१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

सिधुवा बजारको आगो दुई घण्टापछि निभाइयो, ६ घर क्षति [अपडेट]

धनकुटा — धनकुटाको छथर जोरपाटी गाउँपालिकास्थित सिधुवा बजारमा शुक्रबार साँझ भीषण आगलागी भएको छ । बजारको काउली चोकको सन्तोष राईको घरबाट बेलुकी ७ बजेतिर सुरु भएको आगलागीले बजारका ६ वटा घरमा क्षति पुगेको छ । घटनामा दुई घर पूर्ण क्षति र चारमा आंशिक रुपमा क्षति भएको प्रहरीले जनाएको छ । 

सिधुवा बजारको आगो दुई घण्टापछि निभाइयो, ६ घर क्षति [अपडेट]

आगो दुई घण्टापछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले निभाएको स्थानीय रोशन केसीले जानकारी दिए । यस्तै, धनकुटा नगरपालिका र तेह्रथुमको लालीगुराँस नगरपालिकाको दमकलसमेत परिचालन गरिएको थियो । छथर जोरपाटीको एक्स्काभेटरसमेत प्रयोग गरिएको थियो ।

आगलागीबाट सन्तोष राई र झमक थापाको घर पूर्णरुपमा क्षति पुगेको छ । यसैगरी, होमबहादुर थापा, डिकबहादुर खड्का, अर्जुन घिमिरे र डम्बरबहादुर थापाको घर आंशिक क्षति पुगेको स्थानीयवासी सुन्दर डंगोलले बताए ।

समयमै दमकल र जनशक्ति जुटेकोले आगो नियन्त्रणमा आएको स्थानीय नवनित खड्काले बताए । आगो निभाउनका लागि धनकुटाबाट थप प्रहरी घटनास्थलमा परिचालन गरिएको जिल्ला प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारीले जानकारी दिए । घटनाबाट मानवीय क्षति भने नभएको एसपी अधिकारीले बताए ।

क्षतिको विस्तृत विवरण प्राप्त हुन बाँकी रहेको गाउँपालिकाका अध्यक्ष छत्रबहादुर लिम्बुले बताए ।

प्रकाशित : पुस २९, २०७९ २१:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?