खोटाङमा बस दुर्घटना, ६ जना घाइते

डम्बरसिं राई

खोटाङ — खोटाङको बुइपाबाट दिक्तेलतर्फ आउँदै गरेको बस माथिल्लो बुइपामा दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । प्रदेश १–०५–००१ ख ००१७ नम्बरको बस आइतबार बिहान पौने ११ बजे दुर्घटना भएको हो ।

खोटाङमा बस दुर्घटना, ६ जना घाइते

दुर्घटनामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ बुइपाका २९ वर्षीय वीरेन्द्र घिमिरे, सोही ठाउँका २८ वर्षीया दिलकुमारी श्रेष्ठ, रावाबेसी गाउँपालिका–२ खार्पाका २० वर्षीय कुशल सार्की दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका ७३ वर्षीय आइते सार्की, सोही ठाउँका २७ वर्षीया सुस्मिता ढुङ्गाना र हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीकी १६ वर्षीया रेणुका भुजेल घाइते भएका हुन् ।

तीमध्ये रेणुका भुजेल, वीरेन्द्र घिमिरे र दिलकुमारी श्रेष्ठलाई थप उपचारका लागि हेलिकोप्टर मार्फत् काठमाडौं लगिएको छ ।

भुजेल गर्भवती रहेको प्रहरी नायव उपरीक्षक मन्जिल मुकारुङले बताए । उनीहरुमध्ये घिमिरेको महाराजगन्जस्थित टिचिङ हस्पिटलमा र भुजेल र श्रेष्ठको चाबहिलको हेल्पिङ ह्याण्ड अस्पतालमा उपचार भइरहेको मुकारुङले बताए ।

उनीहरुको स्वास्थ्य अवस्था जोखिम नभएको मुकारुङको भनाइ छ । अन्यको दिक्तेल अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको पनि अवस्था समान्य नै रहेको डीएसपी मुकारुङले बताए । दुर्घटनापछि चालक र सहचालक फरार रहेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । के कारणले दुर्घटना भयो भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : पुस १०, २०७९ १४:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?