बीपीमा बल्झियो बढुवा विवाद

प्रदीप मेन्याङ्बो

सुनसरी — कर्मचारीको १४ वर्षदेखि र चिकित्सक शिक्षकको ६ वर्षदेखि रोकिएको बढुवा प्रक्रियालाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले सुरु गर्न नपाउँदै फेरि विवाद उत्पन्न भएको छ । 

वृत्ति विकास र बढुवा नहुँदा कतिपय कर्मचारी पुरानै तहमा कार्यरत रहँदै अवकाश लिएका छन् । चिकित्सक शिक्षकहरू पलायन हुन थालेपछि प्रतिष्ठानले आन्तरिक बढुवाको प्रक्रिया सुरु गरेको थियो । काठमाडौं टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोग, चिकित्सा शिक्षा आयोग र नेपाल मेडिकल काउन्सिलमा प्रतिष्ठानले सुरु गरेको बढुवा प्रक्रिया रोक्न उजुरी परेपछि विवाद सतहमा आएको हो ।

प्रतिष्ठानको गैरकानुनी विज्ञापन, नियुक्ति र बढुवा बदर गर्न माग गर्दै बेनामे उजुरी परेको थियो । प्रतिष्ठानमा बढुवाकै लागि पटक–पटक आन्दोलन र धर्ना कार्यक्रम भएको थियो । पछिल्लो पटक प्रतिष्ठानले लोकसेवा आयोगसँग सहमति लिएर स्थायी कर्मचारी र चिकित्सक शिक्षकको बढुवा प्रक्रिया अगाडि बढाउन पुस २० मा सूचना जारी गरेको थियो ।

विभागैपिच्छे गुटैगुटमा जेलिएको प्रतिष्ठानमा भित्रैका एउटा समूहले बढुवा रोक्न माग गर्नुलाई प्रतिष्ठान असफल बनाउने प्रयएास भएको सहप्रवक्ता डा. चूडामणि पोखरेलले बताए । प्रतिष्ठानमा स्थायी चिकित्सक २ सय ३० र स्थायी कर्मचारी १ हजार ३ सय बढी छन् । अधिकांश चिकित्सक र कर्मचारी अहिलेसम्म प्रवेश गरेकै बेलाको तहमा छन् ।

यता चिकित्सक शिक्षकहरू योग्यता, दक्षताअनुसार बढुवा एहुँदै एसोसिएट प्रोफेसर, एडिसनल प्रोफेसर र प्रोफेसर भइसक्नुपर्ने हो । तर बढुवा, वृत्तिविकास रोकिँदा धेरै चिकित्सक पलायन भएका छन् ।’ पोखरेलका अनुसार यस पटकको बढुवा सूचनामा पाँच वर्षदेखि कार्यरत करारमा रहेकालाई ‘प्रफर्मेन्स’ को आधारमा र स्थायी चिकित्सक र कर्मचारी गरी १ हजार ५० जनाको बढुवा प्रक्रिया अगाडि बढाइएको हो ।

उनले उपचार सेवाबापत मासिक १ लाख रुपैयाँ मात्रै रुँघेर नबस्ने अवस्था आएको बताए । प्रतिष्ठान स्वायत्त स्वास्थ्य शैक्षिक संस्था भएकाले प्राज्ञिक उन्नयनका लागि बढुवाको प्रक्रिया अगाडि बढाएका बेला विवाद उत्पन्न हुनु प्रतिष्ठानको हितमा नरहेको पोखरेलले प्रस्ट्याए ।

उजुरीकर्ताहरूले लोकसेवा आयोगको सहमतिमा नियमावली संशोधन नभई नेपाल सरकारको ऐनविपरीत गरिएको पुस २० को बढुवाको विज्ञापन गैरकानुनी रहेको दाबी गरेका छन् । अख्तियार र काउन्सिलमा दिइएको उजुरीमा भनिएको छ, ‘४/५ वर्ष बित्दा पनि लोकसेवा आयोगको निर्देशन अटेर गरी प्रतिष्ठानले कुनै नियमावली संशोधन गरेको छैन, यो विज्ञापन प्रतिष्ठानको पुरानो नियमावलीसँग मेल खाँदैन । पूर्ण रूपमा सीमित व्यक्तिहरूलाई मात्र समेटिने गरी निकालिएको छ ।’

बढुवा रोक्न चाहनेहरूले उक्त विज्ञापन रजिस्ट्रार सूर्य संग्रौलाबाट हस्ताक्षरित भएको र प्रतिष्ठानको सूचना पाटीमा टाँसिएको तर कसैलाई पनि उपलब्ध नगराइएको आरोप लगाएका छन् । उजुरी पत्रमा भनिएको छ, ‘लोकसेवाबाट पास गराई सिनेट बैठकबाट पारित गरी सो नयाँ नियमावलीअनुसार मात्र नियुक्ति, बढुवा र अन्य कामकारबाही गर्न पटकपटक पत्राचार गरी निर्देशन दिएको जानकारी गराउँदछौं ।’ उजुरीमा प्रतिष्ठानको हितविपरीत पदको दुरुपयोग गर्ने उपकुलपतिलगायत जिम्मेवार पदाधिकारीहरूलाई कारबाही गर्न पनि माग गरिएको छ ।

लोकसेवा आयोगले ‘संगठित संस्थाका कर्मचारीको सेवाका सर्तसम्बन्धी कानुन, बढुवा र विभागीय कारबाहीसम्बन्धी सामान्य सिद्धान्त २०७४ अनुसार नियमावली संशोधन गरेर पठाउन भनेपछि प्रतिष्ठानले डेढ वर्षअघि नै संशोधित नियमावली पठाएको छ । तर उक्त नियमावली आयोगबाट स्वीकृत भएको छैन । आयोगले संशोधित नियमावली स्वीकृत गर्न अझै केही समय लाग्न सक्ने भएपछि दक्ष चिकित्सक पलायन हुनबाट रोक्न र कर्मचारीको वृत्ति विकास गर्न बढुवाको प्रक्रिया सुरु गरेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका रजिस्ट्रार संग्रौलाले लोकसेवाबाट नियमावली संशोधन भएर आउन समय लाग्ने भएकाले लामो समयदेखि कार्यरत चिकित्सक र कर्मचारीको हितमा बढुवाको सूचना निकालेको बताएका छन् । उनले प्रतिष्ठानबाट अनुभवी जनशक्ति पलायन हुने क्रम बढेकाले बाध्यतावश बढुवाको सूचना निकाल्नु परेको जनाए ।

प्रतिष्ठानका उपकुलपति कार्यालय स्रोतले आयोगको विश्वास नलिई बढुवा प्रक्रिया अगाडि बढाउने हिम्मत आफूहरूमा नरहेको बतायो । ‘धेरै वर्षदेखि बढुवा रोकिएकाले सहमतिमा एक पटक पुरानै नियमावलीको आधारमा बढुवा प्रक्रिया सुरु गरेको हो,’ स्रोतले भन्यो, ‘तर यो संस्थाबाटै नाम, काम र दामसहित प्रसिद्धि कमाएका केही व्यक्तिहरूले जनकपुर चुरोट कारखाना बनाउन खोज्दा अनावश्यक विवाद निकालेका हुन् ।’

लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले उजुरीमा कारबाही प्रक्रिया बढाउन आफूले सचिवलाई निर्देशन दिएको बताए । उनले भने, ‘संशोधित नियमावली स्वीकृत भएको अवस्थामा मात्र आयोगले हेर्छ । तर त्यहाँ के भएको हो, गलत भएको हो कि के हो बुझ्ने छौं ।’ यसैबीच, मंगलबार प्रतिष्ठानलाई अनिर्णयको बन्दी बनाउन प्राध्यापकबाटै चलखेल भएको भन्दै धरानका राजनीतिक दलका प्रतिनिधिहरूले अराजकता फैलन नदिन ध्यानाकर्षण गराएका छन् ।

प्रकाशित : माघ ४, २०७९ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्

टेक कम्पनीले कर्मचारी हटाउने क्रम रोकिएन

कान्तिपुर संवाददाता

काठमाडौँ — गत वर्ष सिलिकन भ्याली तथा अन्य क्षेत्रका प्रविधि स्टार्टअप कम्पनीले झन्डै १ लाख ५० हजार कर्मचारीलाई अवकाश दिएका थिए । यसरी अवकाश दिनेमा बाइजुज (१५ हजारभन्दा बढी), मेटा (११ हजारभन्दा बढी), ट्वीटर (३७ सयभन्दा बढी), अमेजन (१० हजारभन्दा बढी), माइक्रोसफ्ट, लिफ्ट, अल्फाबेट, टेस्ला, सपिफाइ, नेटफ्लिक्सलगायत दर्जनौं कम्पनी थिए ।

सिलिकन भ्याली र अन्य क्षेत्रका प्रविधि स्टार्टअप र उद्यमीका लागि सन् २०२२ कठिन वर्ष थियो । बढ्दो आर्थिक मन्दी र कोभिड महामारीका कारण प्रविधि क्षेत्रमा बढेको लगानी र अवसरको आकर्षण घट्दै गएपछि सुरु भएको कर्मचारी हटाउने ट्रेन्ड यस वर्ष पनि जारी रहने संकेत देखिएको छ । वर्ष २०२३ को सुरुमै यो ट्रेन्ड अझै आक्रामक रूपमा देखापरेको छ । क्रन्चबेस न्युज डेलीमा प्रकाशित एक रिपोर्टका अनुसार २०२३ को पहिलो सातामै अमेरिकाका ३० वटा टेक कम्पनीले २१ हजारभन्दा बढी कर्मचारीलाई अवकाश दिएका छन् ।

यो वर्ष धेरै कर्मचारी हटाउनेमा क्लाउड सफ्टवेयर कम्पनी सेल्सफोर्स (८०००), प्रख्यात ई–कमर्स प्लाटफर्म अमेजन (१८ हजारभन्दा बढी), क्रिप्टो कम्पनी क्वाइनबेस (१ हजार १ सय) लगायत छन् । यी ठूला कम्पनीलाई पछ्याउँदै अन्य टेक कम्पनीले पनि कर्मचारीलाई अवकाश दिने क्रम सुरु गरेका छन्, जसमा एडोबी, चाइम फाइनान्सियल, भिमियो, क्रिप्टो बिक्रेता हुओवीलगायत कम्पनी छन् । यो त सुरुवात मात्रै भएको र भविष्यमा यो क्रम अझै बढ्ने विज्ञहरू बताउँछन् ।

सिस्को सिस्टम्स, एचपी, ट्वीटर, सिगेटजस्ता कम्पनी निकट भविष्यमै थप कर्मचारीलाई अवकाश दिने तयारीमा रहेको याहु फाइनान्सका सिमोन्ट हन्टको अनुमान छ । आर्थिक मन्दी, बढ्दो प्रतिस्पर्धा र घट्दो प्रतिस्पर्धासँगै टेक कम्पनीहरूको सेयर मूल्यमा गएको वर्ष ठूलो गिरावट आएको थियो । उदाहरणका लागि टेस्लाको सेयर मूल्य ६५ प्रतिशतले खस्केको थियो । मेटा (६४ प्रतिशत), पेपाल (६२ प्रतिशत), नेटफ्लिक्स (५२ प्रतिशत) र जुम टेक्नोलोजिज (५४ प्रतिशत) का सेयर मूल्यमा पनि कमी आएको थियो ।

बिल गेट्स, जेफ बेजोज, ल्यारी पेज, इलन मस्क, मार्क जुकरबर्गका जस्ता टेक स्टार्टअपका प्रख्यात मालिक तथा उद्यमीले अर्बौं डलरको सम्पत्ति गुमाएका थिए । अर्थतन्त्र र कमाइमा आएको यही गिरावटलाई यस्तो ठूलो संख्याको अवकाशको मुख्य कारण मानिएको छ ।

प्रकाशित : माघ ४, २०७९ ०७:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×