एमालेबाट प्रदेश १ उपसभामुखको उम्मेदवार सिर्जना दनुवार

देवनारायण साह

मोरङ — प्रदेश १ उपसभामुखमा एमालेले उदयपुरकी सिर्जना दनुवारलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । प्रदेशसभाको बिहीबार बसेको बैठकमा नवनिर्वाचित सभामुख बाबुराम गौतमले प्रदेश उपसभामुखको निर्वाचन शनिबार बिहान ११ बजेका लागि तोकेका छन् । 

एमालेबाट प्रदेश १ उपसभामुखको उम्मेदवार सिर्जना दनुवार

प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले बिहीबार सर्वदलीय बैठकबाट उपसभामुख निर्वाचनको कार्यक्रमसम्बन्धी सूचना सार्वजनिक गरेका छन् । उपसभामुखको उम्मेदवारको प्रस्ताव शुक्रबार दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म प्रदेशसभा सचिवालयमा दर्ता गराउन समय दिएको छ । उम्मेदवारको प्रस्ताव उपर दाबी विरोध त्यही दिन साँझ ५ बजेदेखि ५:४५ बजेसम्म, उम्मेदवारी फिर्ता लिन साँझ ६ बजेदेखि ७ बजेसम्म र उपसभामुख उम्मेदवारको अन्तिम नामावली साँझ ७ बजे प्रकाशित गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।

दलीय भागबन्डामा सत्तारूढ दलमध्ये प्रदेश १ को उपसभामुख एमालेको भागमा परेको छ । एमालेले प्रदेश सभामुख माओवादी केन्द्रका गौतम भएकाले उपसभामुखमा अडान लिनसक्ने बलियो उम्मेदवारको रुपमा दनुबारलाई अघि सारेको छ । प्रदेशको नामकरण प्रक्रिया टुंग्याउन बाँकी रहेकाले सबल र सक्षम उपसभामुखको उम्मेदवार आवश्यक भएको एमालेका एक प्रदेश सांसदले बताए

‘भूगोल र समुदायका आधारमा सुरुमा उपसभामुखमा भोजपुरकी सिर्जना राईको नाम उपयुक्त भएको तर प्रदेश नामकरणका लागि एमाले संसदीय दलले उदयपुरकी सिर्जना दनुवारको नाम अघि सारेको छ,’ ती प्रदेश सांसदले भने, ‘प्रदेशको नाम एमालेले कोसी राख्ने प्रस्ताव प्रदेशसभामा चाँडै लग्ने तयारी गरिरहेकाले राईले पहिचानको मुद्दामा अल्मलिने वा कोशीको पक्षमा अडान लिँदा बदनाम हुन सक्ने भएकाले उहाँको विकल्पमा सिर्जना दनुवारलाई उम्मेदवार बनाउने निणर्य लिएको छ ।’

सभामुखमा उम्मेदवारी नदिएको कांग्रेसले उपसभामुखमा भने उम्मेदवारी दिने तयारी गरेको छ । प्रमुख प्रतिपक्षी कांग्रेसका नेता उद्धव थापाले उपसभामुखको उम्मेदवार कसलाई बनाउने विषयमा छलफल भइरहेको बताए ।

संविधानको धारा १८२ को उपधारा (१) मा प्रदेशसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रदेशसभाका सदस्यहरुले प्रदेश उपसभामुखको निर्वाचन गर्ने व्यवस्था छ । संविधानको धारा १८२ को उपधारा (२) मा उपधारा (१) बमोजिम निर्वाचन गर्दा प्रदेश सभामुख वा प्रदेश उपसभामुखमध्ये एक जना महिला हुने गरी गर्नुपर्नेछ र प्रदेशसभामुख वा प्रदेश उपसभामुख फरक फरक दलको प्रतिनिधि हुनुपर्नेछ । तर प्रदेशसभामा एकभन्दा बढी दलको प्रतिनिधित्व नभएको वा प्रतिनिधित्व भएर पनि उम्मेदवारी नदिएको अवस्थामा एकै दलको सदस्य प्रदेश सभामुख वा प्रदेश उपसभामुख हुन बाधा नपर्ने व्यवस्था छ ।

प्रदेशसभा नियमावली २०७४ अनुसार सभामुख र उपसभामुखको निर्वाचन छुट्टाछुट्टै हुनेछ । पहिले सभामुखको निर्वाचन भएपछि मात्रै उपसभामुखको निर्वाचन हुने व्यवस्था छ । प्रदेशसभा नियमावलीको नियम ९ को उपनियम (१) मा उपसभामुखको निर्वाचन सभामुखले तोकेको दिन र समयमा हुने र त्यसको सूचना प्रदेशसभा सचिवले प्रकाशन गर्ने व्यवस्था छ ।

प्रकाशित : पुस २९, २०७९ १२:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?