र्‍याफ्टिङमा आउनै छाडे पर्यटक

चन्द्र कार्की

तेह्रथुम — पर्यटक आउने मुख्य सिजनमै चिसो अत्यधिक बढेपछि तमोर नदीमा र्‍याफ्टिङका लागि आउने पर्यटकको संख्या घटेको छ । सिजन सुरु भए पनि मौसम थप चिसिइरहेकाले र्‍याफ्टिङका लागि आउने पर्यटकको संख्या घटेको पर्यटन व्यवसायीहरुको भनाइ छ । 

र्‍याफ्टिङमा आउनै छाडे पर्यटक

असोज सुरु भएदेखि नै वसन्तपुरको रुट भएर पर्यटक र्‍याफ्टिङका लागि तमोर नदीको शिरतर्फ जाने गर्थे । तर‚ पुसको पहिलो साता बितिसक्दा पनि पर्यटक उल्लेख्य मात्रामा देखिएका छैनन् । यसको असर स्थानीय पर्यटन व्यवसायमा परेको पर्यटन विकास तथा प्रवर्द्धन समिति सदस्य प्रकास श्रेष्ठको भनाइ छ । असोज महिना सुरु भएसँगै धेरै संख्यामा आउने विदेशी पर्यटकहरू यो सिजनमा कममात्र देखापरेको लालीगुराँस होटल चौकीका सञ्चालक उदयकुमार लोले बताए । पछिल्ला केही वर्षदेखि र्‍याफ्टिङका लागि आउने पर्यटकको संख्यामा नै कमी आइररहेको लोको भनाइ छ ।

अघिल्ला वर्षहरूमा यो पदमार्ग भएर विभिन्न देशका पर्यटकहरू जलयात्राका लागि बोट (डुंगा) साथैमा लिएर तमोर नदीतर्फ उक्लिने गरेको भए पनि यो सिजनमा थोरै मात्र पर्यटक देखिएका छन् । पछिल्लो समय काठमाडौं र धरानका विभिन्न ट्राभल्स एजेन्सीले पर्यटकलाई स्थलमार्गमार्फत सार्वजनिक यातायातका साधन रिजर्भ गरेर वसन्तपुरसम्म साथैमा लिएर आउने गरेकाले यस क्षेत्रमा पर्यटकको चाप बढ्दो थियो । तर‚ यो सिजनमा र्‍याफ्टिङका लागि आएका बाह्य पर्यटकको संख्या एकदमै न्यून रहेको पर्यटक पदमार्गमा पर्ने मादी नगरपालिका १ का वडाध्यक्ष नारायण कार्कीले बताए ।

काठमाडौंबाट सिधै हवाई यात्राको माध्यमबाट ताप्लेजुङ पुग्न सजिलो भए पनि पर्यटकले रमणीय गुराँसको भूमि तीनजुरे मिल्के जलजले क्षेत्रको दृष्यावलोकन गर्दै वसन्तपुरको बाटो भएर पदयात्रा गर्न मन पराउने गरेको टुरिस्ट गाइड तुला मगरले बताए । बाह्रै महिना चिसो र ठन्डी हावापानी रहने वसन्तपुर काठमाडौंबाट छुटेका पर्यटकको पहिलो गन्तव्य हो । तीन वर्षअघि कात्तिक महिनामा जलयात्रा (र्‍याफ्टिङ) का लागि बेलायत, चेक रिपब्लिक, स्विट्जरल्यान्ड, अमेरिका, स्विडेन, फ्रान्सलगायत देशका पर्यटक वसन्तपुरको पदमार्ग भएर तमोर नदीतर्फ गएका थिए । तर‚ त्यसयता यी देशका पर्यटक कम देखिएका छन् । अहिलेसम्म कुनै सरकारी तथा गैरसरकारी संघ संस्थाले यहाँ आउने पर्यटकको रेकर्ड राख्ने गरेका छैनन् ।

हवाई यात्राको तुलनामा स्थलमार्ग भएर आउँदा कम खर्चिलो र प्राकृतिक सौन्दयको आनन्द पनि एकै साथ लिन पाइने भएकाले पर्यटकले सम्भव भएसम्म स्थलमार्गलाई नै रोज्ने गरेका छन् । वसन्तपुरलाई पहिलो गन्तव्य बनाएर आउने पर्यटकले वसन्तपुरदेखि तमोर नदीको शिर ताप्लेजुङको दोभानसम्म तीन दिन पैदलयात्रा गरी त्यसपछि तमोर नदीमा जलयात्रा गर्दै सुनकोशी नदीमा पुगेर टुंग्याउने गर्छन् । अन्य नदीको तुलनामा तमोर नदीमा र्‍याफ्टिङ गर्दा धेरै रमाइलो हुने गरेको पर्यटकहरू अनुभव सुनाउँछन् ।

केही वर्षअघिसम्म हवाई यात्राबाट सिधै ताप्लेजुङको तुम्लिङटार उत्रिने गरेका पर्यटक वसन्तपुरसम्म सडकमार्ग बनिसकेकाले यतैबाट आउन थालेका थिए । काठमाडौंमा रहेका विभिन्न टुर अपरेटर तथा ट्राभल्सहरूले आफ्नै सवारी साधनमा राखेर समेत पर्यटक लिएर आउने गरेका थिए । तर‚ यो वर्ष त्यताका पर्यटक नदेखिएको पर्यटक पदमार्गमै पर्ने गुफा बजारमा रहेको याक होटलका सञ्चालक फुजुङ भोटेले बताए ।

वसन्तपुरदेखि ताप्लेजुङ दोभानसम्मको बिचमा पर्यटकका लागि कुनै पनि सुविधा र पूर्वाधार छैनन्‚ जसले गर्दा पर्यटक आवास, सञ्चार, औषधि उपचार, सुरक्षाजस्ता आधारभूत सेवा सुविधाबाट समेत वञ्चित हुने गरेका छन् । दशकअघि दोभान क्षेत्रको भ्रमणमा आएका एक विदेशी नागरिकलाई पदयात्राकै क्रममा डाका समूहले आक्रमण गरेका थिए । त्यसलगत्तै र्‍याफ्टिङकै क्रममा अर्का विदेशी नागरिकको तमोर नदीमा डुबेर मृत्यु भयो । यस्ता घटनाले पनि पर्यटकका लागि भरपर्दो सेवा, सुविधा र सुरक्षा छैन भन्ने कुराको पुष्टि गरेको पर्यटन व्यवसायीहरूको भनाइ छ । त्यसको असर क्रमशः स्थानीय पर्यटन क्षेत्रमा पर्दै गएको यहाँका पर्यटन व्यवसायीहरूको भनाइ छ ।

तमोर नदीमा र्‍याफ्टिङका लागि राम्रो र दीगो सम्भावना भएकाले पर्यटक आकर्षणका लागि सरकारले पूर्वाधार निर्माणमा विशेष ध्यान दिएर काम गर्नुपर्ने पर्यटन व्यवसायी छिरिङ लामाको भनाइ छ । पर्यटकको सेवा सुविधाका लागि पर्यटन मन्त्रालयले वसन्तपुरमा पर्यटन सूचना केन्द्रको स्थापना गरेर लालीगुराँस नगरपालिकालाई हस्तान्तरण गरेको थियो । तर‚ नगरपालिकाले भने सो भवनमा पशु सेवा केन्द्र सञ्चालनमा ल्याएको छ ।

प्रकाशित : पुस १०, २०७९ १०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?