३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

प्रदेश प्रमुख खापुङलाई प्रमुख निर्वाचन आयुक्त थपलियाले बुझाए अन्तिम परिणाम

देवनारायण साह

मोरङ — प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रदेश १ प्रमुख पर्शुराम खापुङलाई प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम  शनिबार बुझाएका छन् । अन्तिम मतपरिणाम प्रदेश प्रमुखलाई बुझाइसकेपछि नयाँ सरकार गठन प्रक्रिया सुरु भएको छ । 

प्रदेश प्रमुख खापुङलाई प्रमुख निर्वाचन आयुक्त थपलियाले बुझाए अन्तिम परिणाम

प्रमुख निर्वाचन आयुक्त थपलियाले ९३ सदस्यीय प्रदेशसभामा एमालेले ४०, कांग्रेसले २९, माओवादी केन्द्रले १४, राप्रपाले ६, नेकपा (एकीकृत समाजवादी)ले ४ र जनता समाजवादी पार्टीले एक जना प्रदेश सांसद प्राप्त गरेको अन्तिम परिणाम प्रदेश प्रमुख खापुङ्लाई बुझाएका हुन् ।

आयोगबाट निर्वाचन परिणाम औपचारिक रुपमा प्राप्त भएपछि नयाँ सरकार गठन प्रक्रिया सुरु गर्न बाटो खुलेको र संवधानिक व्यवस्था अनुसार छिट्टै प्रक्रिया अघि बढाउने खापुङले बताएका छन् ।

प्रमुख आयुक्त थपलियाले मंसिर २८ गते अन्तिम मत परिणाम सार्वजनिक गरिसकेकाले यो प्रतिवेदन बुझाएसँगै सरकार गठनलगायतको प्रक्रिया सुरू गर्ने बाटो खुलेको बताएका हुन् ।

यस प्रदेशमा कुनै एउटा दललाई बहुमत प्राप्त नभएकाले संविधानको धारा १६८ को उपधारा (२) अनुसार दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।

संविधानको धारा १६८ को उपधारा (३) मा प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्ति प्रक्रिया पूरा गरिसक्नु पर्ने व्यवस्था छ । संविधानको धारा १८३ अनुसार प्रदेश प्रमुखले निर्वाचनको अन्तिम परिणाम घोषणा भएको २० दिन प्रदेशसभाको अधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था छ ।

संविधानको धारा १७९ मा प्रदेशसभाका सदस्यहरुले प्रदेशसभा वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि प्रदेश कानुनबमोजिम शपथ लिनु पर्ने व्यवस्था छ । संविधानको धारा १८२ को उपधारा (५) मा प्रदेश सभामुख र प्रदेश उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त भएको अवस्थामा प्रदेशसभा बैठकको अध्यक्षता उपस्थित सदस्य मध्ये उमेरको हिसाबले ज्येष्ठ सदस्यले गर्ने व्यवस्था छ ।

प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७५ को धारा १९ मा प्रदेशसभा सदस्यले प्रदेशसभा वा त्यसको कुनै समितिको बैठकमा भाग लिनुअघि प्रदेशसभाको अध्यक्षता गर्ने व्यक्तिसमक्ष शपथ लिनु पर्नेछ । तर संविधानको धारा १८२ को उपधारा (५) बमोजिमको सदस्यले प्रदेश प्रमुखसमक्ष शपथ लिनु पर्ने व्यवस्था छ ।

प्रदेशसभाको ५६ जना निर्वाचित र समानुपातिकमा नाम सिफारिस भएकामध्ये उमेरका आधारमा सबभन्दा ज्येष्ठ प्रदेश सांसद मोरङ क्षेत्र ५(१) बाट निर्वाचित कांग्रेसका ७९ वर्षीय गयानन्द मण्डल गनगाई रहेका छन् । उनले नै प्रदेश प्रमुखसमक्ष शपथ लिएपछि अन्य प्रदेश सांसदलाई शपथ ग्रहण गराउने र पहिलो प्रदेशसभा बैठकको अध्यक्षता गर्ने छन् ।

प्रकाशित : पुस २, २०७९ १३:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?