नदीमा बने हिउँदे पुल- कोशी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नदीमा बने हिउँदे पुल

आनन्द गौतम

ताप्लेजुङ — फक्ताङलुङ गाउँपालिका–१ खेजेनिमका जगन पौडेल बर्सेनि हिउँदमा पुल निर्माणमा सहभागी हुन्छन् । उमेरले चार दशक पुग्नै लागेका उनको पाँच वर्षअघि र त्यसपछिका वर्षको पुल बनाउने शैली भने फरक छ ।

पहिला गाउँले भाषामा ‘फड्के’ भनिने मान्छे मात्रै तर्ने पुल बनाउन सहभागी हुनुपर्थ्यो । त्यो पुरै जनश्रमदानमा आधारित थियो । अहिले गाउँपालिकाको सहयोगमा गाडी गुड्ने पुल बनाउनुपर्छ ।

टिप्ताला भञ्ज्याङ उद्गम स्थल भएर बहने तमोर नदी फक्ताङलुङ गाउॅपालिका पछि फुङलिङ नगरपालिकामा प्रवेश गर्छ । फुङलिङ भएर बहने क्षेत्रमा स्थायी सरचनाका पुलहरू छन । स्थायी पुल नभएकाले फक्ताङलुङले भने बर्सेनि तीन ठाउॅमा अस्थायी पुल बनाउँछ ।

सदरमुकाम फुङलिङबाट लिंखिम, तापेथोक हुॅदै गाउँपालिकाको केन्द्रसम्म यातायात चल्छ । यही गाउँपालिकाका १, २, ४ र ५ नम्बर वडा तमोर नदीले छुट्याउँछ । यी वडालाई जोड्न अस्थायी पुल बनाउनुपरेको गाउँपालिका अध्यक्ष राजन लावुङ बताउँछन् ।

गाउँपालिकाको वडा–१ को सावादिन, २ को खेजेनिम र ३ को लिंखिमलाई जोड्ने सिंवामा एउटा पुल बनाउने गरिएको छ । फक्लालुङ–४ को इखावुलाई ३ को लिंखिम र ५ को तापेथोक जोड्न छिरुवाको पुलचोकमा अर्को र तापेथोक–इखावु तथा लेलेप जोड्न तापेथोकमा अर्को पुल बनाउने गरिएको छ । लेलेप हुॅदै वडा ७ को ओलाङचुङगोलातर्फ जाने मुख्य राजमार्गमा भनें जलविद्युत कम्पनीले गतवर्ष पक्की पुल बनाए पछि यहाँ बनाउनुपरेको छैन । अघिल्लो वर्षसम्म रानीपुल भन्ने स्थानमा पनि अस्थायी पुल बनाउने गरिएको थियो ।

यी पुल निर्माणपछि ओलाङचुङगोला बाहेकका सबै वडामा गाडी पुगेको गाउँपालिकाले जनाएको छ । ‘नदीमा पानी घटेपछि मंसिर अन्तिममा बनायौं,’ अध्यक्ष लावुङले भने, ‘ठूलो पानी परेर बाढी नआएसम्म चल्छ ।’

सामान्यतया जेठ अन्तिमसम्म चल्ने गरेको जगन बताउँछन् । यो अवधिमा गाउँकाले फलाएका अलैंची, जडिबुटी, तरकारी, फलफूललगायत वस्तु बाहिर पठाउन र खाद्यान्न लगायतको ल्याउने गर्छन् । गाउँमै गाडी पुग्दा ढुवानी र आवतजावतमा सहजता हुन्छ । ‘चार वर्षअघि प्राक्टिसका लागि सिंवामा समुदायले नै बनायौं,’ खेजेनिमका लक्ष्मी अङछङ्वोले भने, ‘लागत ठूलो हुने र सबै गाउॅका स्थानीयका लागि धान्न कठिन भए पछि गाउँपालिकाले आवश्यक ठाउँमा बनाइदिन थालेको छ ।’

यो वर्षदेखि गाउँपालिकाले आफ्नै एस्काइभेटर प्रयोग गरेर काम गरेको अध्यक्ष लावुङ बताउँछन् । ‘काठ, काँटीलगायतका सामान किन्यौं र श्रमिकलाई पारिश्रमिक दियौं,’ लावुङले भने, ‘ठ्याक्कै हिसाब आइसकेको छैन, सम्भवतः एउटाको दुई अढाई लाख रुपैयाँ आउन सक्छ ।’

गत वर्ष चीन सरकारले गाउँपालिकालाई निःशुल्क एस्काइभेटर दिएको छ । पालिकाले तेल हालेर चलाइरहेको उनले बताए । सरोज एभेङ नेतृत्वको पालिकाले पहिलो वर्ष लगानी गरेर पुल बनाउँदा कतिपयले आलोचना गरेका थिए । तर नागरिकहरूले पुलको बजेट अनिवार्य हुनुपर्ने माग गरेपछि वार्षिक बजेटमा राख्ने गरेको थियो । चार पुल बनाउन १५ लाख रुपैयाँ छुट्याउने गरेको तथ्यांक गाउँपालिकासँग छ ।

प्रकाशित : पुस १३, २०७९ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्

अलैंचीले मजदुर खर्च उठाउनै धौ

आनन्द गौतम

ताप्लेजुङ — दुई दशकदेखि अलैंची खेती गरिरहेका फुङलिङ नगरपालिका–६ का भीमबहादुर गुरुङलाई असोज–कात्तिकमा मजदुर खोज्नै संकट हुन्छ । अलैंची बगानमा सरसफाइ गरेर फसल टिप्ने यो सिजनमा उनलाई कम्तीमा २ सयदेखि २ सय ५० जनशक्ति आवश्यक पर्छ । यति बेला बगान पन्छाउने, अलैंचीको थुँगा टिप्ने, छोडाउने र भट्टी लगाएर सुकाउनुपर्छ । तर मजदुर जनशक्ति बन्दोबस्तीका लागि उनले गाउँ–गाउँ चहार्नुपर्छ । सदरमुकाममा डेरा बसेर पढ्नेलाई अनुकूल हुने गरी बिहान, दिउँसो वा बेलुका छोडाउनका लागि प्रयोग गर्छन् । यति गरेर पनि बाली भित्र्याउन उनलाई हम्मे पर्छ ।

सदरमुकाम फुङलिङमा अक्सफोर्ड आवासीय माध्यमिक विद्यालयका सञ्चालक गणेश सिग्देलको समस्या पनि उस्तै हो । विद्यालयबाट झन्डै एक महिना बिदा लिएर उनी बर्सेनि गाउँको बगानमा पुग्छन् । फक्ताङलुङ गाउँपालिका–५ इखावुको संसाबुको बगानमा टेन्ट टाँगेर बस्छन् । कामदारको खोजीमा उनी सावादिन, खेजेनिमलगायत गाउँसम्म पुग्छन् । त्यसले मात्रै नपुगेर तेह्रथुम, पाँचथर, संखुवासभालगायत जिल्लासम्म पनि सम्पर्क गर्छन् ।

यो अलैंचीको घट्दो मूल्यले निम्त्याएको समस्या हो । नौ वर्षअघि हरेक मजदुरलाई दैनिक एक हजार रुपैयाँ ज्याला दिने अलैंची उत्पादकलाई अहिले पाँच सय रुपैयाँ बेहोर्न पनि हम्मे छ । ‘मैले ८० देखि ९५ हजार रुपैयाँ प्रतिमनले बेचेको थिएँ,’ गुरुङले भने, ‘अहिले २५ हजार रुपैयाँमा झरेको छ ।’ टिप्ने काममा महिला–पुरुष ज्याला समान छ । रातभरि बस्नुपर्ने भएकाले भट्टी लगाउनेलाई बढी दिनुपर्ने सिग्देल बताउँछन् । छोडाउनेलाई ढाकीमा छोडाएअनुसारको ज्याला दिन थालिएको उनले जनाए ।

अलैंचीको मूल्य मनको १ लाख २० हजारसम्म पुग्दा गाउँबाट विदेश जाने क्रम रोकिन थालेको थियो । साउनदेखि कात्तिक अन्तिमसम्म टिप्ने र छोडाउने काम पाउँथे । लगातार मूल्य घटेपछि अलैंचीको आम्दानीबाट परिवार चल्छ भन्ने भर नभएर बेरोजगार स्थानीय गाउँमा बस्न छोडेको अलैंची जोनका अध्यक्ष बालमणि बराल बताउँछन् । ‘उत्पादकले पनि उत्पादन भएअनुसारको पारिश्रमिक दिने हो,’ उनले भने, ‘फाइदा छैन भनेर खेती छाड्ने क्रम बढेको छ, त्यसबाट आम्दानी हुन्छ भनेर कसरी भर परेर जनशक्ति गाउँमा टिक्नु र !’ अहिले किसानले नै स्याहारमा कम चासो दिन थालेको कृषि ज्ञान केन्द्र ताप्लेजुङका प्रमुख सन्तोष थापाको भनाइ छ । ‘मूल्य घटे पनि उत्पादन बढाए लाभ हुने थियो,’ उनले भने, ‘माटो परीक्षण, कृषि परामर्शका लागि वार्षिक ८/१० जना किसान पनि आउँदैनन् ।’ कृषि ज्ञान केन्द्र, अलैंची जोन, गाउँपालिका तथा नगरपालिकाका प्राविधिकबीच समन्वय नभएका कारण पनि अलैंची खेतीमा समस्या रहेको किसानहरूले जनाए । ‘एकै जिल्लाका यी तीन निकायबीच समन्वय भएको पाइँदैन,’ गुरुङले भने । कसैले अनुदान, कसैले भट्टी, कसैले पञ्जालगायतका सामग्री वितरण गरिरहँदा आआफ्नै तरिका रहेको पाइन्छ ।

मूल्य पर्खन अलैंची भण्डारण गर्न सक्नुपर्छ । अहिलेसम्म किसानले आफ्नै घरमा र धेरैजसो भण्डारण सदरमुकामका गोदाममा व्यापारीले गर्छन् । ती भण्डारण गृह पनि गुणस्तरीय छैनन् । लामो समय राखे ढुसी लाग्ने जस्ता समस्या देखिन्छन् । ‘हामीले सदरमुकाममा ५/७ रोपनी जग्गा पाए जिल्लाभरिको अलैंची भण्डारण गर्न मिल्ने भण्डार गृह बनाउने सम्बद्ध निकायहरूसँग प्रस्ताव गरेका हौं,’ बरालले भने, ‘तर सुरक्षित स्थानको भण्डारण गृह पनि बनाउन सकिएको छैन ।’ राम्रो भण्डारण गृह भए पुच्छर काट्ने, ठूलो र सानो दाना छुट्याएर ग्रेडिङ गर्ने काम जिल्लामा हुने थियो । यसले पनि रोजगारीको अवसर प्रदान गर्ने उनको बुझाइ छ ।

प्रकाशित : पुस ४, २०७९ ०७:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×