२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

बिर्तामोड-भद्रपुर सडक निर्माणमा ढिलाइ गर्ने ठेकेदार कम्पनीलाई कारबाही

अर्जुन राजवंशी

बिर्तामोड — सम्झौताअनुसार निर्माणको काम नगरेको भन्दै बिर्तामोड–भद्रपुर सडक निर्माणको ठेकेदार कम्पनीलाई सडक डिभिजन दमकले कारबाही गरेको छ । सम्झौताअनुसार ७ महिना मात्र बाँकी रहँदा ठेकेदार कम्पनीले ३० प्रतिशत पनि सडक निर्माण नगरेको भन्दै सडक डिभिजनले ठेकेदार कम्पनीलाई काम नगर्नुको लिखित स्पष्टीकरण माग गरेर पहिलो चरणको कारबाही गरेको हो ।

बिर्तामोड-भद्रपुर सडक निर्माणमा ढिलाइ गर्ने ठेकेदार कम्पनीलाई कारबाही

बिर्तामोड–भद्रपुर सडकअन्तर्गत गरामनी–भद्रपुर खण्डको ८ दशमलब ४१ किलोमिटर सडक निर्माणको ठेक्का काठमाडौंको एम/एस कन्टेक प्रालिले लिएको छ । २०७७ माघ ६ गते ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले आगामी साउन ५ अर्थाथ ३० महिनामा काम सम्पन्न गर्नुपर्ने उल्लेख छ । ठेक्का लिएको २३ महिना बितिसके पनि ठेकेदार कम्पनीले सडक निर्माणको काम करिब २५ प्रतिशत मात्रै सम्पन्न गरेको छ ।

सडक निर्माणमा ढिलाइ गरेको भन्दै सडक डिभिजन दमकले १५ दिने सूचना जारी गरी ठेकेदार कम्पनीसँग निर्माणको काममा ढिलाइ हुनुको लिखित जवाफ माग गरेको हो । ‘३० महिनामा सक्नुपर्ने काम २३ महिना बितिसक्यो । अहिलेसम्म कामको प्रगति २५ प्रतिशतमात्रै छ । काम किन नगरेको भनेर हामीले पटकपटक सोधीखोजी गरेका छौं । सम्झौताअनुसार काम सक्नुपर्ने भन्दै काम गर्न पटकपटक आग्रहसमेत गर्‍यौं । तर, बेवास्ता गरेपछि हामीले पहिलो चरणको कारबाही स्वरुप लिखित स्पष्टीकरण मागेका छौं । स्पष्टीकरण चित्तबुझ्दो भएन भने कानुनअनुसार थप कारबाही गर्नसमेत हामी तयारी अवस्थामा छौं‚’ सडक डिभिजन दमकका प्रमुख सुरेश पौडेलले भने ।

बिर्तामोड–भद्रपुर सडक जिल्लाका प्रशासनिक कार्यालयहरू रहेको चन्द्रगढी जाने मुख्य सडक हो । दैनिक सयौंको संख्यामा सवारीसाधन सञ्चालन हुने उक्त सडक भत्किएर खाल्डैखाल्डामा परिणत भएको छ । उक्त सडक भ्याटसहित ५८ करोड २ लाख २८ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको सडक डिभिजन दमकका लेखा अधिकृत राजेन्द्र भट्टराईले जानकारी दिए ।

निर्माण कम्पनीको तर्फबाट खटिएका साइट इन्जिनियर हरिश थापाले भने प्राविधिक कठिनाइका कारण काममा ढिलाइ भएको बताए । उनले सडकमा आवश्यक पर्ने माटो नपाएकाले काम ढिला हुन पुगेको बताए । ‘ठेक्का सम्झौतालगत्तै कोरोनाले डिस्टर्ब गर्‍यो । त्यसपछि ड्रेनको काम गर्‍यौं । अब माटो हाल्नुपर्ने हुन्छ । माटो खोजेर हैरान भइसक्यौं कहीँ पाइएन । त्यसले गर्दा काम गर्न अलि ढिला भएको हो‚’ इन्जिनियर थापाले भने ।

उनले माटोका लागि भद्रपुरमा जग्गा खरिद गरिसकेकाले अब निर्माणको कामले तीव्रता पाउने विश्वास दिलाए । ‘आगामी साउनसम्म सबै काम त सकिँदैन । तर, कम्तीमा साढे ५ किलोमिटर सडक कालोपत्र गर्नेगरी काम अघि बढाउने तयारीमा छौं’ उनले भने । उनले सडक डिभिजन कार्यालयले सूचना जारी गरेर स्पष्टीकरण सोध्ने काममा हतार गरेको टिप्पणी गरे ।

‘करिब २ किलोमिटर क्षेत्रमा घर भत्काउनुपर्ने समस्या छ । स्थानीयवासीले अदालतबाट स्टे अर्डर लिएर बसेका छन् । मुलुकमा आर्थिक मन्दी पनि छ । सबै कुरा जान्दाजान्दै पनि सडक डिभिजनले किन हतार गरेर स्पष्टीकरण सोधेको होला, हामी पनि छक्क परेका छौं‚’ थापाले भने । उक्त सडक खण्डको ४ किलोमिटर सडक डिभिजन दमकले दुई वर्षअघि निर्माण गरेको थियो । बाँकी खण्डको सडकको अवस्थासमेत जीर्ण भएकाले कार्यालयले स्रोत व्यवस्थापन गरेर निर्माणको काम अघि बढाएको डिभिजन प्रमुख पौडेलले बताए ।

प्रकाशित : पुस २१, २०७९ १७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?