कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सामुदायिक वनका रूख काटिए

उदयपुर — चोरी तस्करीमा संलग्न समूहले पछिल्लो समय कटारी नगरपालिका–४ स्थित मरुवाहरित सामुदायिक वन क्षेत्रभित्रै चिर्ने घरान बनाएर सयौंको संख्यामा हरिया रूख काटेको खुलासा भएको छ ।

सामुदायिक वनका रूख काटिए

कटारी बजार नजिकै ती रूख काटिँदासमेत वन कर्मचारी अनभिज्ञ छन् । त्यस क्षेत्रका सामुदायिक वनहरूमा अवैध रूपमा पटक–पटक हरियो रूख काटिँदै आएको छ । तर उपभोक्ता समूहलाई जिम्मेवार ठहराउँदै वन कर्मचारी पन्छिन्छन् । ‘वन क्षेत्रमा जथाभावी रूख काटिएको छ,’ समूहका उपभोक्ता रमेश कटुवालले भने, ‘वनभित्र जताततै रूख काटिएको अवस्थामा भेटिन्छ, काम लाग्ने काठ लगेर हाँगाबिँगा फालेको अवस्थामा छ ।’ वन क्षेत्रभित्रै पहाडे आराले रूख काट्नका लागि बनाइएको घरानसमेत रहेको उनले बताए ।

वन क्षेत्रमा अहिले २०/२५ वटा रूख काटिएको आलो ठुटा भेटिन्छ । अन्य पुरानो ठुटा हेर्दा सयभन्दा बढी रूख काटिएको अनुमान लगाउन सकिने उपभोक्ता कटुवालले बताए । लामो समयदेखि उपभोक्ता समूह निष्क्रिय हुँदा चोरी तस्करी हुने गरेको स्थानीयले बताए । यस्तो गिरोहले कटारी बजार क्षेत्रमै काठ बिक्री गर्छ । तर डिभिजन वन कार्यालयले वास्ता नगर्दा अवैध कटान बढ्नु भनेको वन कर्मचारीकै संलग्नता रहेको उपभोक्ताको आरोप छ ।

हल्ला गरिएजस्तो ठूलो संख्यामा रूख नकाटिएको उपभोक्ता समूहका सचिव रुद्र परियारले बताए । ‘पछिल्लो पटक एक/दुई रूख कटिएको हो,’ उनले भने, ‘चाडपर्व र उपभोक्ता अन्य काममा व्यस्त भएको बेला चोरी तस्करी हुन्छ तर सयौंको संख्यामा रूख अहिले चाहिँ काटिएको छैन ।’ अहिलेको उपभोक्ता समूहको समिति गठन हुनुभन्दा पहिले काटिएका रूखलाई देखाएर हल्ला गरिएको परियारको दाबी छ ।

तर उपभोक्ता समूहका अध्यक्ष दिनेश कार्कीले चोरी तस्करी गिरोहले हरियो रूख कटान गरेको बताए । ‘बीचको केही समय नयाँ समिति चयन नभएको अवस्थामा वन क्षेत्रमा व्यापक रूपमा चोरी तस्करी भएको थियो,’ उनले भने । उनका अनुसार वन क्षेत्रभित्र रूख चिरान गर्ने घरान बनाइएको पाइयो । तर कति रूख काटियो लगत नलिइएको अध्यक्ष कार्कीले बताए । ‘समिति अहिले वन संरक्षणका लागि सक्रिय भएर लागेको छ,’ उनले भने, ‘वन गस्तीले सक्रिय रूपमा काम गरिरहेको छ, परिचयपत्र नभएका उपभोक्तालाई वन प्रवेश गर्न दिइएको छैन ।’

हरियो रूख काटिएको कार्यालयलाई जानकारी नभएको डिभिजन वन कार्यालय त्रिवेणी कटारीका सूचना अधिकारी सहायक वन अधिकृत भोगेन्द्र मण्डलले बताए । उनले भने, ‘यसबारे सबडिभिजनका कर्मचारीलाई जानकारी गराउँछु, त्यसपछि मात्रै यथार्थ विवरण आउँछ ।’

प्रकाशित : पुस २७, २०७९ २१:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?