जीवित शिशुलाई मृत घोषणा गरेको घटना छानबिन गर्न समिति गठन

उपचारमा संलग्न चिकित्सकलाई तत्कालका लागि काममा रोक
विनोद भण्डारी

(विराटनगर) — कोसी अस्पतालको आकस्मिक कक्षका चिकित्सकले १८ दिनकी शिशुलाई मृत घोषणा गरेपनि उनी जीवितै रहेको घटनाको अनुसन्धानका लागि अस्पताल प्रशासनले बिहीबार बालरोग विशेषज्ञ डा. प्रविण झाको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।

जीवित शिशुलाई मृत घोषणा गरेको घटना छानबिन गर्न समिति गठन

समितिमा अर्का बालरोग विशेषज्ञ डा. सूर्यकान्त चौधरी र अस्पताल प्रशासनका अधिकृत रामप्रसाद नेपाल सदस्य छन् ।

समितिलाई एक साता भित्र प्रतिवेदन बुझाउन म्याद दिइएको समितिका संदस्य तथा अस्पतालका सूचना अधिकारी समेत रहेका रामप्रसाद नेपालले बताए ।

यसैबीच जीवित शिशुलाई मृत घोषणा गर्ने आकस्मिक कक्षका मेडिकल अफिसर डा. आकाश यादवसहित अहेवद्वय टीका भण्डारी र लक्ष्मण माझीलाई पनि अस्पताल प्रशासनले २४ घण्टा भित्रमा स्पष्टिकरण बुझाउन निर्देशन दिँदै छानबिन समितिले प्रतिवेदन नबुझाएसम्म काममा रोक लगाएको नेपालले बताए ।

कोसी अस्पतालको आकस्मिक कक्षका चिकित्सक यादवसहितको टोलीले जीवित शिशुलाई मृत घोषण गरेपछि बुधबार अस्पताल परिसरमा तनाव भएको थियो । मृत घोषणा गरिएकी ती नवजात शिशुको स्थानीय गोल्डेन अस्पतालको एनआईसीयूमा उपचार भइरहेका छ ।

स्वासप्रश्वासमा समस्या देखिएप्छि मोरङको जहदा गाउँपालिका–३, भाथिगछकी १८ दिनकी ती शिशुलाई उपचारका लागि बुधबार बिहान कोसी अस्पतालको आकस्मिक कक्षमा पुर्‍याइएपछि त्यहाँ कार्यरत मेडिकल अफिसर आकाश यादवसहित अहेद्वय टीका भण्डारी र लक्ष्मण माझीले शिशुको स्वास रोकिएको र मुटुको धडकन नचलेको भन्दै मृत घोषणा गरेका थिए ।

चिकित्सकसहितका स्वास्थ्यकर्मीहरुले जाँचपछि मृत घोषणा गरेएकी ती शिशुले केही समय पछि हात खुट्टा चलाएर रुन थालेपछि अस्पताल पुगेका परिवारका सदस्य तथा भिडले चिकित्सक यादवलाई हातपात गरेर घाइते बनाएका थिए । साथै अस्पताल केही समय तनावग्रस्त बन्न पुगेको थियो ।

प्रकाशित : माघ ५, २०७९ १३:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?