१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

दोहोरो नागरिकता लिने ३ भारतीयविरुद्ध उजुरी

विनोद भण्डारी

विराटनगर — दोहोरो नागरिकता लिएर नेपाल तथा भारतमा कारोबार गर्दै आएका तीन भारतीयविरुद्ध स्थानीय एक नेपालीले जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएका छन् । उक्त उजुरीअनुसार भारतको दरभंगा घर भई विराटनगर–६ सरौचिया बस्दै आएका मोहमद नौसाद खान, नासिर खान र फैयाद खानले जन्मसिद्धको नेपाली नागरिकता लिएका हुन् ।

स्थानीय अख्तरी बेगमले दर्ता गरेको उजुरीमा एम ९७४०४१८ नम्बरको राहदानी वाहक नौसादले २०६४ जेठ १० मा ५०७ नम्बरको र एफ २२५१२२२ नम्बरको भारतीय पासपोर्ट भएका नासिरले ६९ नम्बरको नेपाली नागरिकता लिएको उजुरीमा उल्लेख छ । भारत दरभंगामा आईएजी ०२११०१९ नम्बरको भोटर आईडी भएका फैयादले २०६४ चैत ३० मा जन्मसिद्धका आधारमा ४९७ नम्बरको नेपाली नागरिकता लिएको पनि उजुरीमा दाबी गरिएको छ ।

नौसाद खान भारतीय पासपोर्टमा हाल साउदी अरबमा छन् भने उनकी पत्नी साइका खातुनले भारतीय रासन कार्डमा भारतबाट खाद्यान्न ल्याउने गरेको उजुरीमा उल्लेख छ । मोरङ प्रशासनले तीनै जनालाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको छ । तर उनीहरू भारत र साउदी अरबमा रहेकाले पक्राउ गर्न गाह्रो भएको प्रहरीको भनाइ छ ।

प्रकाशित : माघ ३, २०७९ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?