सौतेनी आमाको कुटाइबाट बालिका घाइते- कोशी - कान्तिपुर समाचार

सौतेनी आमाको कुटाइबाट बालिका घाइते

डम्बरसिं राई

खोटाङ — सौतेनी आमाको कुटाइबाट खोटाङमा एक बालिका घाइते भएकी छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ दिक्तेलकी १५ वर्षीया विनिता आचार्य सौतेनी आमाको पिटाइबाट सख्त घाइते भएको प्रहरीले जनाएको छ । 

शुक्रबार दिउँसो आमा चन्द्रकला आचार्यले निर्घात कुटपिट गर्दा देब्रे आँखा र टाउकोमा चोट लागेको छ । उनको जिल्लास्थित अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौंको तिलगंगा अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक किरण राईले बताए ।

‘तिलगङ्गाले बालिकाको आँखाको सीटी स्क्यानका लागि आइतबार केएमसी अस्पतालमा पठाएको र सीटीस्क्यानपछि फेरि तिलगङ्गामै ल्याएर उपचार भइरहेको छ,’ प्रहरी महिला सेलकी प्रहरी सहायक निरीक्षक सिर्जना राईले भनिन्, ‘उनको स्वास्थ्यमा सुधार आएको भन्ने जानकारी आएको छ ।’

कुटपिटमा संलग्न चन्द्रकलालाई शुक्रबारै नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक राईले बताए । ‘उनलाई मुद्दा चलाउने तयारी गरिएको छ । पीडकलाई घटनाकै दिन नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ,’ राईले भने ।

प्रकाशित : माघ १, २०७९ १९:१०
प्रतिक्रिया
पठाउनुहोस्

अझै बनेन स्वास्थ्यचौकी भवन

डम्बरसिं राई

खोटाङ — साकेला गाउँपालिका–५ मात्तिमविर्तास्थित निर्माणाधीन स्वास्थ्य चौकी भवन सुरु भएको सात वर्षमा पनि अझै सकिएको छैन । २०७४ मै यो भवनको निर्माण सम्पन्न भइसक्नुपर्ने हो ।

करिब २ करोड १६ लाख ५९ हजार ६ सय ७० रुपैयाँको लागतमा २०७४ कात्तिक २० भित्र सक्ने गरी युएस नाना जेभीले २०७२ कात्तिक २० मा सम्झौता गरेको थियो ।

तर ६ पटक सम्म म्याद थप गरे पनि काम भने नगरेको वडाअध्यक्ष जीवन न्यौपानेले बताए । उनका अनुसार पहिलो पटक २०७५ वैशाख २१ , दोस्रो पटक २०७५ माघ २९, तेस्रो पटक २०७७ असार ३१, चौथो पटक २०७७ पुस, पाँचौं पटक २०७८ चैत ३० र छैंटौं पटक २०७९ पुससम्मका लागि थपिएको हो ।

भवनको भित्री भागको धेरै काम बाँकी नै रहेको न्यौपानेको भनाइ छ । झ्यालको सिसा, भित्री भागको रंगरोगन, सौचालय–स्नान गृहमा धाराहरू, बर्थिङ सेन्टरको बेसिन, टायल बिछ्याउनेलगायत बाँकी छन् । यसबाहेक रिटेनिङवाल, ग्याबिनवाललगायतका काम पनि नभएको न्यौपानेले बताए ।

उनका अनुसार सकिएको काम पनि गुणस्तरहीन छ । सिलिङबाट पानी चुहिने भएकाले समस्या देखापरेको छ । यसबारेमा निर्माण कम्पनीलाई जानकारी गराउँदा मर्मत गर्ने बताएको न्यौपानेले जनाए ।

बेलामा काम नसक्दा उपचार सेवा प्रवाहमा समस्या आएको छ । स्वास्थ्य चौकीबाट दिइने सेवा पुरानो गाविस भवनमा र बर्थिङ सेन्टरको सेवा स्थानीय महिला सशक्तीकरण समूहको भवनबाट दिइरहेको न्यौपानेले बताए । ‘भवन बेलामा नबने पछि समस्या छ,’ उनले भने, ‘निरन्तर अनुरोध गर्दा पनि एक साताभित्रै काम सुरु गर्ने भन्नुहुन्छ तर काम भने सुरु गर्दैनन् ।’

ठेक्का लिने निर्माण कम्पनीले सुजन भट्टलाई पेटी ठेक्का दिएको, उनले पनि स्थानीय सन्दोष राईलाई काम लगाएको र उनीहरू बीच लेनदेनको विषय नमिलेकोले यो समस्या आएको निर्माण कम्पनी सम्बद्ध रमेश श्रेष्ठले बताए । भट्टले लेनदेनमा किचलोले काम गर्न नसकेको बताए । कुरा मिलेर माहोल बनेमा १०–१५ दिनमा सकिने भट्टले दाबी गरे । कामदारको पैसा नै नदिएकाले निर्माण अघि नबढेको न्यौपानेले बताए ।

प्रकाशित : पुस २३, २०७९ ०८:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×