उदयपुरमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु‚ ५ घाइते

डिल्लीराम खतिवडा

उदयपुर — उदयपुरको कटारी नगरपालिका-१० पालसिंहमा सोमबार बिहान जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । ताप्लीको रुपाटारबाट कटारीतर्फ जाँदै गरेको प्र. २–०१–००१ च. ००५० नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब सय मिटर तलझरी दुर्घटना हुँदा एक यात्रुको मृत्यु भएको छ । अन्य ५ जना घाइते भएको प्रहरीले जनाएको छ । 

जिपमा सवार ९ यात्रुमध्ये ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राकेश पोदारले बताए । घाइतेमध्ये उदयपुर ताप्ली गाउँपालिका-१ का ६५ वर्षीय मीनबहादुर सार्कीको उपचारको क्रममा कटारी अस्पतालमा मृत्यु भएको प्रहरी नायव उपरीक्षक पोदारले बताए ।

घाइते सर्लाहीको लालबन्दीका ३० वर्षीय फडिन्दश श्रेष्ठ, उनकी ७ वर्षीया छोरी भवानी श्रेष्ठ र २ वर्षीया भूमिका श्रेष्ठ, उदयपुरको ताप्ली-५ रुपाटार की २३ वर्षीया सुमित्रा गिरी र ४५ वर्षीय झगडबहादुर विकको कटारी अस्पतालमा उचार भइरहेको छ । शरीरका विभिन्न भागमा चोट लागेका उनीहरुको अवस्था सामन्य रहेको प्रहरी नायव उपरीक्षक पोदारले बताए ।

जिप चालक उदयपुरको ताप्ली-५ खानिडाडाका ३२ वर्षीय ईश्वरनारायण श्रेष्ठ ईलाका प्रहरी कार्यालय कटारीको नियन्त्रनमा रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : पुस ४, २०७९ १३:३५
प्रतिक्रिया
पठाउनुहोस्

वन्यजन्तु चोरी सिकार गर्ने हतियारसहित मुस्ताङमा दुई जना पक्राउ

लालप्रसाद शर्मा

पोखरा — हतियारको प्रयोग गरी वन्यजन्तुको चोरी सिकारमा संलग्न रहेको आरोपमा मुस्ताङ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । चोरी शिकारमा संल्गन एक जनाको भने भीरमा लडेर मृत्यु भएको मुस्ताङ प्रहरीले जनाएको छ ।

मुस्ताङ प्रहरीका निरीक्षक एवं सूचना अधिकारी गोपीकृष्ण सुवेदीका अनुसार पक्राउ पर्नेमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका शंकरमान गौचन र यामबहादुर थापा रहेका छन् । पक्राउ परेकाहरुले मुस्ताङको थासाङ गाउँपालिका–५ ताक्लुङका चन्द्रलाल तुलाचनको भीरबाट खसेर मृत्यु भएको प्रहरी समक्ष बयान दिएका छन् ।

मंसिर २६ गते दिउँसो ४ बजेको समयमा मुस्ताङको थासाङ–४ स्थित निवेक क्षेत्रमा पर्ने डाँडाखर्कको भीरमा तीन जना वन्यजन्तकाुे सिकार गर्न गएका थिए । उनीहरुले एउटा झारलको तिवाई (पोथी) लाई गोली प्रहार गरी मारे । मारिएको तिवाई बोकी ल्याउने क्रममा भीरबाट लडेर चन्द्रलालको मृत्यु भएको थियो । प्रहरीले मृत तिवाई, शिकार खेल्न प्रयोग गरिएको एउटा २२ हर्नेट राइफल, त्यसमा प्रयोग हुने म्यागजिन र १३ राउन्ड गोली बरामद गरेको छ ।

मंसिर २९ मा पक्राउ परेका दुवै जनालाई हातहतियार तथा खरखजाना मुद्दामा मुस्ताङ जिल्ला अदालतबाट प्रहरी हिरासतमा राख्ने अनुमति लिई अनुसन्धान भइरहेको छ । साथै उनीहरुबिरुद्ध वन्यजन्तुको अवैध चोरी शिकारी अन्तर्गत अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाबाट समेत अनुसन्धान भइरहेको छ ।

वन्यजन्तको चोरी सिकारी गर्ने क्रममा मानिसको ज्यानै समेत गएको भन्दै यस्ता किसिमका कार्यमा संलग्न नहुन तथा कोही संलग्न भए सूचना दिन पनि मुस्ताङ प्रहरीले अनुरोध गरेको छ ।

प्रकाशित : पुस ४, २०७९ १३:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×