सिर्जना दनुवारको उपसभामुख यात्रा

विद्यार्थी राजनीति हुँदै समानुपातिक प्रदेश सांसद बनेकी सिर्जना बहुमत सांसदको साथमा शनिबार निर्वाचित 
देवनारायण साह

मोरङ — आदिवासी जनजातिमा अति सीमान्तकृत समुदायको प्रतिनिधित्व गर्ने उदयपुरकी ४६ वर्षीया सिर्जना दनुवार प्रदेश १ को उपसभामुखमा शनिबार निर्वाचित भएकी छन् । उनी कठिन संघर्षबाट राजनीतिमा उदाएकी नेतृ हुन् । त्रियुगा नगरपालिका–९ गाईघाटमा निम्न वर्गीय किसान परिवारमा जन्म भएर अभावैअभावमा बाल्यकाल गुजारेकी उनको व्यक्तिगत जीवन कहिल्यै सुखद रहेन ।

सिर्जना दनुवारको उपसभामुख यात्रा

आमा धनरूपी र बुबा गोलदामकी एक्ली छोरी दनुवारको जीवन संघर्षमै बित्यो । स्थानीय विद्यालयबाट एसएलसी उत्तीर्ण गरेपछि उनका आमाबुबाको निधन भएको थियो ।

एक्ली दनुवारले उच्च शिक्षाका लागि स्थानीय क्याम्पसमा अध्ययन गर्ने क्रममा एक युवकसँग प्रेमविवाह गरे पनि त्यो धेरै दिन टिकेन । विद्यालय अध्ययन गर्ने क्रममा एमालेका भ्रातृ संगठन अनेरास्ववियुको प्रारम्भिक कमिटीमा आबद्ध भएकी उनले क्यापसमा पनि राजनीतिलाई निरन्तरता दिइन् । राजनीतिक सक्रियताले उनको वैवाहिक जीवनमा बिराम लाग्यो । सशक्त व्यक्तित्व भएकी दनुवार राजनीतिमा लागेकै कारण वैवाहिक जीवन टुंग्याउन बाध्य भएकी उनी निकटका बताउँछन् । उनले आफूलाई सम्हाल्दै स्नातक तहसम्मको शिक्षा पूरा गरिन् । त्यसपछि उनी पूर्णतः सामाजिक सेवामा सक्रिय भइन् ।

पछि उनले गैरसरकारी संस्था महासंघको केन्द्रीय नेतृत्व सम्हाल्दै राजनीतिलाई निरन्तरता दिइरहिन् । अहिले एमाले उदयपुर जिल्ला कमिटीको सचिवालय सदस्य पनि छिन् । दनुवारले गरेको योगदान, इमानदारिता, कर्तव्यनिष्ठताको मूल्यांकन गरी पार्टीले समानुपातिकबाट प्रदेश सांसदमा निर्वाचित गराएर उपसभामुखको जिम्मेवारी सुम्पेको छ । उनले इमानदारितापूर्वक, कर्तव्यनिष्ठ भएर पदीय जिम्मेवारी निर्बाह गर्ने प्रतिबद्धता जनाइन् । ‘प्रदेशसभाको मर्यादा बढाउने गरी सदनभित्र र बाहिर भूमिका निर्बाह गर्छु,’ उनले भनिन्, ‘पहिलो प्रदेशसभाले थाती राखेको प्रदेशको नामकरणको विषयलाई टुंगो लगाएर प्रदेशको कानुन निर्माणका साथै प्रदेशसभाको मर्यादा बढाउनेमा प्रतिबद्ध छु ।’

दनुवारलाई उपसभामुखमा निर्वाचित गराउने प्रस्तावको पक्षमा ९३ सदस्यीय प्रदेशसभामा मत विभाजन प्रक्रियामा सहभागी भएका सभामुखबाहेक ९० प्रदेश सांसदमध्ये ५७ पक्षमा र विपक्षमा ३३ मत परेको हो । दनुवारलाई उपसभामुख बनाउने प्रस्ताव बहुमतले पारित भएको सभामुख बाबुराम गौतमले घोषणा गरे । उपसभामुख निर्वाचित भएपछि दनुवारले शनिबार नै प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष पद तथा गोपनीयताको शपथ लिएकी छन् । सत्तारूढ एमालेकी प्रदेश सांसद मीना श्रेष्ठ मत दिनबाट वञ्चित भइन् । सभामुख गौतमले उपसभामुख निर्वाचनका लागि मत विभाजनको जनाउ घण्टी लगाउन दिएको समयमा श्रेष्ठ सदनभित्र नपसेकाले बाहिर बस्नुपरेको थियो । एमाले अध्यक्ष केपी ओलीनिकट नेतृ उनी संसदीय दलको ह्विप नमान्ने मनसायले जानीजानी मत विभाजन प्रक्रियामा सहभागी नभएको भन्दै एमालेका प्रदेश सांसदबीच आलोचित भएकी छन् ।

पार्टीमा उल्लेखनीय योगदान नभएकी एवं उच्च महत्त्वाकांक्षी स्वभावकी श्रेष्ठ एमाले अध्यक्ष ओलीको आशीर्वादले प्रदेश सांसद भएर आफैं उपसभामुख वा मन्त्री बन्ने दाउमा रहेकीले पनि मत विभाजनमा सहभागी नभई असन्तुष्टि जनाएको एमाले सांसदहरूकै आरोप छ । श्रेष्ठले यो विषयमा कुनै प्रतिक्रिया दिन मानिनन् । सत्तारूढ एमालेका मोरङ १(१) बाट निर्वाचित प्रदेश सांसद उमाकान्त गौतम अनुपस्थित रहे । उपसभामुख निर्वाचनमा दनुवारको पक्षमा मत राख्न एमालेले ह्विप लगाएको अवस्थामा उनीहरू अनुपस्थित भएका हुन् । एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले प्रदेश सांसद श्रेष्ठ आउँदाआउँदै सदनको ढोका बन्द भइसकेको र अर्का प्रदेश सांसद गौतम अस्वस्थ भएकाले मत विभाजनमा अनुपस्थित भएको भन्दै बचाउ गरे ।

प्रतिपक्षी दलबाट कांग्रेसकी प्रदेश सांसद लीला राईलाई उपसभामुखमा निर्वाचित गराउने प्रस्तावको पक्षमा ३३ र विपक्षमा ५७ मत प्राप्त भयो । राईलाई उपसभामुखमा निर्वाचित गराउने प्रस्ताव बहुमतले अस्वीकृत भएको सभामुख गौतमले घोषणा गरेका थिए । सभामुख गौतमले समय दिएपछि दनुवारलाई उपसभामुखमा निर्वाचित गराउन एमालेका प्रदेश सांसद तिलचन पाठकले सदनमा प्रस्ताव पेस गरेका थिए । उनको प्रस्तावमाथि माओवादी केन्द्रका प्रदेश सांसद नारायणबहादुर मगरले समर्थन गरेका थिए ।

कांग्रेसकी प्रदेश सांसद खगेश्वरी पौडेलले कांग्रेसकी राईलाई उपसभामुखमा निर्वाचित गराउने प्रस्ताव सदनमा पेस गरेकी थिइन् । उनको प्रस्तावमाथि नेकपा (एकीकृत समाजवादी) की प्रदेश सांसद विद्या चाम्लिङ राईले समर्थन गरेकी थिइन् । दुवै प्रस्ताव माथिको छलफलमा एमालेका पाँचकर्ण राई, राप्रपाकी सविना बजगाईं, कांग्रेसका अमृत अर्याल र नेकपा (एकीकृत समाजवादी) की खिनुलङ्वा लिम्बूले भाग लिएका थिए ।

दलीय भागबन्डामा सत्तारूढ दलमध्ये प्रदेश १ को उपसभामुख एमालेको भागमा परेको छ । सत्तारूढ दलमध्ये एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जनता समाजवादी पार्टीका १ गरी ६० जना प्रदेश सांसद छन् । यसअघि नै सत्तारूढ माओवादी केन्द्रबाट प्रदेशसभा सदस्यमा विजयी गौतम सभामुखमा निर्वाचित भइसकेका हुन् । प्रमुख प्रतिपक्षी दल कांग्रेसका २९ र प्रतिपक्षी दल नेकपा (एकीकृत समाजवादी) का ४ जना प्रदेश सांसद छन् । कांग्रेसकी उम्मेदवार राईलाई एकीकृत समाजवादीको समर्थन थियो ।

प्रकाशित : माघ १, २०७९ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?