कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

नागरिकताका लागि १५ वर्ष लडाइँ

कुम्भराज राई

ओखलढुंगा — अन्ततः मानेभन्ज्याङ गाउँपालिका–९ माधवपुरकी गोमा भनिने सित्तली राईले मंगलबार नागरिकता पाएकी छन् । १५ वर्षदेखि नागरिकताका लागि लडाइँ लड्दै आएकी सित्तलीको पक्षमा जिल्ला अदालतले असोज ३० फैसला गरेको थियो ।

नागरिकताका लागि १५ वर्ष लडाइँ

बिहे गरेको १५ वर्षसम्म घरपरिवारबाट नागरिकता नपाएकी सित्तलीले स्थानीय तह, प्रहरी प्रशासन हुँदै अदालतको ढोका ढकढक्याउनुपरेको थियो । भारतीय सेनामा कार्यरत उनका पति सुवास राई र सासूससुराले उनलाई श्रीमती तथा बुहारी नस्विकारेपछि दुई वर्षअघि अंश मुद्दा दर्ता गरेकी थिइन् ।

बिहे दर्ता, नागरिकता नभएकै कारण उनकी १४ वर्षीया छोरी प्रनिशाको पढाइमा समस्या भएको थियो । जन्मदर्ता नहुँदा छोरीले एसईई दिनका लागि रजिस्ट्रेसन फर्म भर्नै नपाएपछि सबै निकायमा गुहारेकी थिइन् । उक्त विषयमा कान्तिपुरमा असोज २९ मा समाचार प्रकाशित भएको थियो । समाचार प्रकाशित भएको भोलिपल्टै जिल्ला अदालतले फैसला सुनाएको हो ।

अदालतले बुबा सुवास राई र छोरी प्रनिशाबीचको डीएनए परीक्षण गर्दा सुवासकै छोरी भएको पुष्टि भए पनि वडा कार्यालयले जन्मदर्ता प्रमाणपत्र दिएको थिएन । गाउँपालिका प्रमुखसहितका जनप्रतिनिधिले असहयोग गरेपछि छोरीको जन्मदर्ता रोकिएको थियो । सित्तलीले नागरिकता प्राप्त गरेपछि छोरीको जन्मदर्ताको बाटो खुलेको छ ।

अदालतले सित्तलीले अंश मुद्दा दर्ता गरेको मितिदेखि फैसला भएको मितिसम्म मासिक १० हजारको दरले क्षतिपूर्ति भराउने फैसलामा उल्लेख गरेको छ । प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले नागरिकता प्रदान गर्दै सित्तलीलाई न्यायका लागि उदार भएको बताए । ‘फैसलाका आधारमा मैले सासूससुरा वा श्रीमान्लाई बोलाएर सनाखत गरी नागरिकता दिलाउने कोसिस गरेको थिएँ,’ प्रजिअ तामाङले भने, ‘तर उनीहरू सम्पर्कमा आउन नचाहेपछि माइतीतर्फका बुबालाई सनाखत गराई पतिको नामथर कायम गरी नागरिकता दिएको हुँ ।’ उनका पति सुवास राईले भारतीय सेनामै अर्को विवाह गरेका छन् ।

सित्तलीले श्रीमान्को कमाइबाट पाउने थप अधिकारका लागि भने उनी कार्यरत पल्टनमै पुग्नुपर्ने भएको छ । नागरिकता पाइसकेपछि उनले थप अधिकारका लागि भारत जाने बताइन् । ‘मैले १५ वर्षदेखि आँसु बगाएकी थिएँ,’ उनले भनिन्, ‘न्याय पाउँछु भन्ने आसै मारिसकेकी थिएँ । तर आज न्याय पाएँ खुसी छु ।’

प्रकाशित : पुस २०, २०७९ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?