प्रदेश १ को उपसभामुखमा दनुवार निर्वाचित

देवनारायण साह

मोरङ — प्रदेश १ को उपसभामुखमा सत्तारूढ एमालेकी प्रदेश सांसद सृजना दनुवार निर्वाचित भएकी छन् । दनुवारलाई उपसभामुखमा निर्वाचित गराउने प्रस्तावको पक्षमा ९३ सदस्यीय प्रदेशसभामा उपस्थित सभामुख बाहेक ९० प्रदेश सांसदमध्ये ५७ र विपक्षमा ३३ मत परेको छ ।

प्रदेश १ को उपसभामुखमा दनुवार निर्वाचित

दनुवारलाई उपसभामुख बनाउने प्रस्ताव बहुमतले पारित भएको सभामुख बाबुराम गौतमले घोषणा गरेका हुन् । सत्तारूढ एमालेकी मिना श्रेष्ठ मत दिनबाट बञ्चित भइन् । सभामुख गौतमले जनाउ घन्टी लगाउन दिएको समयभित्र प्रदेशसभा सदस्य श्रेष्ठ समयमा भित्र नपसेकाले बाहिर बस्नुपरेकाले मत विभाजनमा सहभागी हुन पाइनन् । सत्तारूढ एमालेका अर्का एक जना प्रदेश सांसद मत विभाजन प्रक्रियामा सहभागी हुनबाट बञ्चित भएकन हुन् । उनको नाम खुल्न बाँकी छ ।

उपसभामुख निर्वाचनमा दनुवारको पक्षमा मत राख्न एमालेले ह्विप लगाएको अवस्थामा उनीहरू मत विभाजन प्रक्रियामा सहभागी हुनबाट बञ्चित भएका हुन् ।

प्रतिपक्षी दलबाट कांग्रेसकी प्रदेश सांसद लिला राईलाई उपसभामुखमा निर्वाचित गराउने प्रस्तावको पक्षमा ३३ र विपक्षमा ५७ मत प्राप्त भयो । राईलाई उपसभामुखमा निर्वाचित गराउने प्रस्ताव बहुमतले अस्विकृत भएको सभामुख गौतमले घमेषणा गरेका छन् ।

सभामुख गौतमले समय दिएपछि दनुबारलाई उपसभामुखमा निर्वाचित गराउन एमालेका प्रदेश सांसद तिलचन पाठकले सदनमा प्रस्ताव पेस गरेका थिए । उनको प्रस्तावमाथि माओवादी केन्द्रका प्रदेश सांसद नारायणबहादुर मगरले समर्थन गरेका थिए ।

कांग्रेसकी प्रदेश सांसद खगेश्वरी पौडेलले कांग्रेसकी राईलाई उपसभामुखमा निर्वाचित गराउने प्रस्ताव सदनमा पेस गरेकी थिइन् । उनको प्रस्तावमाथि नेकपा (एकीकृत समाजवादी) की प्रदेश सांसद विद्या चाम्लिङ् राईले समर्थन गरेकी थिइन् ।

दुवै प्रस्तावमाथिको छलफलमा एमालेका पाँचकर्ण राई, राप्रपाकी सबिना बजगाई, कांग्रेसका अमृत अर्याल र नेकपा (एकीकृत समाजवादी)कि खिनुलङ्वा लिम्बूले भाग लिएका थिए ।

दलीय भागबण्डामा सत्तारूढ दलमध्ये प्रदेश १ को उपसभामुख एमालेको भागमा परेको छ । सत्तारूढ दलमध्ये एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जनता समाजवादी पार्टीका १ गरी ६० जना प्रदेश सांसद छन् । सभामुखमा यसअघि नै माओवादी केन्द्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित बाबुराम गौतम सभामुखमा निर्वाचित भइसकेका हुन् ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसका २९ र प्रतिपक्षी दल नेकपा (एकीकृत समाजवादी)का ४ जना प्रदेश सांसद छन् । कांग्रेसकी उम्मेदवार राईलाई एकीकृत समाजवादीको समर्थन छ ।

प्रकाशित : पुस ३०, २०७९ १३:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?