कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेश १ उपसभामुखमा कांग्रेसले उम्मेदवार उठाउने

देवनारायण साह

मोरङ — प्रदेश १ उपसभामुखमा कांग्रेसले उम्मेदवार उठाउने निर्णय गरेको छ । कांग्रेस संसदीय दलको शुक्रबार बसेको बैठकले उपसभामुखमा उम्मेद्वार उठाउने निर्णय गरेको हो ।

प्रदेश १ उपसभामुखमा कांग्रेसले उम्मेदवार उठाउने

उदयपुरकी ६२ वर्षीया लिलाकुमारी राई र इलामकी ४९ वर्षीया खगेश्वरी पौडेलमध्ये एक जनालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । दुवै जनामध्ये सहमति गरेर एक जनालाई उम्मेदवारीका लागि तयारी गर्न दलको बैठकले निर्णय गरेको हो । दुवै जनाबीच सहमति हुन नसकेको अवस्थामा दलका नेता उद्धव थापाले निर्णय गर्ने सहमति भएको एक प्रदेश सांसदले बताए । तर दुवै जनामध्ये आदिवासी जनजाति प्रदेश सांसदको मत तान्न लिलाकुमारी राईलाई नै उम्मेद्वार बनाउने निश्चित भएको दलको बैठकमा सहभागी एक प्रदेश सांसदले बताए ।

प्रदेशसभाको बिहीबार बसेको बैठकमा नवनिर्वाचित सभामुख बाबुराम गौतमले प्रदेश उपसभामुखको निर्वाचन शनिबार बिहान ११ बजेका लागि तोकेका छन् ।

प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले बिहीबार सर्वदलीय बैठकबाट उपसभामुख निर्वाचनको कार्यक्रमसम्बन्धी सूचना सार्वजनिक गरेका छन् । उपसभामुखको उम्मेदवारको प्रस्ताव शुक्रबार दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म प्रदेशसभा सचिवालयमा दर्ता गराउन समय दिएको छ । उम्मेदवारको प्रस्ताव उपर दाबी विरोध त्यही दिन साँझ ५ बजेदेखि ५:४५ बजेसम्म, उम्मेदवारी फिर्ता लिन साँझ ६ बजेदेखि ७ बजेसम्म र उपसभामुख उम्मेदवारको अन्तिम नामावली साँझ ७ बजे प्रकाशित गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।

दलीय भागबण्डामा सत्तारूढ दलमध्ये प्रदेश १ को उपसभामुख एमालेको भागमा परेको छ । एमालेले प्रदेश उपसभामुखमा उदयपुरकी ४६ वर्षीया सृजना दनुवारलाई उम्मेद्वार उठाउने निर्णय गरेको छ ।

प्रकाशित : पुस २९, २०७९ १३:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?