१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

देवनारायण साह

मोरङ — प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार प्रदेशसभामा विश्वासको मत प्राप्त गरेका छन् । ९३ सदस्यीय प्रदेशसभामा ५९ प्रदेश सांसदले विश्वासकाे मतका लागि मुख्यमन्त्री कार्कीले सदनमा राखेकाे प्रस्तावकाे पक्षमा मत दिएका हुन् ।

मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

कांग्रेस र नेकपा(एकीकृत समाजवादी) का ३२ प्रदेश सांसदहरूले भने मुख्यमन्त्रीले सदनमा राखेकाे प्रस्तावकाे विपक्षमा मत दिएका छन् । कांग्रेसका सांसद प्रदीपकुमा सुनुवार भने अनुपस्थित रहेका थिए ।

संविधानको धारा १६८ को उपधारा (४) मा उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका प्रदेशसभा सदस्यले मुख्यमन्त्रीमा नियुक्त भएको मितिले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था अनुकुल उनले विश्वासकाे मत लिएका हुन् ।

सभामुख बाबुराम गाैतमले मुख्यमन्त्री कार्कीलाई विश्वासकाे मतका लागि सदनमा मन्तव्यसहित प्रस्ताव राख्न समय दिएका थिए । मुख्यमन्त्री कार्कीले प्रदेश संरचनाप्रति अहिले भइरहेकाे नाकारात्मक टिप्पणी हटाएर स्थापित गराउनका लागि विश्वासकाे मत दिन प्रदेश सांसदहरूलाई आग्रह गरेका थिए । उनले पाँच वर्षे कार्यकालमा कहिले पनि प्रश्न नउठने गरी र आम प्रदेशवासीलाई सन्तुष्ट पारेर कामकाज सञ्चालन गर्ने सदनमा प्रतिबद्धता जनाएका थिए ।

उनले विश्वासकाे मतका लागि प्रस्ताव राखेपछि उक्त प्रस्तावमाथि छलफलमा भाग लिन दलका नेताहरूलाई सभामुख गाैतमले समय दिएका थिए ।

सत्तारूढ दल माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बाेले सरकारकाे गुण र दाेषका आधारमा विराेध गर्न प्रतिपक्षमा नै बस्नु पर्ने आवश्यकता नरहेकाे बताए । उनले सरकारले जनभावना विपरीत नराम्राे काम गरेकाे अवस्थामा माओवादी केन्द्र सधैँ विराेधमा रहने बताए ।

'केन्द्रीय नेतृत्वमा अझै केन्द्रीकृत मानसिकता कायमै रहेकाले सबैले एकजुट भएर प्रदेश संरचना सबल र बलियाे बनाउनु पर्ने अवस्था छ,' उनले भने, 'केन्द्रीय सरकार कानुन निर्माण र प्रदेश सरकारले विकास निर्माण, उत्पादन र उत्पादकत्व बढाउनुका साथै राेजगारी सिर्जनामा केन्द्रित हुनुपर्ने अवस्था छ ।' त्यसैले प्रदेशलाई सक्षम र सबल बाउनुका साथै स्थायित्व प्रदान गर्न सबैलाई मुख्यमन्त्री कार्कीलाई विश्वासकाे मत दिन आङ्बाेले आग्रह गरेका थिए ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता उद्धब थापाले कांग्रेस प्रतिपक्षी दलकाे भूमिका निर्वाह गर्ने भएकाले विश्वासकाे मत दिन नसक्ने प्रष्ट पारेका थिए । उनले सहमति, सहकार्य र समन्वयमा प्रदेशकाे कामकाज अघि बढाउने विषयमा गुण र दाेषकाे आधारमा समर्थन र विराेध गर्ने बताए ।

प्रतपक्षी दल नेकपा (एकीकृत समाजवादी) का नेता पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राईले मुख्यमन्त्री कार्की नेतृत्वकाे सरकारले न्यूनतम साझा कार्यक्रम समेत नल्याएकाे अवस्थामा हताराेमा विश्वासकाे मत लिन लागेकाे अवस्थामा के का आधारमा विश्वासकाे मत दिने भन्दै प्रश्न गरेका थिए । उनले पृथ्वीनारायण शाहकाे जन्मजयन्तीकाे मनाउने जस्ता विवादित निर्णय गर्ने पक्षका सरकारलाई विश्वासकाे मत दिन नसक्ने प्रस्ट पारेका थिए ।

छलफलमा उठेका प्रश्नकाे मुख्यमन्त्री कार्कीले जवाफ दिएका थिए । उनले प्रदेश संरचाकाे अैाचित्य प्रमाणित, सबलीकरण गर्ने, राेजगारी सिर्जना गर्ने लगायत काम गर्न प्रदेश सरकार प्रतिबद्ध रहेकाे बताए । कांग्रेसका नेता थापाले समन्वय र सहकार्यमा अघि बढ्ने प्रतिबद्धता जनाइसकेकाे अवस्थामा राष्ट्रिय राजनीतिका कारण विश्वासकाे मत किन नदिने भन्दै उनले विश्वासकाे मत दिन आग्रह गरे ।

उनले पूर्वमुख्यमन्त्री राईले उठाएकाे प्रश्न समय सापेक्ष भएकाे र धेरै वपषयमा बहस गर्न सकिएला तर अब त्यसकाे अैाचित्य नरहेकाे र केही समयभित्रै पार्टी एकता समेत हुने भएकाले विश्वासकाे मत दिन आग्रह गरेका थिए । उनले प्रदेशलाई विभाजित नगरी एकताबद्ध भएर अगाडि बढ्न उनले सबैलाई आग्रह गरेका थिए ।

झापा ५(१) बाट दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित मुख्यमन्त्री कार्की एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जनता समाजवादी पार्टीका १ गरी ६० प्रदेश सांसदको समर्थनमा आइतबार संविधानकाे धारा १६८ काे उपधारा (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त भएर सोमबार पद तथा गोपनीयताको शपथ लिएका थिए ।

प्रकाशित : पुस २९, २०७९ १५:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?