदेखि रौतामाई गाँउपालिकको फोक्सिङटारसम्म ट्र्याक खोलिएको थियो । सरकारको फ्रत्यक्ष संलग्नतामा गाईघाट दित्तेल सडक आयोजनाको कार्यालयले नै खोलेर काम थालिए पनि बर्सेनि छुट्टिने बजेटका कारण निर्माण कार्यमा ढिलाइ भएको हो । राजमार्ग निर्माणका लागि योजनामा करिब साढे तीन अर्ब रुपैयाँ रहेकोमा झन्डै १ अर्ब ८५ करोड रुपैयाँ मात्रै खर्च भएको प्रमुख खकुरेलले बताए ।

सडक व्यवस्थित नहुँदा जिल्लाको पहाडी क्षेत्रमा यातायात सञ्चालनमा समस्या छ । हिउँदमा यातायात सञ्चालन भए पनि वर्षायाममा सवारीसाधन सञ्चालन नहुँदा उदयपुरको उत्तरी पहाड र खोटाङको दक्षिण भेगका सर्वसाधारणले समस्या झेल्नु परेको छ । यसबाहेक सामान ढुवानी हुन नसक्दा दैनिक तथा अन्य वस्तुको भाउ अकासिएको छ ।

प्रकाशित : माघ ६, २०७९ ०६:१४
प्रतिक्रिया
पठाउनुहोस्

फोक्सिङटारको बेलिब्रिज निकालियो

खोटाङका सर्वसाधारण समस्यामा, खोल्न र निकाल्नमा मात्रै ७ वर्षमा सवा ५ करोड खर्च
डिल्लीराम खतिवडा, डम्बरसिं राई

उदयपुर र खोटाङ — सुनकोसी नदीको फोक्सिङटारमा हिउँदका ५ महिना जडान गरिने बेलिब्रिज हालै निकालिँदा स्थानीय समस्यामा परेका छन् ।

खोटाङ सदरमुकाम दिक्तेललाई छोटो दूरीबाट तराईसँग जोड्न करिब २८ वर्षयता निर्माण भइरहेको सगरमाथा राजमार्गको दुवैतर्फ (उदयुर र खोटाङ) ट्र्याक खुले पनि बीचमा पर्ने सुनकोसी नदीमा पक्की पुल निर्माण हुन सकेको छैन । पुल निर्माणमा ढिलाइ हुँदा बर्सेनि लाखौं रुपैयाँ खर्चेर बेलिब्रिज जडान गरिँदै आएको छ । २०७२ यता हिउँदमा बेलिब्रिज जडान गर्ने र वर्षात्को सुरुसँगै निकाल्ने गरिन्छ । खोल्न र निकाल्नमा मात्रै ७ वर्षमा (अहिलेसम्म) ५ करोड २७ लाख रुपैयाँ खर्च भइसकेको गाईघाट दिक्तेल सडक योजना कार्यालयले जनाएको छ ।

बेलिब्रिज जडानसँगै सोझै गाईघाट–दिक्तेल सार्वजनिक सवारीसाधन सञ्चालनले त्यस क्षेत्रका बासिन्दालाई राहात पुग्छ । ‘अस्थायी रूपमै भए पनि बेलिब्रिज सञ्चालन हुँदा वर्षका ५ महिना सर्वसाधारणलाई राहत पुगेको थियो,’ स्थानीय खेमराज राउतले भने । बेलिब्रिज नहुँदा अब दुःखका दिन सुरु भएको उनले बताए ।

करिब २५ टन भार वहन क्षमताको दुवैतर्फ एप्रोच रोडसहितको बेलिब्रिज जडान गरिएको गाईघाट दिक्तेल सडक योजना प्रमुख गोपालप्रसाद खकुरेलले बताए । फोक्सिङटारमा पक्की पुल निर्माण कार्य भइरहेको छ । तर समयमै सम्पन्न नहुँदा बेलिब्रिजमा बर्सेनि लाखौं रुपैयाँ खर्च गर्नुपरेको रौतामाई–५ का वडाध्यक्ष पाण्डव राइर्ले बताउँदै आएका छन् । ‘फोक्सिङ्टारमा दुई वर्षअघि नै पक्की पुल निर्माण भइसक्नुपर्ने हो,’ पुनः निर्वाचित वडाध्यक्ष राईले भने, ‘तर निर्माण कम्पनीको लापरबाही र डिजाइनमा भएको गडबडीले ढिलाइ भएको हो ।’ पछिल्लो समय भने पुल निर्माणले तीव्रता पाएको उनले बताए ।

बेलिब्रिज हुँदा खोटाङको तराईका सहरसँग सिधा यातायात सम्बन्ध जोडिएको थियो । उपभोग्य वस्तु, निर्माणलगायतका अन्य सामग्रीको मूल्य घटेको थियो । वर्षाले बेलिब्रिज निकालिए पछि विभिन्न सामग्रीको मूल्य अकासिने नेपाल चेम्बर्स अफ कमर्स खोटाङका अध्यक्ष खुसनारायण सैंजूले बताए । उनका अनुसार हरेक सामानको मूल्य प्रतिकेजी पाँच रुपैयाँभन्दा बढी महँगो हुनेछ । बेलिब्रिज निकाल्न सडक आयोजनाको ६८ लाख रुपैयाँ खर्च भएको सडक योजना प्रमुख खकुरेलले बताए । उनका अनुसार रेग्मी–भानुमती–चौधरी जेभी कम्पनीले जेठ ९ देखि १५ सम्ममा खोलेको हो । उक्त निर्माण कम्पनीले बेलिब्रिज जडान गर्ने र खोल्ने ठेक्का लिएको थियो ।

फोक्सिङटारमा निर्माणाधीन पुल निमाण नहुँदा बेलिब्रिज जडान गर्न र निकाल्न राज्यको बर्सेनि लाखौं खर्च हुँदै आएको छ । करिब १८ करोडको लागतमा पुल निर्माणको ठेक्का लिएको गौरी पार्वती वाइपी जेभीले तीन वर्षअघि नै सक्नुपर्ने थियो । तर पुल निर्माण गरिसक्नुको साटो दुई पटक त म्याद नै थपिसकेको छ । अझै ७५ प्रतिशत बाँकी रहेको सडक विभाग पुल योजना पूर्वी क्षेत्र सेक्टर नम्बर १ का निमित्त योजना प्रमुख नितेश झाले बताए । उक्त पुल एक सय २० मिटर लम्बाइ हुनेछ ।

प्रकाशित : जेष्ठ १९, २०७९ ०९:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×